काठमाडौं- कान्ति बाल अस्पताल र त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरीले लिखित माफी माग्ने र उनीमाथि विभागीय कारबाही गर्ने सहमति भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा प्रहरीले लिखित माफी माग्ने र उनलाई विभागीय कारबाही गर्ने सहमति भएको हो।
बुधबार साँझ ड्युटी सकेर घर फर्कदै गर्दा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरीले टिचिङका डाक्टर शम्भू खनाल, तेजप्रकाश साह र कान्तिका डाक्टर विकास साहमाथि कुटपिट गरेका थिए। स्वास्थ्य खबरले सो समाचार प्रकाशन गरेपछि मन्त्रीकै रोहबरमा दुवै पक्षबीच सहमति भएको हो।
कोरोनासँग लड्ने कि प्रहरीसँग भन्दै चिकित्सकले कुटपिटको विरोध गरेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा पिडित चिकित्सक, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी, नेपाल चिकित्सक संघलगायतको बैठकले यस्तो सहमति गरेको हो।
प्रहरी मौखिक माफी मागेपछि चिकित्सकहरूले लिखित माफी माग्नुपर्ने अडान राखेका थिए। लकडाउनको बेला बाहिर निस्केको भन्दै प्रहरीले उनीहरुमाथि लाठी बर्साएको थियो। तर डाक्टरहरुले भने आफू डाक्टर भएको र ड्युटी सकेर आएको बताएका थिए।
प्रहरीले भने पुलिसको लाठीले डाक्टर र चिन्दैन भन्दै कुटपिट गरेको डाक्टरले बताएका छन्। प्रहरीको लाठीबाट डाक्टरकोे हात र ढाडमा चोट लागेको छ।
यो पनि :