डडेल्धुरा- सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको जानकारी प्रयोगशालाले दिएको छ। यसको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गरिसकेको छ। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिक श्रेष्ठले बताए।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप-महानगरपालिका वडा नम्बर ५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।
बैसाख १ गते कैलालीकै लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन्। सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन्।