काठमाडौं— देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको हेरफेर भएको छ।
स्वास्थ्य मन्त्रालयमा तीन महिना नपुग्दै पुनः सचिव फेरिएका हुन्। कोरोना व्यवस्थापनमा कमजोर देखिएको स्वास्थ्य मन्त्रालयमा फेरि पनि प्रशासन तर्फकै सचिव पठाएको छ।
तर, मन्त्रालय र मातहतका कर्मचारीको चाहना भने स्वास्थ्य सेवाकै सचिव भए यो महामारीमा काम गर्न सहज हुन्थ्यो भन्ने छ। नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयमा सचिवको नेतृत्व स्वास्थ्य सेवाकै कर्मचारीले गर्नुपाउनु पर्ने माग उठाउँदै आइरहेको छ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको रुपमा पठाउने निर्णय गरेको छ। स्वास्थ्यमा रहेका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।
२०७६ फागुन १८ गतेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवको जिम्मेवारीमा पठाएको थियो। कोइरालाले स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाले यता विवादित मात्र भए। कर्मचारीलाई होच्याएर बोल्नेदेखि कोरोना रोकथामको लागि उनको भूमिका निकै आलोचित भइरहेको छ।
चिकित्सकलाई कारवाही गर्ने धम्की, कोरोनाको फ्रन्टलाइन बसेर काम गरेका स्वास्थ्यकर्मीलाई कारवाहीको धम्की, ओम्नी विवादलगायतले कोइराला विवादित बनेका थिए।
कोरोना भाइरसको महामारी चलिरहेको समयमा स्वास्थ्य सेवाको सचिव नियुक्तिको माग उठिरहेको समयमा सरकारले पुनः प्रशासन तर्फका सचिव ल्याएको भन्दै कर्मचारी निराश बनेका छन्।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने,‘यो समयमा स्वास्थ्यकै व्यक्तिलाई सचिव बनाएको भए हुन्थ्यो। अब आउने सचिव पनि ३ महिना टिक्दैनन्। प्राविधिक विषय भएकाले घुलमिल भएर काम गर्न सक्दैनन्।’
२०७६ वैशाखदेखि २०७७ जेठ सम्मको अवधिमा स्वास्थ्य मन्त्रालयमा ४ जना सचिव फेरिएका छन्। भने त्यो भन्दा अघिको ६ महिनामा प्रशासन तर्फका २ सचिव फेरिएका थिए। यो आधारमा हेर्दा स्वास्थ्यमा डेढ वर्षको अवधिमा प्रशासन तर्फका ६ जना सचिव परिवर्तन भएका छन्।
डेढ वर्षमा फेरिका सचिव अधिकांश तीन महिना मात्र स्वास्थ्य मन्त्रालयमा सचिवका रुपमा कार्यरत रहे। सबैभन्दा बढी खगराज बरालले झण्डै ६ महिना काम गरेका थिए।
सरकारले २०७५ मंसिरमा केदारबहादुर अधिकारीलाई सचिवमा नियुक्त गरेको थियो। उनको सोही वर्षको माघ ९ गते सरुवा भयो। अधिकारीको सरुवा गर्दै सरकारले उनको ठाँउमा चन्द्रकुमार घिमिरेलाई स्वास्थ्यमा पठाएको थियो। तर उनको पनि २०७६ वैशाखा २ गते सरुवा भयो।
२०७६ वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियालाई सरुवा गरेर स्वास्थ्यमा ल्याउने निर्णय गरेको थियो।
तर, उनको सोही वर्ष भदौ २ गते खेलकुद मन्त्रालय सरुवा भयो। थपलियालाई सरुवा गर्दै सरकारले शिक्षा मन्त्रालयमा रहेका खगराज बराललाई स्वास्थ्य सचिवको रुपमा मन्त्रालय ल्याइएको थियो।
उनले पनि लामो समय स्वास्थ्य मन्त्रालयमा काम गर्न सकेनन्। बरालको सरुवा स्वास्थ्य मन्त्रीको रुपमा भानुभक्त ढकाल आएको तीन महिनाको अवधिमा भएको थियो।
फागनु १८ गते बराललाई सरुवा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका कोइरालालाई स्वास्थ्यमा ल्याइएको थियो। तर उनको पनि केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि सबैभन्दा बढी उथलपुथल भएको मन्त्रालयका रुपमा चिनिन्छ स्वास्थ्य। मन्त्रालयमा हालसम्म तीन जना मन्त्री आइसकेका छन् भने सातौं सचिवका रुपमा अर्याल आउने भएका छन्।
एक जना मात्र सचिवको दरबन्दी रहेको मन्त्रालयमा दुई सचिवको व्यवस्था पनि यही दुई वर्षको अविधिमा भएको हो। स्वास्थ्य सेवा तर्फकी सचिव पुष्पा चौधरीले राजिनामा दिएपछि मन्त्रालयमा प्रशासनतर्फका सचिवको मात्र ल्याउने काम भइरहेको छ। स्वास्थ्य सेवा तर्फको पद भने अझै रिक्त नै छ।
कोरोना महामारीको समयमा प्रशासनका सचिवलाई प्राविधिक कुरा बुझाउन नसक्दा कर्मचारी दिक्क बनेका छन्। मन्त्री र सचिव दुबै प्राविधिक विषय नबुझ्ने र नजिक भनिएका प्राविधिक व्यक्तिले उचित सल्लाह दिन नसकेका कारण कोरोना व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयको भूमिका आलोचित बनेको जनस्वास्थ्य विज्ञहरु बताउँछन्।
सरकारले स्वास्थ्य सचिव रहेकी डा पुष्पा चौधरीलाई २०७५ मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्यमा सचिवको विवाद सुरु भएको हो।
स्वास्थ्य सेवाकी सचिव डा पुष्पा दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै न्यायको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगिन्। अदालतले आदेशपछि उनी पुनः स्वास्थ्य मन्त्रालय आइन्।
सरकारले सोही मौकामा स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाका सचिव केदारबहादुर अधिकारीलाई पठायो। अदालतले डा पुष्पालाई स्वास्थ्यबाट सरुवा नगर्न सरकारलाई आदेश दिएपछि पुष्पा पनि मन्त्रालयमा पुगिन्।
जसका कारण डा पुष्पा र अधिकारीबीच सचिवको कुर्सीमा बस्न म्युजिकल चेयरको खेल नै चलेको थियो।
त्यसपछि सरकारले मन्त्रालयमा स्वास्थ्य र प्रशासन गरी दुई जना सचिवको दरबन्दीको व्यवस्था गर्यो। दुई जना सचिव भएपछि काम र जिम्मेवारीका विषयमा विवाद उत्पन्न सुरु भएको हो।