काठमाडौं– कोरोना संक्रमणको बहाना गर्दै काठमाडौंका ठूला रिफरल अस्पतालले बिरामी फर्काउन थालेका छन्।
कोरोना महामारीको बेला सरकारको साथमै रहनुपर्ने अस्पतालले सिकिस्त भएर अस्पताल आएका बिरामीलाई समेत उपचार नगरी फर्काउँदा बिरामी उपचार पाउनबाट बन्चित भएका छन्।
अघिल्लो साता बागलुङबाट उपचारका लागि एम्बुलेन्समा आएका बिरामीलाई वीर अस्पतालले उपचार गर्न नसक्ने भन्दै फर्कायो। मुटु तथा श्वासप्रश्वासको समस्या भएपछि बागलुङ अस्पतालले काठमाडौं रिफर गरेका बिरामीलाई परिवारले मध्यराति वीर अस्पताल ल्याएको थियो।
‘बिरामीको उपचारकै लागि खोलिएको अस्पतालले आवश्यक पर्दा उपचार गर्दैनन् भने ती अस्पताललाई केन्द्रीय अस्पतालको उपमा किन दिनुपर्यो,’ ती बिरामीका आफन्तले भने, ‘हेर्दै नहेरी यहाँ हुँदैन, अन्तै लैजानुस् भनेर फर्काउनु कतिसम्म न्यायसंगत हो?,’ उनले गुनासो गरे।
वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी भने अस्पतालबाट बिरामी फर्काइएको कुरा गलत भएको दावी गरे। उनले भने, ‘तपाईंलाई थाहा छ, वीर अस्पतालको आइसियु सधैं प्याक हुन्छ। त्यसैले गम्भीर बिरामी भर्ना नलिएको हुन सक्छ। अन्यथा हामीले कुनै बिरामीलाई फर्काएका छैनौँ।’
उनले कोरोनाका शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखी परीक्षणको रिपोर्ट आएपछि सम्बन्धित वार्डमा भर्ना गरी उपचार गरिरहेको बताए।
यस्तै, गतसाता मैतिदेवीकी एक युवतीले क्यान्सरकी बिरामी आमाको स्वास्थ्यमा समस्या देखिँदा नियमित उपचार गराइरहेको सिभिल अस्पतालले भर्ना गर्न नमानेको बताइन्। अस्पतालले भर्ना नलिएपछि उनले स्वास्थ्यखबर संवाददातालाई फोनमार्फत गुनासो गरेकी थिइन्।
उनले भनिन्, ‘त्यस दिनको दुःख जिन्दगीभर भुल्न सक्दिनँ। अस्पतालले कोरोना परीक्षणको आरडिटी रिपोर्ट मागेको थियो। त्यसका लागि रगत बोकेर मेडिसिटी, पाटन र सरुवा रोग अस्पताल दौडिँदादौडिँदै रात पर्यो।’
मेडिसिटीले गम्भीर बिरामीलाई सरकारी अस्पतालमा भिराउन खोजेको भन्दै उनले आरडिटी परीक्षण गर्ने किट दिन नमानेको बताइन्। ‘सबैभन्दा दुःख त टेकु अस्पताल पुग्दा लाग्यो। रगत लिएर आएको भनेपछि त्यहाँका ड्युटीमा रहेका स्वास्थ्यकर्मीले लखेटे,’ उनले गुनासो गरिन्, ‘किन रगत बोकेर आएको? संक्रमण पैmलाउँदै हिँड्ने भनेर थर्काए, जाँच गर्नै मानेनन्। पछि त्यहाँ एक जना चिनेका व्यक्तिले भनिदिएपछि अबेर साँझ आरडिटी जाँच भयो।’
आरडिटी रिपोर्ट नेगिटिभ आएपछि मात्र रातको १० बजे सिभिल अस्पतालले आमाको भर्ना लिएको उनले बताइन्। अस्पतालले भने आरडिटी रिपोर्ट भरपर्दो नहुने भएकाले पिसिआर जाँचका लागि पठाएकोले ढिला भएको हुन सक्ने दावी गरेको छ।
सिभिल अस्पतालका निर्देशक डा दीर्घराज आरसीले अस्पतालमा पिसिआर जाँच गर्ने व्यवस्था नभएकाले समस्या आइरहेको बताए।
उनले भने, ‘हामीले अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई कोरोना जाँच गरेर भर्ना गर्नुपर्ने हुन्छ। यो चिकित्सक र बिरामी दुवैको लागि आवश्यक छ। तर अस्पतालमा कोरोना परीक्षण गर्ने व्यवस्था नहुँदा यस्ता खालका समस्या आइरहेका छन्। पिसिआर जाँच्ने अनुमतिका लागि मन्त्रालयमा चिठी पठाएको छु।’
उनले नियतवस बिरामीलाई दुःख नदिएको तर अहिले कोरोना रोकथामको व्यवस्थापनमा भइरहेको अलमलले अन्य बिरामीले दुःख पाएको बताए।
स्वास्थ्य मन्त्रालयको केही दिनअघिको बैठकमा समेत अस्पतालमा पिसिआर जाँच नहुँदा समस्या भएको भन्दै काठमाडौंका ठूला सबै अस्पतालमा पिसिआर जाँच गर्ने व्यवस्था गर्न माग गरेको निर्देशक आरसीले बताए।
‘सबै अस्पतालमा परीक्षणको व्यवस्था भए परीक्षण गरी संक्रमितलाई कोभिड अस्पताल पठाउन र संक्रमित नभएकालाई उपचार गर्न सहज हुन्थ्यो। बाहिर पठाउँदा हप्ता दिनसम्म पिसिआर रिपोर्ट आउँदैन। यता बिरामीको स्वास्थ्य बिग्रिन्छ,’ उनले भने।
सरकारले नियमित स्वास्थ्य सेवा प्रभावित नभएको दावी गरिरहेको छ। तर काठमाडौंका ठूला र सुविधासम्पन्न भनिएका सरकारी अस्पतालले भने बिरामी भर्ना नलिएर उपचारबाट पन्छिरहेको आरोप लागिरहेको छ।
स्वास्थ्य मन्त्रालयबाट नजिकैको दूरीमा रहेका यी दुई अस्पताल त उदाहरण मात्र हुन्। पछिल्लो समय नियमित उपचार नपाएर बिरामीले ज्यान गुमाइरहेका खबर विभिन्न सञ्चारमाध्यममा आइरहेका छन्।
तर, यी खबर स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रहेका कर्मचारीको कानसम्म भने पुगेको छैन। वा उनीहरु जनताले भोगेका यस्ता समस्याबारे नसुनेझैँ गर्छन्।
देशका सबैभन्दा बढी सुविधा भएका भनिएका अस्पतालले आरडिटी किट नभएको भन्दै बिरामी फर्काउने, उपचार नगर्ने हो भने किन अस्पताल सञ्चालन गर्नुपर्यो भन्ने प्रश्न अहिले जनमानसमा उठ्न थालेको छ?
पछिल्लो समय उपचार नपाएर मातृ मृत्युदर समेत बढेको छ। कोरोना देखिएका जिल्लाका बिरामीलाई अस्पतालले गर्ने व्यवहारले थप पीडा भएको बिरामीले गुनासो गर्न थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कुनै पनि अस्पतालले उपचारका लागि आएका बिरामी फर्काउनु आपत्तिजनक भएको बताए। उनले भने, ‘सबै अस्पतालमा सबैखाले बिरामीको उपचार हुँदैन। आइसियु बेड नहुन पनि सक्छ। तर अस्पताल आएको बिरामीलाई हेरेर उपचार हुने सम्बन्धित अस्पतालमा रेफर गर्नुपर्छ। यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ।’