काठमाडौं— थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सरुवा रोग अस्पतालबाट आएको भन्दै उपचार नगरी फर्काइएकी गर्भवती नर्ससँग माफी मागेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ती नर्स रक्तश्राब भएपछि श्रीमानका साथ उपचारका लागि जेठ २५ गते प्रसूति गृह पुगेकी थिइन्। तर, उनलाई सरुवा रोग अस्पतालबाट आएको भन्दै भिडियो एक्स रे लगायतका उपचार गर्न अस्विकार गरिएको थियो।
कोरोनाको उपचार गरेको अस्पतालबाट आएको भन्दै अस्पतालले उपचार नगरेको समाचार स्वास्थ्यखबरले प्रकाशित गरेपछि अस्पतालले उक्त घटनाका विषयमा चासो दिएको हो। अस्पताल प्रशासनले मंगलबार र बुधबार बैठक गरी घटना विषयमा सोधपुछ गरेको थियो। सो क्रममा अस्पतालका तर्फबाट गलत भएको निष्कर्ष निकाल्दै उपचारका लागि आएकी ती नर्ससँग माफी मागेको हो।
यसका साथै प्रशासनले उपचारमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्याउन सचेत गरेको अस्पतालले जनाएको छ।
प्रसुति गृहमा उपचार नपाएपछि ती गर्भवती नर्स एक निजी अस्पतालमा गई उपचार लिएकी थिइन्।
प्रसुति गृहकी निर्देशक डा संगिता मिश्राले उक्त दिन ड्युटीमा खटिएका चिकित्सक र नर्सलाई बोलाइ घटनाका बारेमा सोधपुछ गरेको बताइन्।
‘विराटनगरबाट सरुवा भएपछि प्रसूति गृहमा म मंगलबार मात्र हाजिर भएको हुँ। उक्त घटनाका विषयमा समाचार मार्फत जानकारी पाएपछि बैठक बोलाएर यस्ता घटना दोहरिनु हुन्न भनेर सम्झाएको छु।’
उनले कोरोनाको कारण उपचार नरोकियोस् भन्नका लागि अस्पतालमै पोर्टेबल पिसिआर परीक्षण गर्ने व्यवस्थाका लागि तयारी गरिरहेको जानकारी दिइन्।
उनले भनिन्,‘कुनैपनि बहानामा बिरामीलाई सेवा नदिने कुरा हुँदैन। काम गर्ने क्रममा कहिलेकाहिँ यस्ता घटना हुन्छन्। मैले सेवा पाउन बन्चित हुनुभएको नर्सलाई फोन गरेर माफी समेत मागेको छु। अब यस्ता घटना नदो¥याउने विषयमा हामी सजग बनेका छौँ।’
उनले कोरोनाको त्रासले पछिल्लो समयमा आम जनतामात्र होइन चिकित्सक र स्वास्थ्यकर्मी पनि त्रसित बनिएकोले यस्ता खाले समस्याको सामना गर्नुपरेको उल्लेख गरिन्।
उनले भनिन,‘म यसअघि कोरोनाकै उपचारमा खटिएर यहाँ आएको हुँ। यो समयमा चिकित्सक र नर्सलाई पनि मोटिभेसनको आवश्यकता छ।’
उपचार नपाएर फर्किएकी नर्सले पनि अस्पतालकी निर्देशकले फोन मार्फत अस्पतालको व्यवहारप्रति माफी मागेको बताइन्।
उनले भनिन,‘मैले हाम्रो स्वास्थ्य सेवा प्रवाहको विषयलाई बाहिर ल्याउन खोजेको हुँ। यस्तो प्रवृत्ति सुधार गरि सबै अस्पतालले बिरामीलाई सहज रुपमा सेवा दिने वातावरण बनाइनुपर्छ।’
यो पनि :
रक्तश्राव भएर प्रसूतिगृह पुगेकी नर्सलाई सरुवा रोग अस्पतालबाट आएको भन्दै डाक्टरले उपचार गरेनन्