कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा योसँग जोडिएका धेरै विषयले सर्वसाधारणमा अलमल सिर्जना गरेको छ।
कोरोना भाइरसको संक्रमणसँग जोडिएको एउटा विषय हो, कोरोना संक्रमित आमाले आफ्ना बच्चालाई स्तनपान गराउन हुन्छ कि हुँदैन? यो विषयले धेरै आमालाई द्विविधामा पारेको छ।
२ वर्षसम्मका बालबालिकालाई दुध खाने उमेरका बालबालिका भनिन्छ । यसमा पनि ६ महिनासम्मका बच्चालाई त आमाको दुध मात्र खुवाउनु पर्ने हुन्छ । तर आमा नै कोरोना संक्रमित भइन् भने? यस्तो अवस्थामा बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन? संक्रमित आमाले बच्चालाई स्तनपान गराउँदा बच्चामा कोरोना सर्छ कि सर्दैन त?
आमरुपमा उठेका यही जिज्ञासाको उत्तरको खोजी गर्दै हामीले चिकित्सक, सरोकारवाला निकायका प्रतिनिधी र सरुवा रोग विशेषज्ञसँग कुराकानी गरेको छौं।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा समीरकुमार अधिकारी स्तनपान गराउँदा बच्चामा भाइरस नसर्ने बताउँछन् ।
तर स्तनपान गराउने क्रममा आमाको मुखबाट निस्कने थुकका छिटाबाट भने संक्रमण सर्न सक्ने भन्दै सचेत रहन उनले सुझाब दिए ।
स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटा स्तनपान गराउँदा आमाबाट बच्चामा संक्रमण सरेको तथ्य हालसम्म नभेटिएको बताउँछन्।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरले हालसम्म आमाको दुधबाट बच्चामा कोरोना भाइरस सर्छ भन्ने कुनै प्रमाण नभेटिएको बताए। तर आमाले खोक्दा, हाच्छियूँ गर्दा तथा हातबाट सर्न सक्ने खतरा रहेकाले मेडिकल मास्क लगाउने र हातलाई सफा बनाउन आवश्यक रहेको जानकारी दिए।
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा संगीता मिश्राले संक्रमित आमाले आफुलाई ढुक्क हुन मन चाहेमा कचौरामा आफ्नो दुध निकाली बच्चालाई खुवाउन सक्ने सुझाव दिईन।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि स्तनपानका माध्यमबाट बच्चामा संक्रमण नसर्ने जानकारी दिए।
नेपालमा हालसम्म देखिएको संक्रमणको तथ्यांकलाई हेर्दा पनि स्तनपान गराउँदा बच्चामा कोरोना सरेको भेटिएको छैन । नेपालमा कोरोना संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको नवजात शिशुमा पनि कोरोना संक्रमण देखिएको थिएन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर दुई वर्षमुनिका ७४ बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ तर, उनीहरुमा स्तनपानका कारण संक्रमण नभएको मन्त्रालयको भनाई छ।
संक्रमण देखिएका बालबालिकामध्ये सबैभन्दा बढी प्रदेश नम्बर ५ मा छन्। प्रदेश ५ मा बुधबारसम्म ३२ जना बालबालिकामा संक्रमण देखिएको छ। त्यस्तै प्रदेश २ मा १६ जना, कर्णाली प्रदेशमा १४ जना, सुदुरपश्चिम प्रदेशमा ८ जना, गण्डकी प्रदेशमा ३ र प्रदेश १ मा २ जना बालबालिकामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ।