कोभिड-१९ भिडियो

नेपालमा कोरोना भाइरस समुदायमा फैलिएको हो? हामी संक्रमणको कुन अवस्था छौँ?

नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ। हालसम्म नेपालमा १४ हजार ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। भारतबाट आउने मानिसको संख्या बढेपछि नेपालमा कोरोना संक्रमितको संख्या पनि उकालो लागेको देखिएको छ। 

क्वारेन्टाइनमा राखिएका मानिसहरुमा ९५ प्रतिशत संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ। संक्रमितमध्ये ९८ प्रतिशत विदेशबाट आएका 'आयातित केस' भएको भन्दै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण समुदायमा नगएको दाबी गरेको छ।
तर, केही जनस्वास्थ्य विज्ञ र स्वास्थ्य मन्त्रालयकै स्वास्थ्य सचिव भने तराईका केही जिल्ला र काठमाडौंमा भाइरस समुदायमा फैलिएको बताइरहेका छन्। 

उदयपुरमा ३० जनाभन्दा बढीमा संक्रमण देखिँदा नै समुदायमा फैलिएको दाबी गरिएको थियो। यद्यपि, स्वास्थ्य मन्त्रालय भने संक्रमण दोस्रो चरण अर्थात् 'लोकल ट्रान्समिसन'मै रहेको बताउँछ। 

कुन अवस्थामा संक्रमण समुदायमा फैलिएको भन्न मिल्छ त? अहिले नेपाल संक्रमणको कुन अवस्थामा छ?

स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटाका अनुसार समुदायबाट बाहिर नगएका र संक्रमितको सम्पर्कमा नआएका एकै समुदायका धेरैमा संक्रमण देखिएको अवस्थालाई समुदायमा फैलिएको भन्न सकिन्छ।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरलाई हामीले नेपालमा कोरोना भाइरस समुदायमा गएको हो भनेर सोधेका थियौं। 

समुदायमा एकपछि अर्को गर्दै एकैपटक धेरै जनामा संक्रमण देखिनु र संक्रमणको स्रोत पत्ता नलागेको अवस्थामा मात्र समुदायमा संक्रमण फैलिएको मानिने उनले बताए। 

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले पनि नेपालका ९५ प्रतिशत संक्रमित बाहिरबाट आएका व्यक्ति भएकाले अझै समुदायमा फैलिएको भन्न नमिल्ने बताउँछन्। 

तर, उनले पछिल्ला दिनमा काठमाडौँमा देखिएका केही संक्रमितको ट्राभल हिस्ट्री नभएकाले समुदायमा फैलिने जोखिम बढाएको भने बताए। 

पछिल्लो समय काठमाडौं बाहिर नगएका, अन्य संक्रमितको सम्पर्कमा नआएका व्यक्तिलाई समेत कोरोना संक्रमण पुष्टि भएकाले सतर्क हुन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख पाण्डेले सुझाव दिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने