काठमाडौं- कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनाइरहेको समयमा यसविरुद्धको खोपको विकास भइरहेका खबर पनि आइरहेका छन्। चीन, रुस र बेलायतमा भ्याक्सिन विकासको काम भइरहेको छ। ती भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ। ती खोप कुन चरणमा छन्? कहिले खोप लगाएर कोरोना भाइरस सर्नबाट ढुक्क हुन सकिन्छ? आम चासोको विषय बनेको छ।
यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा चीन, रुस र बेलायतमा विकासका क्रममा रहेका भ्याक्सिनको क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।
परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रूस र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल हुनेछ। यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको उनी बताउँछन्।
‘भ्याक्सिनको नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न कम्पनीहरू इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ डा ज्ञवालीले भने।
धेरैले कोरोना भाइरसको खोप बन्नुको अर्थ प्रयोगका लागि तयार भएको बुझ्ने गरेका छन्। तर, अहिले कोरोना भाइरसविरुद्धको खोप बन्नुको अर्थ प्रयोगशाला र जनावरमा परीक्षण सफल भएर मानवमा परीक्षण गर्ने गरी तयार भएको हो।
मानवमा भएको परीक्षणमा पास भएपछि मात्रै यो प्रयोगयोग्य हुन्छ। धेरै खोप यो चरणमा पुगेर समेत असफल हुन सक्ने जापानस्थित युनिभर्सिटी अफ नागिसाकीका सहप्राध्यापक डा श्यामप्रसाद डुम्रे बताउँछन्। उनी भन्छन्, ‘खोप बन्नु र प्रभावकारीका साथै सुरक्षित हुनु फरक कुरा हुन्। धेरै मान्छे अहिले यही भ्रममा छन्। मान्छेलाई उक्त भ्याक्सिन लगाए कोरोना लाग्दैन भन्ने स्थितिमा खोप पुगेको होइन।’
डा डुम्रेका अनुसार अहिले विश्वका ६ भ्याक्सिन निर्माताहरु तेस्रो चरणको परीक्षणमा पुगेका छन्। ११ भ्याक्सिन दोस्रो चरणमा छन् भने १५ पहिलो चरणमा छन्।
उनका अनुसार अक्सफोर्ड विश्वविद्यालयको खोप सबैभन्दा अघि बढेको छ। त्यो मानवमा तेस्रो चरणको परीक्षण भइरहेको छ।
खोपको परीक्षणका प्रक्रिया लामो हुन्छ। मान्छेमा लगाउँदा हुन्छ भन्ने निर्क्यौल गरिसकेपछि पनि धेरै प्रक्रिया हुने उनी बताउँछन्। मान्छेमा लगाउन मिल्ने भएपछि तीन चरणमा परीक्षण गरिन्छ। ६ वटा खोपहरूले पहिलो दुई चरण पार गरेका छन्। ती खोप अब ठूलो समुदायमा परीक्षणका क्रममा छन्।
कहिले आउँछ त खोप?
पछिल्लो चरण नेपालमा परीक्षणका लागि अनुमति पाएका खोप परीक्षणका लागि मात्र तयार भएका हुन्। प्रयोगका लागि होइनन्। सबैभन्दा अघि बढेको भनिएको अक्सफोर्ड भ्याक्सिन ग्रुपले विकास गर्दै गरेको भ्याक्सिन पनि सन् २०२१ अक्टोबरसम्म परीक्षण नै हुने बताएको डाक्टर डुम्रे बताउँछन्। उनी भन्छन्, ‘खोप औषधि जस्तो चाँडै बन्दैन। औषधि बनाएपछि बिरामीलाई दिँदा काम गरेमा पास नत्र फेल भन्न मिल्छ। तर, खोप लगाइसकेपछि लामो समय पर्खेर हेर्नुपर्छ।’
खोपले काम गर्न सक्छ भन्ने पत्ता लागेपछि पनि लाइसेन्सिङ र नियमनका विषयले पनि उतिकै महत्व राख्ने उनको भनाइ छ। 'खोप सुरक्षित छ, काम पनि गर्न सक्छ भन्ने निश्चित भएपछि लाइसेन्सिङ हुनुपर्छ। नियमनको कुरा हुन्छ। त्यसपछि धेरै उत्पादन भएर सर्वसाधारणमा आउँछ,' डा डुम्रेले भने।
खोप कति प्रभावकारी छ भन्ने प्रश्नको उत्तर पनि खोज्नुपर्छ। डाक्टर डुम्रे भन्छन्, ‘कोरोनाविरुद्धको खोप लगाउँदा दुई महिना उक्त भाइरसले आक्रमण गर्न नसक्ने देखियो। दुई महिनाका लागि काम गर्ने खोप आर्थिक दृष्टिले कति सुलभ हुन्छ? लाखौं रुपैयाँ दुई महिनाका लागि तिर्न सकिन्छ कि सकिदैन? जस्ता प्रश्नहरु त्यसपछि आउँछन्। त्यसैले यो लामो प्रक्रिया हो।’ खोप सफलता उन्मुख भइरहेकाले आशावादी बने पनि अपेक्षा गरेजस्तो चाँडै तयार भएर आम प्रयोगमा आउन समय लाग्ने उनी बताउँछन्।
कसरी बन्छ खोप?
खोपले थोरै सङ्ख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ। खोपबाट पठाइएको भाइरससँग लड्न हाम्रो शरीरले सिक्छ। र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ।
खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पुरै सङ्क्रमण गर्न सक्दैनन्। तर नयाँ कोरोना भाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेको बिबिसीले जनाएको छ। यसको अनुवांशिक कोड थाहा भएकाले वैज्ञानिकहरूले यो भाइरस बनाउन सक्ने बताइएको छ।
केही वैज्ञानिकहरूले कोरोना भाइरसको कोडलाई अर्कै हानीरहित भाइरसमा हालेर परीक्षण गरिरहेका पनि बिबिसीले उल्लेख गरेको छ। यदि यो विधि सफल भयो भने शरीरमा हानीरहित भाइरस पठाएर कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ। अन्य वैज्ञानिकहरूले भने यसको डिएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेको बुझिएको छ।