फिचर

कोरोना संक्रमित स्वास्थ्यकर्मी दम्पती, नर्स सुभद्रालाई कसरी भयो दोस्रो पटक संक्रमण?

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालको पिडियाट्रिक वार्डमा कार्यरत नर्सिङ इन्चार्ज सुभद्रा चौधरी दोस्रो पटक कोरोना संक्रमित भएकी छन्। 

उनी पहिलो पटक संक्रमण भई निको भएको करिब डेढ महिनापछि पुनः संक्रमित भएकी हुन्। सुभद्रालाई दोस्रो पटक संक्रमण हुँदा उनका श्रीमान् तथा सिमराको जितपुर उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रविकुमार भास्कर पनि संक्रमित भएका छन्।

रविको साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको हो भने सुभद्रालाई साउन २५ गते दोस्रो पटक संक्रमित भएको पुष्टि भएको हो।  

सुभद्रा दम्पती संक्रमित भएको २० दिनभन्दा बढी भइसकेको छ। रविमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका छन् भने सुभद्रामा कुनै पनि लक्षण देखिएका छैन। पहिलो पटक जब उनी संक्रमित भएकी थिइन्, त्यो बेला पनि उनमा कुनै लक्षण देखिएको थिएन। 

कोरोना संक्रमण पुष्टि भइसकेपछि दुवै जना होम क्वारेन्टाइनमा बस्ने निधो गरे र संक्रमण भएको ४÷५ दिनसम्म होम क्वारेन्टाइनमा नै बसे। रविलाई एक्कासि श्वास फेर्न अप्ठ्यारो महसुस भयो। तुरुन्त गण्डक कोभिड अस्पतालमा फोन गरे र एम्बुलेन्स पठाउन आग्रह गरे। तर एम्बुलेन्स जिल्ला बाहिर गएकोले तुरुन्त आउन नसक्ने भनेपछि श्रीमान–श्रीमती बाइकमा कोभिड अस्पताल पुगे। 

त्यहाँ एक हप्ता बसेर उपचार गराइसकेपछि उनीहरु पुनः होम आइसोलेसनमा नै बस्ने निधो गरेर त्यहाँबाट फर्किए। अहिलेसम्म गरेर उनीहरुले तीन पटक पिसिआर परीक्षण गराइसकेका छन्। तीन पटक नै गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ। अब एक हप्तापछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने आशा दुवैको छ। 

उपमहानगरपालिकामा काम गर्ने भएकोले मानिससँग घुलमिल गर्नु नपर्ने र दुई हप्तादेखि घरबाहिर पनि ननिस्केकाले आफूलाई श्रीमती सुभद्राबाटै संक्रमण सरेको रविको अनुमान छ। 

‘सुभद्रा दिनभर अस्पतालमा काम गर्न जान्थिन्। त्यहाँ उनका साथीहरु पनि संक्रमित भएका छन्। हुन त बिदामा बस्नुभन्दा अगाडि पिसिआर गरेको थिइनँ। तर कोरोना संक्रमितको कन्ट्याक्टमा आएको ५÷६ दिनमा मात्रै राम्रो रिजल्ट आउँछ भन्छन्,’ उनी भन्छन्, ‘मलाई पहिलेदेखि कतै संक्रमण त सरेको छैन भनेर शंका लागेको थियो। पिसिआर गराएर आएकोले केही पनि भनेको थिएन तर दुवै जनालाई संक्रमण स¥यो।’ 

सुभद्रा कसरी भइन् दुई पटक संक्रमित?
सुभद्रा नारायणी अस्पतालको पिडियाट्रिक वार्डको नर्सिङ इन्जार्जका रुपमा कार्यरत छिन्। विश्वमा कोरोना महामारी सुरु भएसँगै नारायणी अस्पतालले पनि अस्थायी कोरोना अस्पताल बनायो र संक्रमितको उपचार सुरु ग¥यो। अस्पतालले संक्रमितको उपचार गर्नको लागि अस्पतालमै भएका कर्मचारीलाई पालैपालो ड्युटीमा खटाउने निर्णय ग¥यो। 

त्यसमा सुभद्राको नाम पनि सामेल थियो। उनको वैशाख दोस्रो हप्तामा कोरोना संक्रमितको उपचारमा खटिने ड्युटी परेको थियो। पहिले नै कोरोना रोगको बारेमा अस्पतालले जानकारी दिनुका साथै आफूलाई कसरी सुरक्षित राखेर उपचारमा खटिने भन्ने विषमा तालिम दिइसकेको थियो। त्यही कारणले पनि संक्रमितको उपचारमा खटिन सुभद्रालाई डर लागेन। 

उनी भन्छिन्, ‘अस्पतालले पूरै तयारी गरेको थियो। आफूलाई सुरक्षित राखेर उपचार गर्न पिपिई सेट दिएको थियो। र, त्यो बेलामा संक्रमित पनि धेरै थिएनन्। जति पनि संक्रमित थिए। उनीहरुलाई कुनै लक्षण देखिएको थिएन। त्यसैले पनि संक्रमितको उपचारमा खटिन डर लागेन।’ 

त्यहाँ सुभद्रालाई दैनिक रुपमा क्वारेन्टाइनमा जानु पर्दैनथ्यो। किनभने उनले  क्वारेन्टाइनलाई व्यवस्थापन गर्ने जिम्मा पाएकी थिइन्। अस्पतालले सबै कर्मचारीलाई पालैपालो ड्युटीमा खटाउने भएकोले एक हप्तामा काम गरिसकेपछि केही समय क्वारेन्टाइनमा बसेर बिदा पाउँथे कर्मचारीले। त्यसैले एक हप्ता काम गरिसकेपछि केही समय क्वारेन्टाइनमा बसेर पिसिआर गरी बिदामा बस्ने सोचेकी थिइन् तर पिसिआर परीक्षण गर्दा कोरेना पोजेटिभ आयो। 

उनी भन्छन्, ‘कुनै लक्षण थिएन। म आइसोलसनभित्र गएर संक्रमितसँग एक्सपोज पनि भएकी थिइनँ। एक दिन भने स्वाब निकाल्ने बेलामा सहयोग गर्न छिरेकी थिएँ। त्यो बेलामा पनि पिपिई लगाएर गएको थिएँ। कहाँबाट संक्रमण स¥यो, आफैंलाई थाहा छैन।’ उनमा कहाँबाट कोरोना संक्रमण भयो उनी आफैं अचम्ममा छिन्। 

उनलाई वैशाख ३१ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यसको १० दिन आइसोलेसनमा बसिसकेपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखियो। त्यसपछि पुनः एक हप्ता होम क्वारेन्टाइनमा बसेर काममा फर्केकी थिइन्। 

दोस्रो संक्रमण 
कोरोना निको भएर पुनः काम फर्केपछि अस्पतालकै पिडियाट्रिक वार्डमा नै काम सुरु गरिन्। वार्डमा बिरामीको भीडभाड नै थियो। एक जना बच्चा अस्पतालमा राख्नुपर्यो‍ भने ५ जना आफन्त आउने गर्थे। उनीहरु कति पनि डराउँदैनथे। अस्पतालमा आउने धेरैजसो मानिस मास्क नलगाई आउने गरेको उनी सम्झिन्छन्।

‘उनीहरुलाई सम्झाउँदासम्झाउँदै हामी हैरान भयौं,’ सुभद्र भन्छिन्, ‘जति सम्झाए पनि मास्क नलगाई आउने क्रम बन्द भएन र अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुने क्रम बढ्दै गयो।’ उनको आशंका छ, त्यहींबाट दोस्रो पटक संक्रमण सरेको हुन सक्छ। दोस्रो पटक संक्रमण हुँदा पनि उनलाई कुनै लक्षण भने देखिएन। 

साउन अन्तिमबाट सुभद्राको ड्युटी गण्डक कोभिड अस्पतालमा परेको थियो। त्यसैले एक हप्ता बिदामा थिइन्। बिदा बस्नुभन्दा अगाडि पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। 

रक्षाबन्धन मनाउँदा परिवारका ५ जना सदस्य संक्रमित 
साउन १९ गते रक्षाबन्धन परेको र दुई महिनादेखि घर नगएकोले रक्षा बन्धन मनाउन सुभद्र र उनका पति रवि कलैयास्थित आफ्नो घर गएका थिए। साउन १९ गते बिहान १० बजे घर गए र त्यहाँ बहिनी, बहिनी ज्वाइँ, भान्जाभान्जी सबै जम्मा भएका थिए। उनीहरु ४÷५ बजेसम्म घरमै बसेर साँझ क्वाटर फर्किए। 

रक्षा बन्धनको भोलिपल्टबाट रविलाई हल्का खोकी लाग्न सुरु भयो। त्यसपछि खोकी बढ्यो र ज्वरो पनि बढ्न थाल्यो। ‘त्यसपछि मलाई कतै कोरोना त भएन भनेर शंका लाग्यो अनि तुरुन्तै पिसिआर गर्न स्वाब दिएँ,’ उनले भने। 

साउन २२ मा रविलाई कोरोना संक्रमण पुष्टि भयो। सुभद्रा अस्पतालमा काम गरेर भर्खर मात्र बिदामा बसेको हुनाले पक्कै सुभद्राबाटै नै संक्रमण सरेको अनुमान गरे रविले। उनलाई पनि पिसिआर गर्न लगाए। नभन्दै सुभद्रामा पनि दोस्रो पटक साउन २५ गते कोरोना पोजेटिभ देखियो। 
 
श्रीमान–श्रीमतीमा कोरोना संक्रमण भइसकेपछि परिवारलाई पनि पिसिआर परीक्षण गर्न लगाए। एक हप्तापछि पिसिआर गर्दा दुई जना बहिनी, एक जना बहिनी ज्वाइँ र भान्जा, भान्जीमा पनि कोरोना पोजेटिभ देखियो। उनीहरु सबै होम क्वारेन्टाइनमा बसिरहेका छन्। 

६ वर्षको छोरोलाई मामाघर राखेर आइसोलेसनमा काम 
विश्वमा महामारी फैलिनु पहिले नै रवि र सुभद्रा ६ वर्षे छोरोसहित नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका थिए। कोरोनाले महामारी रुप लिएसँगै बच्चामा बढी जोखिम हुने भएकोले छोरोलाई माइती छोडेर श्रीमान–श्रीमती क्वाटरमा बस्दै आएका छन्। छोरो माइतीमा राखेपछि सुभद्रालाई आइसोलेसनमा काम गर्न पनि सहज भयो। ४/५ महिना भयो उनीहरुको छोरासँग भेट छैन।

‘कहिलेकाहीं फोनमा कुरा हुन्छ,’ सुभद्राले भनिन्। 

आइसोलेसनमा काम गर्दा आफ्नै साथीहरुले फरक व्यवहार देखाउँथे
नारायणी अस्पतालले कोरोना अस्पताल बनाएसँगै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पालोपालो अस्पतालमा खटाएको थियो। सुभद्रा र उनका साथीहरु आइसोलेसनमा काम थालेसँगै अस्पतालका अन्य साथीहरुको व्यवहारमा परिवर्तन पाउन थाले। आइसोलेसनमा काम गर्ने साथीहरुको व्यवहार एकाएक फेरिएको देखिएपछि सुभद्रालाई अचम्म लाग्यो।

‘उनीहरुले हेर्ने दृष्टिकोण नै फेरिएको थियो। परैबाट देखे पनि नदेखेको जस्तो गरेर अर्कै बाटो फर्किने जस्तो व्यवहार देखाउँथे,’ सुभद्रा भन्छिन्, ‘सुरुसुरुमा त रिस पनि उठ्यो, किन यस्तो व्यवहार गरेका होलान् भनेर। तर आजभोलि वास्ता लाग्दैन।’
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने