फिचर

उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्राप्त उषा, जो ६ महिनादेखि कोरोना विरुद्ध डटिरहेकी छिन्

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी आइसियु इन्चार्ज उषादेवी देवकोटाले यस वर्षको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्राप्त गरेकी छन्। 

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा उपलब्ध गराउने एक लाख रुपैयाँ राशीको सो पुरस्कार प्राप्त गरेकी हुन्। 

निजामती कर्मचारीहरुले पाउने उक्त पुरस्कार  यसपटक स्वास्थ्यकर्मीले पनि पाए। सरकारले कोभिड-१९ मा खटिएका स्वास्थ्य समूहका कर्मचारीहरुलाई पनि पुरस्कृत गर्ने निर्णय गरेअनुसार नै देवकोटाले पाएकी हुन्।

उषाको मन अरुको दुःख देख्न नसक्ने खालको छ। खुशी हुँदा पनि त्यसैगरी प्रफुल्ल हुन्छिन्। पुरस्कृत भएर प्रफुल्ल भएको समयमा उनले एक चक्कर लगाइन् आफ्नो जीवनको। कसरी नर्स भएँ? कसरी यो अस्पतालमा आइपुगें? जस्ता कुराहरु खेलाइन्। के कुराले दिलायो आफूलाई पुरस्कार भन्ने सम्झिन खोजिन्। सोलोडोलो उत्तर त थियो उनीसँग लगन र खटन। तर, यति मात्रै होइन, एक स्वास्थ्य सेवीमा हुनुपर्ने करुणा पनि उनीसँग छ, जन्मजात।

उनले सम्झिइन्, शैशवकाल। जतिबेला उनी अरु कसैलाई चोट लाग्दा हत्त न पत्त भएको सामान बोकेर मल्हमपट्टी गर्न पुग्थिन्। गाउँका धेरैजना स्वास्थ्य सेवामा थिए। त्यसैले पनि उनलाई यो क्षेत्र जान्न सहज भयो र झुकाव स्वभाविक बन्यो। 

उनी विगत तीन दशकदेखि नर्सिङ पेसामा आवद्ध छिन्। टेकु अस्पतालमा भने २०६३ सालदेखि सेवा दिइरहेकी छिन्। नेपालमा कोरोना संक्रमण सुरु भएपछि यही अस्पतालले सेवा दिन थाल्यो। बिरामी यही अस्पतालमा मात्रै राखिने भएपछि उपचार यहाँका कर्मचारीले गर्नुपर्‍यो। उनी त नर्स, त्यसमा पनि कोरोना संक्रमितको उपचार गर्नुपर्ने आइसियूमा उनको ड्युटी। चैतमहिनादेखि उनी कोरोना संक्रमितको उपचारमा खटिइन्। 

‘आफूलाई लगाइएको काम इमान्दार भएर गर्छु’, उनले पुरस्कृतबाट पुलकित स्वरमा भनिन्, ‘मेहनत गरेमा फल कहीँ न कहीँबाट मिल्ने रहेछ भन्ने महशुस भएको छ।’

बिरामीलाई सन्तुष्ट पार्नु आफ्नो कर्तव्य हो जस्तो लाग्छ उषालाई। त्यसैले त उनी धेरै जस्तो समय अस्पतालमा बिताउने गर्छिन्। टेकु अस्पतामलमा कोरोना संक्रमित भर्ना भएदेखि उनी अस्पतालको होस्टेलमा बसेर उपचारमा खटिइन्। 

उनी बिहान अस्पतालमा आउँछिन् र राति एकैपटक सुत्ने बेलामा मात्र होस्टल पुग्छिन्। आफू बिरामी हुँदासमेत उनले आराम गरिनन्। बरु संक्रमितको उपचारमा खटिरहिन्। ‘म अस्पतालमा गएर बहिनीहरुसँगै काम गरें भने उनीहरुको मनोबल बढ्छ भनेर आफूलाई सन्चो नभएको समयमा पनि अस्पताल जान्छु,’ उनले भनिन्। 

त्यसपछि आइपुगिन् टेकु
उषा २०६३ सालदेखि सरुवा रोग अस्पताल टेकुमा नर्सको रुपमा कार्यरत छिन्। सुरुमा  टेकुस्थित सरुवा रोग अस्पतालमा नर्सको दरवन्दी खाली भएको खबर सुन्दा उनलाई त्यहाँ जान नपरेपनि हुन्थ्यो जस्तो लागेको थियो। त्यसको एकमात्र कारण हो, अस्पतालको फोहोर  र एचआइभी संक्रमित आउने ठाउँ। 

वीर अस्पतालबाट उनको सरुवा जनकपुरमा भएको थियो। छोरी सानै भएकाले उनले वीर अस्पतालमा सरुवा मागेकी थिइन्। 

वीर अस्पतालमा उनको सरुवा नमिल्ने भएपछि उनले टेकु अस्पताल रोजिन्। टेकु आएको केहीवर्ष त उनलाई घुलमिल हुनै समय लाग्यो। पछि उनको नेतृत्वमा फोहोर व्यवस्थापन गर्ने टीम खडा गर्‍यो अस्पतालले। अस्पताल प्रशासन र सहकर्मीको सहयोगले फोहोर व्यवस्थापन गर्न सफल भएको उषा बताउँछिन्। 

पहिलोपटक आइसियूमा 
चारवर्षअगाडि शुक्रराज अस्पतालले ४ बेडको आईसीयू  निर्माण गर्ने निर्णय गर्‍यो। उनी नयाँ काम गर्न मन पराउने भएकाले आइसियूबनाउने बेलामा अस्पतालले उषालाई आइसियूको इन्चार्ज बनाउने निर्णय गरेको थियो। आइसियू इन्चार्ज दिने भइसकेपछि आइसियू निर्माण गर्दा ससानो कुरामा अस्पतालले उनलाई पनि सहभागी गराएको थियो। 
अस्पताल प्रशासन र निर्देशकले आइसियुबनाउन सम्पूर्ण साम्रगी किन्नेदेखि आवश्यक जनशक्ति उपलब्ध गराइदिएकाले  आइसियू संचालनमा सहज भएको उषा बताउँछिन्। 

सरुवा रोग अस्पताल भएकोले पहिलेआइसियूमा एचआइभी संक्रमितहरु बढी भर्ना हुने गर्थे। सुरुमा त उनलाई कतै आफूले राम्रोसँग सञ्चालन गर्न सक्दिन कि जस्तो लागेको थियो। समाजले खडा गरिदिएको एउटा धारणा थियो। त्यसले उनले पछि यहीँ आइपछि जितिन्।  उनी आइसियूमा भर्ना भएका बिरामीका आफन्तहरुलाई अस्पतालको सेवा कस्तो छ? के सुधार गर्नुपर्छ? भनेर सोध्ने गर्थिन्। उनीहरुबाट सन्तुष्ट रहेको प्रतिक्रिया पाउँथिन्। त्यसले उनलाई अझै राम्रो गर्ने हौसला मिल्थ्यो। ‘उहाँहरु  जानेबेलामा धन्यवाद दिएर जानुहुन्थ्यो। त्यो कारणले मैले दिएको सेवा राम्रो थियो जस्तो लाग्छ र यसरी सबैको माया पाउँदा खुसी लाग्छ,’ उनले भनिन्।  

कोरोना संक्रमणपछि...
कोरोना संक्रमणले विश्वभर महामारीका रुप लिन थाल्यो। नेपालमा पनि फाट्टफुट्ट संक्रमित देखिन थाले। सरुवारोग अस्पतालले पनि ४ बेडको आइसियू बिस्तार गरेर २० बेडको बनाउने निर्णय गर्‍यो। नेपालमा पहिलो कोरोना संक्रमितको उपचार टेकु अस्पतालमै भएको थियो।

सुरुवातमा कोरोनाका संक्रमितको उपचार गर्न अघि सर्दा डर लागेको उषा सुनाउँछिन्। तर, उनी अघि नसरे उनी अन्तर्गतका अघि सर्दैनथे। त्यसपछि उनले आफ्नो कामनै बिरामीको सेवा गर्ने भनेपछि के को डर? भनेर सबैलाई हौसाला दिन थालिन्।  आफू पनि नडराए जस्तो गरी खटिइन्। स्वास्थ्यकर्मीलाई चाहिने पीपीई पनि अस्पतालले अभाव हुन नदिन अस्पतालले तालिम नै दिएको थियो। उनी आइसियूमा कोभिड बिरामी भर्ना गरेदेखि आफैं दिनरात नभनी सेवामा खटिइन्। बेला–बेलामासंक्रमितको हालचाल बुझ्न आफै वार्डमा छिर्ने गर्छिन्। अहिले आइसियूमा ४० जना कर्मचारी कार्यरत छन्। 

उनीहरु पालोपालो गरेर ड्युटीमा खटिएपनि उषा भने बिहानै अस्पतालमा आउने गर्छिन् र सुत्नेबेलामा मात्र होस्टेल जाने गर्छिन्। अहिले २० वटै बेडमा संक्रमितभर्ना भएका छन्। उनी भन्छिन्,‘मलाई सन्तुष्टि त्यतिबेला मिल्छ। जब कुनै बिरामीको मुहार हँसिलो देख्छु र उहाँहरु तपाईंले राम्रो सेवा दिनु भएको छ भन्नुहुन्छ।’

गोरखाको पालुङटारमा जन्मिएकी उषाले २०४३ सालमा गोरखाको अमरज्योति माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा पुरा गरेकी हुन्। २०४६ सालमा पोखरास्थित नर्सिङ कलेजबाट पीसीएल नर्सिङ अध्ययन गरेकी उनले २०४८ सालमा लोकसेवा आयोगबाट सरकारी सेवामा उत्तिर्ण भएर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट सेवा सुरु गरिन्। उनले त्यहाँ ६ वर्ष बिताइन्। 

त्यसपछि उनलाई वीर अस्पतालमा काम गर्ने मौका मिल्यो। उनले वीर अस्पतालमा १२ वर्ष सेवा दिइन्। वीर अस्पतालका विभिन्न वार्डमा काम गरेको उनी बताउँछिन्। यही सिलसिलामा  उनले चर्चित न्युरो सर्जन स्व. डा उपेन्द्र देवकोटासँग न्यूरो वार्डमा काम गरिन्। डादेवकोटासँग काम गर्दा धेरैकुरा सिक्ने मौका पाएको उनी बताउँछिन्। उनलाई एउटै जिल्लाबासी र देवकोटाकै छोरी भएकोले  सधैं प्रेरित गर्थे डा. उपेन्द्र। त्यो बेलादेखि नै इमान्दार भएर काम गर्नुपर्छ भन्ने शिक्षा मिलेको उनी सुनाउँछिन्। 

उनले बौद्धस्थित स्तुपा कलेजबाट बिएन नर्सिङ पास गरेकी हुन्। बिएन पढ्ने बेलामा जनकपुर क्षेत्रीय अस्पतालमा सरुवा भएकोले उनले त्यहाँ लामो समय सेवा गर्न सकिनन्। 
हाल उनी बालाजुमा स्थायी बसोबास छ उनको। घरमा बहिनी र छोरी छन्। तर कोरोना संक्रमितको उपचारमा खटिएदेखि घर जान पाएकी छैनन्। अस्पतालको होस्टेलमा बस्दै सेवा दिइरहेकी छिन्। पिपिसआर गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै समय मिलाएर परिवारलाई भेट्न जाने गरेकी छन्। 

परिवार छाडेर, आफ्नै ज्यानको पर्वाह नगरेर अरुको कुशलताका लागि खटिरहेकी उषालाई पुरस्कार प्राप्त भयो। जुन आफू जस्तै कोरोना संक्रमण विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीकै हौसलाका लागि भएको ठानेकी छिन्। भन्छिन्, ‘हामी कोरोना विरुद्ध लडिरहन्छौं, यसैगरी हौस्याइरहनुहोस्।’
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने