भीमप्रसाद पौडेल
भाइरसका प्रजातिहरुमा छुट्टै विशेषता बोकेको भाइरसका रुपमा विश्वव्यापी रुपमा मानव जनजीवनलाई तहसनहस बनाइरहेको जिवाणुको नाम कोरोना भाइरस हो। शरीरमा कोरोना भाइरसको संक्रमण भएपछि लाग्ने एक खालको संक्रामक रोग नै कोभिड–१९ हो जसले मुख्यतः श्वासप्रश्वास प्रणालीमा समस्या गराउँछ।
सुरुमा नोबेल कोरोना भाइरस ९२०१९–एन कोभ० को नामबाट परिचित यो भाइरसको आधिकारिक नाम विश्व स्वास्थ्य संगठनले ११ फेबु्रअरी २०२० मा कोभिड–१९ अर्थात् कोरोना भाइरस डिजिज २०१९ भनी घोषणा ग¥यो भने भाइरस वर्गीकरणको अन्तर्राष्ट्रिय समितिका अनुसार यसको वैज्ञानिक नाम सार्स कोभ–२ रहेको छ।
१७ नोभेम्बर २०१९ मा चीनको हुवेई प्रान्तमा पहिलो पटक ५५ वर्षको मानिसमा देखिएको भनिएको कोरोना भाइरस चीनको हुवेई प्रान्तको वुहानमा आधिकारिक रुपमा ३१ डिसेम्बर २०१९ मा नोबेल कोरोना भाइरसको नाममा पत्ता लागेको भनी प्रतिवेदन सार्वजनिक भएको थियो।
चीनमा कोरोना भाइरसका कारण ११ जनवरी २०२० मा पहिलो पटक ६१ वर्षका व्यक्तिको मृत्यु भएको थियो भने २ फेबु्रअरी २०२० मा चीन बाहिर पहिलो पटक ४१ वर्षका फिलिपिनी नागरिकको सोही भाइरसको कारण मृत्यु भएको थियो। त्यस्तै नेपालमा पहिलो पटक १३ जनवरी २०२० मा चीनको हुबेई प्रान्तबाट फर्किएका एक ३२ वर्षका नेपाली विद्यार्थीमा यो भाइरस पुष्टि भएको थियो। हाल आएर करोडौंको संख्यामा विश्वका २१५ देशमा कोभिड–१९ को संक्रमण देखिएको छ।
विश्वको अवस्था
संख्यात्मक रुपमा हेर्दा विश्वभरि झण्डै २ करोड ८० लाख मानिस संक्रमित भइसकेका छन्। त्यसको करिब ५५ प्रतिशत संक्रमित अमेरिका, भारत र ब्राजिल गरी ३ देशमा मात्र रहेका छन्। कुल संक्रमितको २३.७ प्रतिशत अर्थात् करिब ६५ लाख संक्रमित अमेरिकामा मात्र पुष्टि भएको छ। त्यस्तै दोश्रोमा भारत (१५.४ प्रतिशत) अर्थात् करिब ४३ लाख, तेस्रोमा ब्राजिलमा (१५.२ प्रतिशत) करिब ४२ लाख संक्रमित देखिएको छ।
अमेरिकामा निसंक्रमण दर जम्मा ५८ प्रतिशत रहेको छ भने भारत र ब्राजिलमा क्रमशः ७७ र ८० प्रतिशत रहेको छ। मृत्युदर हेर्दा अमेरिका र ब्राजिलको ३ प्रतिशत रहेको छ भने भारतको २ प्रतिशत रहेको छ। त्यस्तै संक्रमण दर अमेरिकामा ७.४ प्रतिशत, भारतमा ८.६ प्रतिशत र ब्राजिलमा २८.७ प्रतिशत रहेको छ।
विश्वमा करिव ५४ करोड जनामा परीक्षण गर्दा ५ प्रतिशतमा संक्रमण देखियो भने भारतमा जम्मा जनसंख्याको ३.५ प्रतिशत अर्थात् करिब पाँच करोड जनामा परीक्षण गर्दा जम्मा परीक्षणको ८.४ प्रतिशत जनसंख्यामा संक्रमण भएको पाइयो भने नेपालमा जम्मा जनसंख्याको २.६ प्रतिशत अर्थात् करिब आठ लाख जनामा परीक्षण गर्दा ६ प्रतिशत जनसंख्यामा संक्रमण देखियो। त्यस्तै, निसंक्रमित हुने दर विश्वमा ७१ प्रतिशत रहँदा भारतमा ७७ प्रतिशत रहेको छ भने नेपालमा करिब ६९ प्रतिशत मात्र रहेको छ। त्यस्तै, कोरोना मृत्युदर विश्वमा ३.३ प्रतिशत रहँदा भारतमा १.७ प्रतिशत छ भने नेपालमा ०.६ प्रतिशत रहेको छ। विश्वमा रहेका जम्मा सक्रिय संक्रमितमध्ये ९९ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ भने मात्र १ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहेको अवस्था छ।
महादेशीय अवस्था
महादेश अनुसारको तथ्यांकमा दक्षिण अमेरिका र अफ्रिकामा उच्च संक्रमण छ भने अस्ट्रेलिया/ओसानिया मुलुकमा न्यून रहेको छ। त्यस्तै, निसंक्रमण दर अस्ट्रेलिया/ओसानिया र एसियामा उच्च रहेको छ भने युरोपमा न्यून रहेको छ। परीक्षण दर पनि अस्ट्रेलिया/ओसानिया सहित युरोप, उत्तर अमेरिकामा तुलनात्मक रुपमा उच्च छ भने अफ्रिकामा ज्यादै न्यून देखिन्छ। मृत्युदर युरोपमा उच्च छ भने एसियामा न्यून देखिन्छ।
सार्क मुलुकको अवस्था
आज विश्वमा अमेरिकापछि संख्यात्मक रुपमा उच्च संक्रमण भएको देश भारत बनेको छ। सार्क मुलुकहरुमा अफगानिस्तान र पाकिस्तानको संक्रमण दर र मृत्यु दर दुवै उच्च देखिन्छ भुटानको दुवै दर न्यून रहेको छ भने पाकिस्तानको निसंक्रमीत दर सबैभन्दा उच्च रहेको देखिन्छ। विश्वको संक्रमण दर र मृत्यु दरभन्दा एसियाको कम र एसियाको भन्दा सार्क राष्ट्रको कम देखिन्छ जसलाई सकारात्मक रुपमा लिए पनि भारतको बढ्दो र डरलाग्दो संक्रमणले समग्र सार्क अझै सुरक्षित दिशामा नरहेको पुष्टि हुन्छ। निसंक्रमित दर विश्वको तुलनामा एसियाको केही बढी भए पनि सार्क राष्ट्रको एसियाको भन्दा केही कम र नेपालको अझ कम हुनु पक्कै पनि सन्तोषजनक अवस्था होइन। यद्यपि, पछिल्लो समय नेपालको निसंक्रमित दर वृद्धि भएकोलाई भने केही सकारात्मक रुपमा लिन सकिन्छ।
प्रादेशिक अवस्था
प्रादेशिक रुपमा हेर्दा निसंक्रमण दर कर्णाली र सुदूरपश्चिममा उच्च रहेको छ भने बाग्मतीमा न्यून रहेको छ। हालसम्म नेपालमा जम्मा जनसंख्याको ०.२ प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमा पुरुष ७७ प्रतिशत र महिला २३ प्रतिशत रहेको अवस्था छ।
नेपालमा कोरोनाबाट निसंक्रमित दर ६८.५ प्रतिशत रहेको छ। प्रादेशिक रुपमा हेर्दा निसंक्रमित दर कर्णाली प्रदेशमा सबैभन्दा उच्च (८४.३) प्रतिशत छ। त्यसपछि क्रमशः सुदूरपश्चिम (८४.२ प्रतिशत), प्रदेश ५ (७३.५ प्रतिशत), गण्डकी प्रदेश (६६.५ प्रतिशत), प्रदेश २ (६६.३ प्रतिशत), प्रदेश १ (५९.९ प्रतिशत) छ भने सबैभन्दा कम बाग्मती प्रदेशमा (३३.४) प्रतिशत रहेको देखिन्छ। त्यस्तै प्रदेश १ र २ मा मृत्युदर हालसम्म उच्च रहेको छ भने कर्णाली र सुदूरपश्चिममा न्यून रहेको छ।
अहिले नेपालमा कोरोनाको पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरु ४७ वटा रहेका छन् जसमध्ये ३४ वटा सरकारी र १३ वटा निजी रहेका छन्। परीक्षणको सम्बन्धमा हालसम्म परीक्षण भएका नमुनामा सबैभन्दा धेरै ४४.३ प्रतिशत बाग्मती प्रदेश, १४.६ प्रतिशत प्रदेश १ अन्तर्गत, १२.५ प्रतिशत प्रदेश नं. ५ अन्तर्गत, ८.२ प्रतिशत कर्णाली प्रदेश अन्तर्गत, ७.५ प्रतिशत प्रदेश २ अन्तर्गत, ६.८ प्रतिशत गण्डकी प्रदेश अन्तर्गत र सबैभन्दा कम ६.५ प्रतिशत सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न प्रयोगशालामा परीक्षण भएको देखिन्छ।
जिल्लागत अवस्था
नेपालमा हाल ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रादेशिक रुपमा जिल्लागत तथ्यांक हेर्दा प्रदेश १ मा सबैभन्दा धेरै संक्रमण मोरङमा छ भने सबैभन्दा थोरै सोलुखुम्बुमा छ। त्यस्तै प्रदेश २ मा सबैभन्दा धेरै संक्रमण पर्सामा छ भने सबैभन्दा थोरै सिरहामा छ।
बाग्मती प्रदेशमा सबैभन्दा धेरै संक्रमण काठमाडौंमा छ भने सबैभन्दा थोरै रसुवामा छ। गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमण नवलपरासी पूर्वमा छ भने सबैभन्दा थोरै मुस्ताङमा छ। त्यस्तै प्रदेश ५ मा सबैभन्दा धेरै संक्रमण रुपन्देहीमा छ भने सबैभन्दा थोरै रुकुम पूर्वमा छ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै संक्रमण दैलेखमा छ भने सबैभन्दा थोरै हुम्लामा छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै संक्रमण कैलालीमा छ भने सबैभन्दा थोरै दार्चुलामा छ। नेपालभरिमा सबैभन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौं १४.३ प्रतिशत, त्यसपछि पर्सा ५.४ प्रतिशत, सर्लाही ४.५ प्रतिशत, रौतहत ४.१ प्रतिशत र सबैभन्दा कम संक्रमण मुस्ताङमा रहेको अवस्था छ।
अन्त्यमा
विश्वको तथ्यांक हेर्दा सुरुवातमा अत्यधिक संक्रमण देखिएको चीन, इटाली जस्ता देशहरुमा हाल सामान्य संक्रमण देखिन्छ भने सँगसँगैको अमेरिकामा अहिले पनि आक्रामक रुपमा नै बढेको देखिन्छ। एसियन मुलुक र सार्क मुलुकहरुमा पनि कोरोनाको संक्रमण बढिरहेकै छ। सुरुसुरुमा ज्यादै न्यून संक्रमण भएको छिमेकी मुलुक भारतमा अहिले संक्रमण आकासिँदो छ।
मुख्यतः खुला सिमानाको कारण पनि त्यसैको प्रभाव स्वरुप सुरुको केही समय संक्रमण नै नदेखिएको नेपालमा विस्तारै कोरोना संक्रमण बढिरहेको छ भने काठमाडौं लगायतका ठूला सहरहरुमा संक्रमणको भयावह अवस्था आउनसक्ने आकलन गरिएको छ भने देशका अन्य जिल्लामा पनि संक्रमण बढ्ने निश्चितप्रायः देखिन्छ। त्यसका लागि एकातिर तत्कालै पिसिआर परीक्षणको दायरा तथा सहज पहुँच, क्वारेन्टिन र आइसोलेसनको संख्यात्मक एवं गुणात्मक वृद्धि गर्दै त्यसलाई वैैज्ञानिक सूचना प्रणालीले जोड्नु पर्नेछ भने अर्कोतिर सुरक्षाकर्र्मी र अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीहरुको उच्च मनोबल कायम गराई आइसियु, भेन्टिलेटर र औषधी एवं स्वास्थ्य सामग्रीको पर्याप्त उपलब्ध गराउनुपर्ने छ।
यस्ता विपद तथा महामारीको बेलामा गणतान्त्रिक नेपालका ७६१ वटै सरकारहरुको क्षमतालाई समन्वयात्मक रुपमा एकीकृत गर्दै सबै राजनीतिक दल, शिक्षक, पत्रकार सामाजिक संघसंस्था लगायत आमनागरिक समेत एक ठाउँमा उभिएर कोरोना विरुद्धको लडाइँमा विजय हासिल गर्नुको कुनै विकल्प छैन।