काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथो पटक ‘नेसनल टेस्टिङ गाइडलाइन’ परिमार्जन गरेको छ।
मन्त्रालयले यस पटक कोरोना परीक्षणका लागि एन्टिजेन बेस्ड टेस्ट सुरु गरेसँगै गाइडलाइन परिमार्जन गरेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कस्ता व्यक्तिलाई पिसिआर गर्ने, कसलाई एन्टिजेन बेस्ड टेस्ट गर्ने भन्नेबारे स्पष्ट पार्दै टेस्टिङ गाइडलाइन परिमार्जन भएको जानकारी दिए।
उनले एन्टिजेन बेस्ड टेस्ट छिटो र धेरै जनाको टेस्ट गर्नुपर्ने अवस्थामा गर्न सकिने बताए।
गाइडलाइनले कस्तोकस्तो अवस्थामा एन्टिजेन बेस्ट टेस्ट गर्ने भन्ने आधार निर्धारण गरेको छ।
एकै पटक धेरै जनामा परीक्षण गर्नुपरेमा (मास स्क्रिनिङ), अस्पतालमा उपचारका क्रममा तुरुन्तै कोरोना रिपोर्ट चाहिएमा र धेरै व्यक्तिहरु बस्ने ठाउँमा (जस्तोः ब्याकेर, जेल, वृद्धाश्रम) आदिमा ठाउँमा एन्टिजेन बेस्ड टेस्ट गरिने छ।
एन्टिजेन बेस्ड टेस्ट गर्दा पोजिटिभ आएमा उक्त रिपोर्टलाई पोजिटिभ नै मान्ने र नेगेटिभ आएमा त्यो व्यक्तिमा लक्षण छ कि छैन निक्र्योल गरी लक्षण भएको भएमा आइसोलेसनमा राखी पिसिआर जाँच गरिने छ। तर त्यहाँ एन्टिजेन बेस्ड टेस्टको पुनः नगरिने भएमा मात्र पिसिआर जाँच हुनेछ।
उक्त समयमा पोजिटिभ रिपोर्ट आएमा संक्रमितलाई आइसोलेसनमा राख्ने, उपचार गरिने छ भने नेगेटिभ आएमा अन्य कारणहरु खोजी गर्ने र उपचार गर्ने गाइडलाइनमा उल्लेख छ।
नेगेटिभ आएको व्यक्तिलाई अन्य कोभिड भएको व्यक्तिको सम्पर्कमा नआएको भए पिसिआर परीक्षण गरिने छैन।
पिसिआर जाँच्ने आधार
– लक्षण भएका सबै व्यक्तिहरु (ज्वरो आएका, खोकी लागेका, श्वास फेर्न गाह्रो) भएका,
– कोभिड–१९ पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट आएका व्यक्ति,
– एक्युट रेस्पेरेटरी सिन्ड्रोम भएका बिरामी,
– बाहिरबाट फर्केका व्यक्तिहरु जो क्वारेन्टाइनमा सबेको ५ देखि ७ दिन भएको छ,
– सबै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी लगायात अन्य फ्रन्टलाइनका व्यक्तिहरु,
– कोरोना संक्रमण फैलिएको ठाउँ गएको १४ दिनभित्रको ट्राभल हिस्ट्री भएका व्यक्तिहरु,
– आइसियुमा भर्ना भएका सबै बिरामी,
– ६० वर्षमाथिका व्यक्तिहरु जसलाई दीर्घरोग, जसको रोग प्रतिरोधक क्षमता कमजोर छ,
– क्लिनिकल आवश्यकता लागि (तर यसमा आकस्मिक शल्यक्रियाका लागि पिसिआर रिर्पोट पर्खनु पर्दैन) र
– जो व्यक्ति गम्भीर लक्षण देखिएर उपचाररत थिए, उनीहरुलाई डिस्चार्ज गर्नुपर्ने समयमा (तर लक्षण नभएका र सामान्य लक्षण भएको व्यक्तिलाई आइसोलेसनमा बसेको १४ दिनपछि र साधारण लक्षण भएकाले लक्षण नभएको ३ दिनपछि पिसिआर नगरी डिस्चार्ज गरिने छ)।