फिचर

दसैंमा मनोरञ्जन : तास र पिङले बढाउँछ, कोरोनाको जोखिम

चिकित्सक भन्छन्- जमघट हुनु नै सबैभन्दा खतरा

काठमाडौं- नेपाली परम्परासँग जोडिएको दसैंको आफ्नै महत्व छ। दसैंमा ठूलाबडाबाट टीका र आर्शिवाद थाप्ने मात्र नभई मनोरञ्जन पनि जोडिएको हुन्छ। दसैंमा मनोरञ्जन गर्ने विभिन्न तरिका छन्। जसमध्ये परापम्परागत विधि हो, लिङ्गे पिङ। पिङ, दसैंमा खेलिने विशेष खेल पनि हो। 

दसैंमा एक पटक भुईं छाड्नुपर्छ भन्ने प्रचलित भनाइ नै छ। त्यसैले दसैंमा ठूलाबडाबाट टीका थापेपछि पिङ खेल्न हतारिनेहरु धेरै हुन्छन्। पिङ खेल्न साना बालबालिकादेखि सबै उमेर समूहका मानिस पिङ उत्सुक हुन्छन्। त्यसैले त दसैंमा पिङ खेल्नुको मज्जा नै बेग्लै हुन्छ। 

पिङसँगै दसैंमा खेलिने अर्को खेल हो, तास। दसैंमा अधिकांश मानिस तासको खालमा जम्छन्। विगतका दसैंहरुमा पिङ र तास खेलेर जति मनोरञ्जन लिने गर्थे, अहिलेको समयमा यी सब स्वास्थ्यका निम्ति जोखिमपूर्ण हुन सक्छ। 

यदि अवस्था सामान्य हुन्थ्यो भने अहिले ठाउँठाउँमा लिङ्गे पिङ बनाउने होडबाजी सुरु भइसकेको हुने थियो। तर यस वर्षको चाडपर्वमा पिङ र तास खेल्नु स्वास्थ्यका निम्ति घातक हुन सक्छ। 

विश्वलाई आतंकित बनाएको कोरोना भाइरस संक्रमणको जोखिमलाई पिङ र तासले बढावा दिने चिकित्सकहरु बताउँछन्। पिङ र तास खेल्दा मानिसबीच सामाजिक दूरी कायम नहुने भएकाले पनि यो आफैंमा जोखिमपूर्ण छ। 

दसैंमा खेलिने पिङ र तासबाट कोरोना सर्ने जोखिम हुने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। यस वर्षको दसैं जो जहाँ छ, त्यही मनाउनुपर्ने उनको सुझाव छ। पिङ र तास समूहमा खेलिने हुँदा कोरोना संक्रमणको जोखिम हुने उनले बताए। 

उनले भने, ‘तास र पिङ एकै ठाउँमा झुम्मिएर खेलिन्छ। यही कोही व्यक्ति संक्रमित छ भने कोरोना सर्ने जोखिम अत्यधिक हुन्छ।’

डा पुनका अनुसार एकै ठाउँमा बसेर तास खेल्दा तास र पैसा साटासाट हुने तथा थुकको छिटा पर्न सक्ने हुँदा कोरोनाको जोखिम हुन्छ। तास सकेसम्म नखेल्न डा पुनको सुझाव छ। संसारभर नै पैसा सबैभन्दा बढी चलायमान हुने वस्तुमध्ये एक हो। धेरै मानिसको हातमा पुग्ने भएकाले पनि रुपैयाँ–पैसाबाट कोरोना सर्न सक्ने डा पुन बताउँछन्।

उनी भन्छन्, ‘तास खेल्दा थुक लगाउने, नजिक बस्ने, एकै ठाउँमा झुम्मिने भएकाले अहिलेको अवस्थामा सकेसम्म तास र पिङ नखेल्न नै सुझाव दिन्छु।’

संक्रमित व्यक्तिबाट निस्किएका थुकका छिटा पैसा वा तासमा पर्न सक्छ। ती पैसा वा तास छोएको व्यक्तिले आफ्नो हातलाई मुख वा आँखासम्म पु¥याएमा कोरोना सर्ने जोखिम रहन्छ। 

सबैभन्दा पहिले मानिसहरु एक ठाउँमा जमघट हुनु नै जोखिमपूर्ण हुने अर्का सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला बताउँछन्। मास्क लगाएर, सेनिटाइजर गरेर तास र पिङ नै खेले पनि सँगै बसेर खाँदा, नजिक हुँदा जोखिम रहिरहने उनले बताए। 

कोरोना संक्रमितले बोल्ने, खोक्ने वा हाछ्युँ गर्ने क्रममा निस्किएका थुकका छिटा अगाडि रहेको मानिसको हात, मुख वा आँखामा पुग्न सक्ने उनले बताए। 

उनले भने, ‘जमघट हुनु नै जोखिमपूर्ण हुन्छ। त्यसमा झन् तास र पिङ गर्ने क्रममा तास, पैसा साटासाट हुन्छ। कोही संक्रमित रहेछ भने कोरोना सर्न सक्छ।’

डा बाँस्तोलाका अनुसार कोरोना रोकथाम गर्ने उपाय भनेको कुनै पनि बहानामा जमघट नै नहुनु हो। थुका छिटासँगै कोरोना भाइरस पनि अर्को व्यक्रिसम्म पुग्ने भएकाले पैसा तथा तासको प्रयोग जोखिमपूर्ण उनले बताए।  

पैसाको कारोबारबाट पनि कोरोना सर्ने भएकाले सकेसम्म पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्ने बानीको विकास गरेमा कोरोना संक्रमणको जोखिमबाट बच्न सकिने उनीहरुको सुझाव छ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने