डडेल्धुरा- प्रायः विशेषज्ञ चिकित्कसहरू सुगम ठाउँ नै रोज्छन्। सरकारले दुर्गम पठाए पनि केही समय मात्रै बस्छन्। सरुवा मिलाएर सुगम वा घरयापक नै बस्न खोज्छन्। तर केही यस्ता पनि चिकित्कस छन् जो दुर्गमका बिरामीको सेवामा दिनरात खटिरहेका छन्।
तीमध्येका एक हुन्, डा राजन शाह। उनी विगत ८ महिनादेखि डडेल्धुरा अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन्। उनको घर प्रदेश २ को जनकपुर उपमहानगरपालिका–१४, धनुषा हो।
उनले सन् २०१६ मा जानकी मेडिकल कलेज जनकपुरबाट एमबिबिएसको पढाइ पूरा गरे। लगत्तै उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रसूति तथा स्त्रीरोगमा २०१९ मा स्नातकोत्तर तह (पिजी)को अध्ययन सकाए। उनी गत माघ २ गतेदेखि डडेल्धुरा अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत छन्।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुराका जनतालाई सेवा दिइरहेका छन्। दुर्गमका बिरामीको मन जित्दै डा राजन सेवा दिइरहेका छन््।
‘प्रदेश २ को मान्छेलाई सुदूरपश्चिम टाढा नै हो। मान्छेहरु घरतिर वा सेन्टरमै काम गर्न खोज्छन्। तर म यहीँ आएँ। सुरुमा अस्पताल आउँदा यहाँको वातावरण त्यति उत्साहजनक थिएन। अस्पतालप्रति बिरामीलाई त्यति धेरै विश्वास पनि थिएन,’ उनी भन्छन्, ‘पाठेघरको शल्यक्रिया त परै जाओस्, शल्यक्रिया गरेर प्रसूति गराउँदा पनि बिरामीलाई धेरै नै कन्भिन्स गर्नुपर्ने थियो।’
सुरुवातमा सिएस (शल्यक्रिया गरेर बच्चा जन्माउने) सेवाबाट बिरामीहरुको मन जित्न आफूहरु सफल भएको उनको भनाइ छ। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा अस्पतालका निमित्त मिडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्ट र डा शाहले अस्पतालमा उक्त सेवा दिइरहेका छन्। डडेल्धुरा अस्पताल संघीय सरकार मातहतको देशकै ‘विशिष्ट विशेषज्ञ अस्पताल’ हो।
उनले सिएस सेवाबाट बिरामीहरुको मन जितेपछि पाठेघरको शल्यक्रिया सुरु गरे। ‘डा जगदीशचन्द्र र मैले अहिले महिनामा १५–२० जनाको पाठेघर अप्रेसन गरिरहेका हुन्छौँ,’ उनले भने, ‘सिएस त महिना ५० जति पुग्छ। अहिले कैलाली, धनगढीबाट पनि यहाँ शल्यक्रिया गराउन आएका छन्।’
सुदूरमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अपरेसन गर्ने डाक्टर
शाह सुदूरपश्चिम प्रदेशमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अपरेसन गर्ने पहिलो डाक्टर हुन्। यस विधिबाट सुदूरपश्चिममै पहिलो पटक डडेल्धुरा अस्पतालमा अपरेसन गरिएको थियो। उक्त अप्रेसन डा शाहको टिमले गरेको थियो।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा शाह, एनेस्थेसियोलोजी र क्रिटिकल केयर डा शम्भु अधिकारी नेतृत्वको चिकित्सकको टोलीले हालसम्म चार जनाको ल्याप्रोस्कोपिक प्रविधिबाट पाठेघरको शल्यक्रिया गरेको छ
प्रसूति गराउने शल्यक्रिया बाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अब यसै प्रविधिबाट सम्भव भएको डा शाहले बताए। ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया बिरामीका लागि स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी हुने उनको भनाइ छ।
पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने तथा बिरामीले महिनौंसम्म आराम गर्नुपर्ने आवश्यकता नहुने डा शाहको भनाइ छ। उनका अनुसार दुई–तीन दिनमा अस्पताल बसाइ सकेर बिरामी एक सातामा आफ्नो नियमित काममा फर्किन सक्छ। यस विधिबाट अपरेसन गरेपछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको उनको भनाइ छ।
‘हाम्रो आँखाले नदेख्ने कतिपय कुरालाई दूरबिनले अझै स्पष्ट गरेर देखाउँछ,’ उनले भने, ‘शल्यक्रियामा दूरबिन प्रविधि सबैभन्दा उत्कृष्ट हो।’
परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा काटेर गरिने अपरेसनको साटो पेटमा स–साना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो। यो सर्जरी गर्दा पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामेरा पठाएर उच्च प्रकाश र क्यामेराको सहायताले पेटको अपरेसन गरिन्छ।
‘पेटको कुन भागको अपरेसन गर्ने हो, त्यसअनुसार पेटमा अन्य दुई वा तीन सेन्टिमिटरसम्मको वटा प्वाल पारेर औजारको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ,’ डा शाहले भने, ‘पेट चिरेर गरिने अपरेसनको तुलनामा यो प्रविधि बढी सुरक्षित मानिन्छ। यस प्रविधिबाट शल्यक्रियापछि बिरामीले कम समय अस्पतालमा बसे पुग्ने, छिटो दैनिक काममा फर्किन सक्ने, सानो घाउ हुनाले दुखाइ खासै नहुने तथा औषधि पनि खासै प्रयोग गर्नुपर्ने हुँदैन।’
नयाँ ठाउँ आइसकेको नयाँ काम गर्ने उनको सानैदेखिको सोच थियो। त्यहीअनुसार उनी अघि बढिरहेका छन्। ‘मेरो सुरुदेखि नै सपना थियो, नयाँ ठाउँमा गएर नयाँ काम गरुँ र सबै बिरामीले मलाई चिनून्,’ उनी भन्छन्, ‘यहाँ सुदूरपश्चिममा ल्याप्रोस्कोपिक विधि भनेको एकदमै नयाँ कुरा हो। यहाँका मान्छेलाई प्रायः थाहा नै छैन। के हो, कस्तो हुन्छ भनेर अप्ठ्यारो मान्छन्।’
सरकारी अस्पतालमा दूरबिन विधिबाट काठमाडौंमै पनि सीमित अस्पतालमा मात्रै हुने गरेको उनले जनाए। काठमाडौं हरेक किसिमको अप्रेसन दूरबिन प्रविधिबाट हुने गरेको उनी बताउँछन्।
‘यो अप्रेसन महँगो हुन जान्छ तर हामीले यहाँ अरु अप्रेसन जस्तै गरेको शुल्क लिने गरेका छौँ। एकदमै गरिब बिरामीलाई निःशुल्क पनि गरिरहेका छौँ,’ उनले भने।
२९ वर्षीय डा राजन आफू ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको अपरेसन गर्ने नेपालकै कान्छो डाक्टर भएको दाबी गर्छन्। ‘यो किसिमको शल्यक्रिया गर्ने ३० वर्षमुनिको अरु डाक्टर छन् जस्तो मलाई लाग्दैन।’ उनी भन्छन्, ‘यसरी शल्यक्रिया गर्न पाउँदा र बिरामी निको भएर घर जाँदा मलाई एकदमै खुसी लाग्छ।’
डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुराका बिरामीलाई यहाँ नै दूरबिन विधिबाट अप्रेसन हुन थालेपछि सहज भएको छ।
बैतडीको सिगास गाउँपालिका–१ का उद्धव भूल यहाँ नै ल्याप्रोस्कोपिक विधिबाट श्रीमतीको पाठेघरको सफल अप्रेसन भएपछि खुसी छन्। ‘म गरिब घरको मान्छे हुँ हजुर, यहाँ नै उपचार हुँदा खुसी छु। भारत, काठमाडौं जान पैसा हुँदैन। यहाँ नै उपचार भयो,’ उनले भने, ‘डाक्टर सा’ब (राजन) ले राम्रोसँग उपचार गरिदिनु भयो।’
कोरोनाका बीच पनि अप्रेसन
कोरोना भाइरस महामारी फैलिएको बेला पनि उनले काम गर्न छोडेनन्। उनी यहाँ आएको ९ महिना भएको छ तर विगत सात महिनादेखि घर भएका छैनन्। उनी महामारीका बीच पनि बिरामीको सेवामा खटिइरहेका छन्।
‘यहाँ हरेक किसिमका बिरामी आउँछन्,’ उनले भने, ‘कोरोना महामारीको बेला हामीले निरन्तर रुपमा सेवा दिइरहेका छौँ। हामीले कोरोना संक्रमित गर्भवतीको समेत डेलिभरी गराएका थियौँ।’
‘पैसा होइन, सेवा ठूलो’
गरिब तथा अतिविपन्न परिवारका बिरामीको निःशुल्क पनि उपचार गरेको उनी बताउँछन्। ‘धेरैलाई निःशुल्क उपचार गरेको छु। निःशुल्क उपचार गर्दा डाक्टरलाई पनि केही किसिमको घाटा हुन्छ। उनले भने, ‘मलाई पैसा चाहिँदैन। हुन त सरकारीमा पैसा पनि छैन। म चाहन्छु, बिरामी मेरो सेवाबाट खुसी हुन् र मलाई मान्छेले चिनून््।’