काठमाडौं- मृत्यु भएका कोरोना संक्रमितको तथ्यांक फरक परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मृतकको यकिन तथ्यांक खोज्न थालेको छ। मन्त्रालयले मृतकको तथ्यांक छानविन गर्न समिति नै गठन गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे र सिसिएमीका प्रतिनिधि डा अरुण न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो।
उक्त समितिले कात्तिक १५ गतेसम्म प्रतिवेदन बुझाउने गरी समय दिएको थियो। तर, काम नसकिएपछि अझै केही समय लाग्ने बताइएको छ।
स्वास्थ्य मन्त्रालय, नेपाली सेना र प्रदेशहरुको कोरोना संक्रमितको मृत्युको तथ्यांकमा एकरुपता नभएपछि मन्त्रालयले त्यसबारे छानविन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयकी सहसचिव एवं समितिकी संयोजक शैलजा रेग्मीले अहिले दुवैतिरको तथ्यांक अध्ययन भइरहेकोले दुई-तीन दिनमा प्रतिवेदन बुझाउने जानकारी दिइन्।
उनले भनिन्, ‘हामीले मन्त्रालय र सेनाको तथ्यांक जुधाएर अध्ययन गर्दैछौँ। इडिसिडीमा होम आइसोलसनमा रहँदा मृत्यु भएका संक्रमितको संख्या नहुने भएकाले केही तलमाथि भएको हो कि भन्ने प्रारम्भिक कारण देखिएको छ। तर अझै हामीलाई अन्तिम निष्र्कष दिनका लागि केही दिन लाग्छ।’
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले समितिले मृत्यु तथ्यांकमा कहाँ फरक परेको हो, यथार्थ के हो भन्ने विषयमा छानविन गरी आज–भोलिमै प्रतिवेदन बुझाउने जानकारी दिए।
प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले भने कोभिड व्यवस्थापन र तथ्यांक राख्ने सन्र्दभमा संवेदनशील रुपमा काम नगरेको स्वास्थ्य मन्त्रालयको बुझाइ छ।
उनले भने, ‘नेपाली सेनाको तथ्यांक मन्त्रालयको भन्दा फरक छ। मन्त्रालयमा अस्पताल र स्वास्थ्य संस्थाबाट रिपोर्ट भएको तथ्यांक मात्र आउँछ। सेनाले पनि कोरोना भएको रिपोर्ट, वडाको सिफारिसबिना शव व्यवस्थापन गर्दैन। त्यसैले धेरै हदसम्म सेनाको रिपोर्ट साँचो नै हो। यसमा कहाँ फरक परेको भन्ने समितिले औँल्याउने छ।’
उनका अनुसार कतिपय संख्या भने सेनामा भएको मन्त्रालय र मन्त्रालयको रेकर्ड सेनाको रेर्कडमा देखिएको छैन। समितिले प्रतिवदेन बुझाएपछि भने यकिन भएको तथ्यांक अपडेन हुने श्रेष्ठले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दिउँसो ४ बजेसम्म एक हजार ४ जनाको मृत्यु भएको छ।
सेनाका अनुसार १ हजार ४ सय र सामाजिक विकास मन्त्रालयका अनुसार करिब १ हजार १ सय जना संक्रमितको मृत्यु भइसकेको देखिएको बताइएको छ।
नेपालमा हालसम्म संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ।
देशभर ३७ हजार ४७६ जना सक्रिय संक्रमित छन्। भने १ हजार २७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।