मीना अधिकारी
हाम्रो पेसामा परिवारसँग बसेर चाडपर्व मनाउने अवसर कमै मात्र मिल्छ। मैले पनि नर्सिङ पढ्न थालेदेखि नै परिवारसँग बिरलै मात्र चाडपर्व मनाउन पाएको छु।
धरानमा नर्सिङ पढ्ने बेलामा तिहारमा जम्मा तीन दिन मात्र बिदा हुन्थ्यो। तीन दिनमा नुवाकोट घर गएर फर्कन भ्याइँदैनथ्यो। त्यसैले हामी घर टाढा हुनेहरु कलेजको होस्टलमा नै बस्थ्यौँ।
नर्सिङ पढ्दा ४ वर्ष होस्टेलमै बसें। सबै जना तिहार मनाउन जाँदा नरमाइलो लाग्थ्यो, भाइटीकाको दिन घर सम्झिएर रुन्थें। अरुहरुले तिहार मनाएका हुन्थे। हामीहरु तिहारमा होस्टेलको क्यान्टिन बन्द हुने हुँदा भोकै बस्नु पर्थ्यो।
पछि नर्स भएर काम गर्न थालेपछि कति वर्ष त घर जानै पाइएन। त्यो बेलामा यस्तै पेसा रोजेको छु, जिन्दगीभरि नै चाडपर्व परिवारसँग बसेर मनाउन नपाउने भइयो भनेर दुख लाथ्यो।
४/५ वर्षपछि अहिले तिहार परिवारसँग मनाउने अवसर जुरेको छ। त्यसैले धेरै रमाइलो लागेको छ।
यस पटक दसैंमा बिदा नलिएकोले तिहारमा छुट्टी पाएको छु। त्यसैले तिहार मनाउन नुवाकोट आएको छु।
यसपालिको तिहार सबै परिवारसँग भेटघाट गरेर, मिठाइ–रोटी पकाएर, लक्ष्मीपूजा गरेर र भाइलाइ टीका लगाएर मनाउने योजना बनाएको छु।
यस पटक कोरोनाको महामारीले गर्दा मेरो भैलो खेल्ने कार्यक्रम भने छैन।
सानो बेलाको तिहार सम्झँदा अहिले पनि रमाइलो लाग्छ। हामी सानो बेलामा लक्ष्मीपूजा गरेपछि साथीहरु मिलेर भैलो खेल्न जान्थ्यौँ। भैलो खेलेर पैसा जम्मा हुन्थ्यो। त्यो पैसा साथीहरुबीच बराबर बाड्थ्यौं। म जहिले पनि आफ्नो भागमा परेको पैसाले आफूले मनपरेको कुरा किन्थें र बाँकी पैसा जम्मा गरेर राख्थे।
सानो बेलामा गाउँमा सयपत्री फूल फूल्न थालेपछि अब तिहार आयो भनेर खुसी लाग्थ्यो। तिहारमा मिठाइ बनाउने माहोल नै रमाइलो हुन्थ्यो।
तिहारको बेलामा गाउँघरमा पिङ हाल्ने हुँदा हामी केटाकेटीहरु पिङ खेल्न जान्थ्यौँ। बाटोबाटोमा लङ्गुबुर्जा खेलिरहेका हुन्थे। वातवरण नै रमाइलो हुन्थ्यो। आजभोली पिङ पनि बिरलै मात्र हाल्ने गर्छन् र सबै जना आआफ्नो घरमा तिहार मनाउने हुँदा पहिलोको जस्तो रमाइलो माहोल हुँदैन।
(त्रि वि शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स अधिकारीसँग स्वास्थ्यखबरकी सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित।)