काठमाडौं– सबै जना तिहारको रमझममा झुमिरहेका बेला धेरैजसो स्वास्थ्यकर्मी घर जान पाएका छैनन्। कोरोना महामारीका कारण स्वास्थ्यकर्मीहरु उपचारमा खटिनुपर्ने जिम्मेवारीमा छन्।
विगतमा स्वास्थ्यकर्मी ड्युटी मिलाएर दसैं÷तिहार मनाउँथे। यो वर्ष कारोना संक्रमणको कारणले स्वास्थ्यकर्मीहरु २४सै घन्टा सेवा दिइरहेका छन्।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १४ दिन ड्युटी गरेपछि १४ दिन बिदाको व्यवस्था गरिएको थियो। तर भर्खरै मात्र सरकारले संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई १४ दिन बिदा नदिई दुई÷तीन दिनमा काममा फर्काउने निर्णय सुनायो। यो निर्णयसँगै दसैंमा बिदा नपाएका स्वास्थ्यकर्मी तिहारमा पनि घर जान नपाउने देखिएको छ।
नेपालको जेठो अस्पताल वीर अस्पतालको कोभिड आइसियुमा कार्यरत स्टाफ नर्स श्रेया सुवेदी पनि यस वर्षको तिहारमा घर जान नपाउने भएकी छन्। उनले तिहारमा बिदा पाउने आशामा दसैंको बेलामा पनि ड्युटी गरेकी थिइन्।
सरकारको यस्तो निर्णयसँगै तिहारमा पनि उनको ड्युटी प¥यो। तिहारको एक दिन उनको बिदा परेको छ। तर एक दिन बिदाले पिसिआर गरेर आफ्नो जन्मघर झापा जान असम्भव जस्तै छ।
उनी वीर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न सुरुवाती चरणदेखि नै सेवामा खटिएकी छन्। स्वास्थ्यखबरले स्टाफ नर्स श्रेया सुवेदीसँग तिहार अनुभवका बारेमा सोधपुछ गरेको छ। श्रेयाको तिहार अनुभव उनकै शब्दमाः
नर्सिङ पेसामा लागेको १० वर्ष भयो। यो १० वर्षमा दसैंमा बिदा नबसेर भए पनि तिहारमा बिदा बस्ने गरेको थिएँ। त्यसको एउटा मात्र कारण थियो, मैले हरेक वर्ष १ जना मेरो आफ्नो दादा सहित ५ जना आफन्त भाइहरुलाई टीका लगाउँदै आएको छु। उहाँहरुलाई टीका लगाउने म बाहेक अरु कोही दिदीबहिनी छैनन्। त्यो कारणले गर्दा म जहाँ भए पनि टीका लगाउन झापा जानैपर्ने हुन्छ।
दाजुभाइले मास्क लगाएर भए पनि टीका लगाइदिन आग्रह गरेका छन्
यसपालि पनि दसैंमा ड्युटी गरेर तिहारमा बिदा बस्छु भन्ने योजना बनाएको थिएँ। किनभने त्यो बेलामा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु १४ दिन ड्युटी गर्ने र १४ दिन बिदा बस्ने व्यवस्था थियो।
तर, सरकारले एक्कासि संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ३÷४ दिनमात्र बिदा दिने निर्णय गरेसँगै म यसपालि तिहारमा घर जना नपाउने निश्चित जस्तै भएको छ।
भाइटीकाको अघिल्लो दिनसम्म ड्युटी परेको छ। टीकाको दिनमा मेरो बिदा नै छ। तर एक दिनमा नै पिसिआर परीक्षण गरेर झापा जान सम्भव छैन। त्यो कारणले यो तिहार क्वारेन्टाइनमा नै बित्ने भयो। तर दादा र भाइहरुले हामी काठमाडौं आउँछौँ, मास्क लगाएर भए पनि टीका लगाइदिनु पर्छ भनेर आग्रह गरेका छन्। पिसिआर नगरी आफ्न्तसँग एक्पोज हुँदा यदि मलाई संक्रमण भएको रहेछ भने उहाँहरुलाई सर्ने सम्भावना हुन्छ।
रंगोलीका साथै लक्ष्मीको पाइला बनाउन निकै मन पर्छ
मलाई तिहार एकदमै मन पर्छ। तिहार झिलिमिली बत्ति र रङहरुको पर्व भएर होला मनमा बेग्लै खालको आनन्द महसुस हुन्छ।
तिहारमा म जहिले पनि मेरो भागमा रंगोली र लक्ष्मीका पाइला बनाउने जिम्मेवारी पर्छ।
लक्ष्मीपूजाको दिन लक्ष्मीको पाइला बनाउँदै घरभित्र लैजाने र रंगोली बनाउँदा आनन्द महसुस हुन्छ।
भैलो खेलेर आएको पैसा दुःख पाएकाहरुलाई दिन्थें
लक्ष्मीपूजा गरेपछि साथीहरु मिलेर हामीहरु भैलो खेल्न जान्थ्यौँ। भैलो खेल्दा धेरै पैसा जम्मा हुन्थ्यो, त्यो पैसा हामीहरुले बराबर भाग लगाउँथ्यौँ।
मलाई जहिले पनि आफ्नो भागमा आएको पैसा दुःख पाएका मानिसहरुलाई दिन मन लाग्थ्यो। केही पैसा दुःख पाएकोलाई दिन्थें, केही आफूलाई राख्थे। कुनै बेला आफूलाई मन परेको सामान पनि किन्थें। तर ठूलो भएपछि पहिलाको जस्तो रमाइलो हुँदैन। देउसी–भैलो पनि खासै खेलिँदैन।
दादाले मन परेको सामान किनिदिनुहुन्छ
६ जना दाजुभाइकी म एक बहिनी हुँ। त्यसैले पनि उहाँहरुको लागि म सधैं विशेष हुन्छु। म पनि जहाँ भए पनि दाजुभाइलाई टीका लगाउन घर जान्छु। दाजुभाइ पनि जहाँ भए पनि टीका थाप्न आउँछन्।
तिहारमा दादाले जहिले पनि मलाई मनपर्ने सामान रोजाएर किनिदिनुहुन्छ। भाइहरु सामानको सट्टा पैसा नै दिने गर्छन्। सानो बेलामा आफूले कमाउन सुरु नगर्दै दाजुभाइले पैसा र आफूलाई मन परेका सामान किनिदिँदा रमाइलो लाग्थ्यो। आजभोलि त उहाँहरुको आर्शिवाद र माया भए पुग्छ।