मुख्य समाचार

बिरामीको सेवामा खटिनुपर्ने वीर अस्पतालका कर्मचारीहरु दैनिक धर्नामा

माग सम्बोधन नभएपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक

काठमाडौं- वीर अस्पतालको अगाडि र पछाडी दुवै गेटमा कालो ब्यानर टाँसिएको छ। त्यो ब्यानरमा लेखिएको छ, ‘कर्मचारीको एक सूत्रीय माग पूरा गर। सक्दैनौ भने पदाधिकारी अस्पतालमा हाजिर नगर।’

डाक्टर, नर्स सहितका कर्मचारीहरु दैनिक एक घन्टा धर्नामा बस्छन्। अनि पदाधिकारी विरुद्धको नारा जुलुस गर्छन्। 

हातमा कालो पट्टी बाँधेर पम्पलेट सहित धर्नामा बस्नु वीर अस्पतालका कर्मचारीको दैनिकी जस्तै बनेको छ। १० बजे पुगेर अस्पतालमा हाजिर गरी काममा लाग्नुपर्ने कर्मचारीहरु बिहान साढे १० देखि साढे ११ बजेसम्म धर्नामा बस्छन्। 

यसलाई दैनिक बनाउनु उनीहरुको रहर नभई बाध्यता हो। यसरी दैनिक नारा जुलुस सहित धर्ना दिन थालेको बुधबार ३१ दिन पूरा भएको छ। तर वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले अस्पतालको सेवामा भने बाधा पुर्‍याएका छैनन् न त बिरामीलाई मर्कामा पारेका छन्। 

कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनमा छन्। पटकपटक ध्यानाकर्षण गराउँदा पनि उनीरुको माग सम्बोधन हुन सकेको छैन। 

माग सम्बोधनका लागि अस्पतालका पदाधिकारीले पहल नगरेपछि कात्तिक २५ गते उनीहरु स्वास्थ्य मन्त्रालयलाई गुहार्न समेत पुगे। स्वास्थ्य मन्त्रीलाई भेट्न पुगेका उनीहरु राज्यमन्त्रीसँगको भेटमै चित्त बुझाउनु प¥यो। त्यहाँ पनि उनीहरुले आश्वासन मात्र पाए। तर त्यो आश्वासन पनि पूरा हुन सकेन। त्यसैले उनीहरुले आन्दोलनका नयाँ कार्यक्रम थप गरेका छन्। 

मंसिर ४ गतेदेखि वीर अस्पतालमा न्याम्स पदाधिकारी अस्पताल प्रवेश निषेधको कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन्। यो क्रम मंसिर १२ गतेसम्म चल्नेछ। 

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य भन्छन्, ‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका छौं। तर अहिलेसम्म पनि माग सुनुवाइ भएन। त्यसैले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेका हौं।’ 

माग सम्बोधन नभए पदाधिकारीको कार्यकक्षमा तालाबन्दी समेत गर्ने उनले बताए। उनले भने, ‘मंसिर ४ गतेबाट पदाधिकारी अस्पताल प्रवेश निषेधको कार्यक्रम गर्छौं। यसो गर्दा पनि माग सम्बोधन नभए पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्छौं।’

नारा–जुलुस सहितको धर्ना दिने कार्यक्रम यथावत् रहेको उनले जानकारी दिए। जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधि खरिद खर्च, दसैं खर्च लगायत यसअघि पाउँदै आएको सुविधा भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ। 

वीर अस्पतालका कर्मचारीहरुको आन्दोलनप्रति बुधबार नै स्वास्थ्यका १६ वटा राष्ट्रिय ट्रेड युनियन तथा पेसागत संघ–संगठनले ऐक्यबद्धता जनाएका छन्। ऐक्यबद्धता जनाउनेमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल लगायत छन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने