काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी यतिबेला निकै व्यस्त छन्। कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापन कार्यमा भइरहेका गतिविधिबारे जानकारी दिने जिम्मेवारीमा छन् उनी।
डा अधिकारी स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाई (एचइओसी) का प्रमुख पनि हुन्। कोरोनासम्बन्धी दैनिक तथ्यांक उनले विभिन्न भाइबर, फेसबुक र ट्विटरमार्फत देशभर पुर्याउँछन्। आफैं कोरोना संक्रमित हुँदा पनि उनले यो काम जारी नै राखे।
दसैं सुरु भएपछि उनलाई कोरोनाको लक्षण देखिन थालेको थियो। फूलपातीको अघिल्लो दिन कोरोना संक्रमित भएपछि त्यसपछिका दिन उनले होम आइसोलेसनमा बिताए।
कोरोना संक्रमण र संक्रमित भएपछि बच्ने उपायबारे जानकारी दिने उनी आफैं संक्रमित भएर होम आइसोलसनमा बस्दा कस्तो अनुभव गरे? स्वास्थ्यखबरसँग आफ्ना अनुभव उनले यसरी सुनाएः
सुरुमा मलाई एकदमै गाह्रो भयो। बेस्सरी शरीर दुख्यो। शरीरका कुनै अंग दुख्न बाँकी थिएन। बोल्न, फोन उठाउन मन नलाग्ने गरी इरिटेसन भयो। विभिन्न कामले मानिसको कल आइरहने हुनाले आकस्मिक हुनसक्छ भनेर एसएमएस पठाउने गर्थें। फोन चाहिँ उठाइनँ। मलाई फोनप्रति साह्रै इरिटेसन भयो।
खानामा कुनै स्वाद भएन। कस्तो नुन, मसला नराखी खाना बनाएको होला भन्ने लाग्ने रहेछ।
हामीलाई कोरोना संक्रमणबारे धेरै कुरा थाहा छ। सिस्टम पनि थाहा छ, कहाँ कोअर्डिनेसन गर्ने, के गर्ने, कसरी गर्ने भन्ने। तर आम मानिसलाई गाहै्र हुन्छ होला। हामीले अहिले काम गरिरहेको सिस्टमको कुरा नबुझेरै पनि गाह्रो हुन्छ भन्ने लाग्यो।
किनभने, कोभिडको सन्र्दभमा हामीले गरिरहेका काम एउटा भयो, अर्को हाम्रा प्रशासनिक सिस्टम पनि त सबै परिवर्तन भएको छ। मानिसलाई ती कुरा बुझ्न पनि गाह्रो छ।
होम आइसोलेसनमा बस्ने संक्रमितलाई साइकोलोजिकल सपोर्ट हुने रहेछ। कसैले मलाई केयर गरिरहेको छ, के भयो, कसो भयो भनेर सोधिरहेको छ भन्ने लाग्ने रहेछ। म नियमित चिकित्सकको सम्पर्कमा थिएँ।
म संक्रमित भएर घरमा बस्दा छरछिमेकीले पनि चासो राख्नुहुन्थ्यो। उहाँहरुलाई संक्रमित भएर पनि किन अस्पताल नगएको, केही भएको छैन, घरमा किन बसेको होला भन्ने लाग्ने रहेछ। तर, सबैलाई कन्भिन्स गर्न सकिने थियो। उहाँहरु आफैंले पनि धेरै कुरा बुझ्नुभएको थियो।
कोरोना भएपछि सबैभन्दा गाह्रो भनेको १४ दिनपछि टेस्ट नगरी निस्कने कुरामा कन्भिन्स गराउन समस्या रहेछ।
मन्त्रालयमा बसेर कोभिड सम्बन्धी विभिन्न प्रोटोकल बनाउने काम गरेकोले पनि १४ दिनसम्म आइसोलेसनमा बसेर परीक्षण नगरी अफिस आउँदा पनि फेरि एक खालको चासो हुने रहेछ। किन परीक्षण नगराई निस्केको होला भन्ने लाग्ने रहेछ।
काममा व्यस्त भइरहने मानिसलाई संक्रमित भएर बस्नुपर्दा निकै छटपटी हुने रहेछ। के–के कुरा हराएजस्तो, छुटे जस्तो, के छैन जस्तो लाग्ने।
कोरोना संक्रमित भएर घरमा बस्दा भने सबैले केही न केही सल्लाह चाहिँ दिइरहने। यसो गर्नु, यो खानु, त्यो खानु भनेर सिकाइरहने। बिरामी भएर बस्दा सबैले डाक्टरकै जसरी सल्लाह दिने।
लक्षण देखिन थालेपछि मिटिङमा बसिनँ
मन्त्रालयमा मेरो दैनिकी निकै व्यस्त थियो। अफिसको व्यस्तता घर पुगेर अबेर रातिसम्म चलिरहन्थ्यो।
कोरोना परीक्षण गराउँदा पनि मैले अफिसमा स्टाफलाई मलाई कोरोनाको शंका छ। लक्षण देखिन थालेको छ भनेर जानकारी गराएको थिएँ। लक्षण देखिन थालेपछि मन्त्रालयको कुनै पनि मिटिङमा बसिनँ। कसैलाई भेटिनँ।
२ दिन चाहिँ गाह्रो भएकाले साइन गर्नुपर्ने फाइल पनि टेबुलमा राख्न लगाएर पठाएँ। दुई दिनपछि धेरै गाह्रो भएकोले भोलिबाट आउँदिन भनेर जानकारी गराएको थिएँ।
टेस्टको रिपोर्ट नेगेटिभ आयो भने पनि त्यसलाई फल्स नेगेटिभ मान्छु भनेर सचिव र लोहनी सरलाई भनेर गएको थिएँ।
मैले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर परीक्षण गराएको थिएँ। कोरोना पोजेटिभ भएपछि पूरै आइसोलेसनमा बसें। त्यो बीचमा अन्य जुम मिटिङ, मिडिया, अन्तरवार्ता लगायतका काम गरिनँ।
मन्त्रालयको मैले नगरी नहुने, मैले नै फाइनल गर्नुपर्ने काम भने मैले घरबाटै गरेको थिएँ। त्यो काम पनि नभएको भए त कसरी बस्न सकिन्थ्यो होला भन्ने लाग्छ। इमर्जेन्सीको समय हो भन्ने लागेकैले यो समयमा अफिसका काम गर्न भने छोडिनँ।
मलाई पोजेटिभ देखिएपछि श्रीमती र ड्राइभरको परीक्षण गराएको थिएँ। नेगेटिभ आयो। म आफू लक्षण देखिन थालेपछि परिवारका सदस्यसँग तर्केरै बसेको थिएँ। त्यसैले अरुलाई परीक्षण गराइएन। लक्षण देखिएको भए परीक्षण गराउनु पथ्र्यो।
घरमा आमाबुबा, भाइबुहारी र दुई जना बच्चा समेत भएकाले पहिल्यैदेखि आइसोलेटेट भएरै बसेको थिएँ। तर बच्चाहरु आफ्नो नजिक नआउँदा भने नरमाइलो लाग्ने रहेछ।
दसैंमा आफैंले टीका लगाएँ
दसैंको फूलपातीको अघिल्लो दिन कोरोना पोजेटिभ आएकाले दसैंमा आमाबुबाको हातबाट टीका लगाउन मिलेन।
बुबाआमाले अलग्गै मलाई अक्षता राखिदिनुभयो। मैले आफैं दसैंको टीका लगाएँ। उहाँहरु मलाई टीका लगाइदिन नपाउँदा दुःखी हुनुभयो नै। मलाई भने यस्तै हो भन्ने थाहा थियो।
सबैभन्दा दुःखी छोरा भयो। उसलाई दसैंमा मामाघर जान नपाएको दुःख लागेको थियो। अहिले नै किन पोजेटिभ हुनुपरेको होला भन्थ्यो छोरोले।
संकट कायम छ, सर्तक रहौँ
पछिल्लो समयमा मानिसहरुले कोरोना केही होइन भन्ने जसरी हिँडडुल गर्न थालेको देखिन्छ। लापरबाही बढेको छ। तर कोरोना संक्रमण कायम नै छ।
मानिसहरुले बीचमा कोरोना केही होइन भन्ने भ्रम छिटो पत्याए तर स्वास्थ्य मन्त्रालय र सञ्चारमाध्यमले कोरोना कायम नै छ सर्तक हौँ, भौतिक दूरी, मास्क र नियमित हातको सरसफाइ गरौँ भनेको कुरा पत्याएनन। यसले हामी र हाम्रो परिवारलाइ नै संकटमा पार्छ।
अहिले पनि मानिसहरु खोप आइसक्यो, कोरोना केही होइन भन्न थालेका छन्। भ्याक्सिनको अझै केही टुंगो लागेको छैन। कम्पनीले आफ्नो प्रारम्भिक रिपोर्ट बुझाएको छ। त्यसलाई मानिसमा प्रयोग गर्न र नेपालसम्म आइपुग्न समय लाग्छ। फेरि खोपले काम गर्छ कि गर्दैन भन्ने आंशका कायम नै छ।
त्यसैले अहिले कोरोनाबाट बच्ने तीन वटा उपाय मात्र हो, भौतिक दूरी, मास्क र हातको सरसफाइ। कृपया यसलाई पालना गरौं।