काठमाडौं- सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन ल्याउनका लागि तयारी गरिरहेको छ। पहिलो चरणमा आउने भ्याक्सिन अति जोखिममा भएका स्वास्थ्यकर्मीलाई दिने योजना सरकारको छ।
स्वास्थ्यकर्मीहरुमध्ये पनि सबैभन्दा पहिला कसले भ्याक्सिन पाउँछन् त? कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका सदस्य सचिव डा झलक शर्मा गौतमले स्वास्थ्यकर्मीमध्ये कोभिड डेडिकेटेट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै पहिलो प्राथमिकता परेको बताए।
उनले भने, ‘तर, तीमध्ये पहिला डाक्टर, नर्सलगायत कुन स्वाथ्यकर्मीले पहिला वा पछि पाउँछन् भन्ने स्पष्ट भएको छैन।’
उनका अनुसार सबै डेडिकेटेट अस्पतालबाट ड्युडीमा खटिएका स्वास्थ्यकर्मीको सूची मागिने र जोखिमका आधारमा फ्रन्टलाइनमा खटिनेलाई प्राथमिकतामा पारिने छ।
‘खोप सुरुमा कति संख्यामा आउँछ त्यसआधारमा जोखिमका आधारमा फ्रन्टलाइनमा खटिनेको सूची अनुसार प्राथमिकता निर्धारण हुन्छ,’ उनले भने, ‘एकै दिन देशका विभिन्न स्थानमा सयौँलाई खोप लाइने भएकाले खोप आएको केही दिनभित्र सबै स्वास्थ्यकर्मीले खोप लगाउन पाउँछन्।’
उनले प्राथमिकता सूचीका आधारमा फ्रन्टलाइनमा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, फर्मासिस्ट, ल्याब, आयुर्वेद लगायत स्वास्थ्यका सबै समूह र विधाका व्यक्तिले खोप लगाउन पाउने जानकारी दिए।
तर, यसमा पनि पहिला कसलाई भ्याक्सिन दिने, कसरी प्राथमिकता छनौट गर्ने भन्नेबारे भने अझै टुंगो लागेको छैन। यो विषयमा छलफल चलिरहेको बताइएको छ।
उनले भ्याक्सिनमा पिपिईको जस्तो दुरुपयोग नहुने दावी गरे।
उनले निर्वाचनमा जस्तो सूची तयार गरेर भ्याक्सिन दिने योजना बनाउने बताए।
सरकारले देशभरका १५ वर्षमाथिका ७२ प्रतिशत जनतालाई कोभिड भ्याक्सिन लगाउने योजना बनाएको छ। जसमा पहिलो चरणमा अति जोखिममा रहेका स्वास्थ्यकर्मी, सामाजिक दुरी कायम गरेर काम गर्न नसक्ने सोसियल वर्करहरु, दीर्घरोगीलाई भ्याक्सिन लगाउने योजना बनाएको छ।
योजना अनुसार पहिलो चरणमा ३ प्रतिशत जनसख्ंयालाई पुग्ने भ्याक्सिन लगाइने छ। जसमा सबैभन्दा पहिला डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र फ्रन्टलाइटर वर्कर गरी ९ लाख ११ हजार ३४२ जनसंख्याले भ्याक्सिन पाउने छन्।
सरकारले ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउनका लागि ४८ अर्व रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। भ्याक्सिन दुई डोज लगाउनु पर्ने छ।
नेपालमा पहिलो चरणमा विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्थाहरु मिलेर बनेको कोभ्याक्स फ्यासिलिटी मार्फत २० प्रतिशत जनतालाई पुग्ने भ्याक्सिन आउने बताइएको छ।
तर विविध कारण नि:शुल्क उपलब्ध गराउने भनेको कोभ्याक्स फ्यासिलिटीको खोप आउन ढिला हुने भएमा त्यो भन्दा पहिला २० प्रतिशत भ्याक्सिन सरकार आफैंले खरिद गर्ने निर्णय भएको छ।
कोभिड भ्याक्सिन व्यवस्थापन सचिवालयका अनुसार कोभ्याक्सको भ्याक्सिन आउन समय लाग्ने देखिएकोले त्यो भन्दा पहिला नै जोखिममा रहेका नेपाली नागरिकलाई भ्याक्सिन उपलब्ध गराउन कोभ्याक्सको भ्याक्सिन कुरेर नबस्ने निर्णय भएको हो।