काठमाडौं- कोभिडविरुद्धको खोप पर्याप्त नहुँदा देशका विभिन्न स्थानमा खोप अभियान प्रभावित हुन थालेको छ। खोपका लागि तय गरिएको लक्षित समुह अनुसार पर्याप्त खोप नहुँदा कतिपय स्थानमा खोप अभियान नै रोकिएको छ।
नेपालमा अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको सेरम इन्स्टिच्यूट अफ भारतले उत्पादन गरेको कोभिसिल्ड खोपको प्रयोग भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २३ गते देखि दोस्रो प्राथमिकतामा परेकाहरुका लागि खोप अभियान संचालन गरिरहेको छ। यो अभियानमा अहिले ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने काम भइरहेको छ। चैत ४ गतेदेखि ५५ देखि ६४ वर्षसम्मका लागि खोप अभियान चलाइने बताइएको छ। तर खोप अभाव हुँदा उक्त कार्यक्रम नै प्रभावित हुने सम्भावना बढेर गएको छ।
मन्त्रालयले ६५ वर्षभन्दा माथिका १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको भएपनि सबै स्थानमा सोही अनुसार खोप भने पुगेको छैन। केही स्थानमा खोपको कमिका कारण अभियान रोकिएको स्वास्थ्य मन्त्रालयका कर्मचारीले बताएका छन्। खोप अभियानमा ६५ वर्षमाथिका नागरिकको सहभागिता उत्साहजनक देखिएका कारण यो अभियान अन्तर्गत १७ लाख भन्दा बढी नागरिक आउन सक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप अभाव भएका स्थानमा खोप पुर्याउने कार्य भइरहेको जानकारी दिए।
उनले भने,‘खोप केन्द्रहरु बढी भएकाले हामीले पठाएको खोप कतिपय स्थानमा अपुग देखिएको छ। जहाँ अपुग छ त्यहाँ छिट्टै नै खोप पुर्याउँदै छौँ। बढी भएका स्थानबाट अपुग भएका स्थानमा पुर्याउन पनि पहल भइरहेको छ।’ उनले कतिपय स्थानमा अनुमान गरिएको भन्दा बढी खोप लगाउने संख्या भएकाले पनि अपुग भएको बताए।
मन्त्रालयले खरीद गरेको २० लाख डोज खोप मध्ये भारतबाट हालसम्म १० लाख डोज खोप मात्र आएको छ। भारतीय कम्पनीले २० लाख डोजका लागि अग्रिम रकम भने लिइसकेको छ। तर, बाँकी रहेको १० लाख डोज खोप भने कहिले आउँछ भन्ने अझै टुंगो लागिसकेको छैन।
यसबाहेक कोभ्याक्स फ्यासिलिटिमार्फत आउने भनिएको खोप पनि आएको छैन। कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजारमा मात्र खोप पठाएको छ। यसअघि कोभ्याक्सबाट झण्डै २० लाख डोज खोप आउने अनुमान गरिएको थियो।
भारतले सुरुमा अनुदान स्वरुप दिएको १० लाख डोज खोपमध्ये पहिलो चरणको अभियानमा ४ लाख ३८ हजार ८ सय ७९ खोप लगाइएको थियो। त्यसपछि मन्त्रालयसँग ५ लाख ६१ हजार १ सय २१ डोज खोप बाँकी थियो।
नेपालमा नेपालले आफैं खरिद गरेको १० लाख, भारतले सहयोग स्वरुप दिएको १० लाख र कोभ्याक्सबाट आएको ३ लाख ४८ हजार डोज गरी २३ लाख ४८ हजार डोज खोप थियो।
पहिलो र अहिले चलिरहेको अभियान गरि बिहीबार साँझ ७ बजेसम्म १३ लाख ४९ हजार ८ सय ८८ जनाले खोपको पलिहो मात्रा लगाइसकेका छन्। यो अभियानका क्रममा कति खोप खेर गयो भन्ने तथ्यांक भने आइसकेको छैन। अभियान अन्तर्गत १ प्रतिशत भन्दा कम खोप खेर गएको हुनसक्ने अनुमान गरिएको छ। अर्थात करिब १० हजार डोज खोप खेर गएको अनुमान स्वास्थ्य मन्त्रालयको छ।
अब सरकारसँग ९ लाख ८८ हजार १ सय १२ डोज खोप मात्र बाँकी छ। जसमध्ये टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा कोभ्याक्सले दिएको ३ लाख ४८ हजार डोज खोप मात्र छ। अन्य खोपहरु प्रदेश र खोप केन्द्रमा गइसकेका छन्। केन्द्रीय भण्डारमा रहेको खोप पनि जिल्लाबाट माग हुन थालेपछि छिट्टै वितरण र ढुवानी गरिने बताइएको छ।
अहिले चलिरहेको खोप अभियानमा ६५ वर्षमाथिका १७ लाखलाई खोप लगाउने लक्ष्य छ। जसमध्ये बिहीबार साँझ ७ बजेसम्म ९ लाख ११ हजार ९ जनाले खोप लगाइसकेका छन्। लक्ष्य अनुसार अझै ७ लाख ८८ हजार ९ सय ९१ जनालाई खोप लगाउन बाँकी छ।
‘खोप खेर नजाने र अनुमान अनुसार ६५ वर्षभन्दा माथिका १७ लाख नागरिकले खोप लगाउने हो भने त्यो उमेर समूहका लागि त खोप पुग्ने देखिन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘तर हामीले यो अभियानमा ५५ देखि ६४ वर्षमाथिका नागरिकलाई पनि खोप लगाउने भनेका थियौँ। अब खोप आएन भने उक्त उमेर समूका लागि खोप अभियान चलाउने केही समय पर्खनु पर्ने देखिन्छ।’
उनका अनुसार समयमा नै खोप नआउने हो भने पहिला खोप लगाएका नागरिकले दोस्रो डोज खोप लगाउन पनि ढिलाई हुने खतरा बढेको छ।
मन्त्रालयले सेरम इन्ट्च्यिुटबाट नै थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ। तर, उक्त खोप खरिदमा १० प्रतिसत कमिसनको कुरा उठेपछि खरिद प्रक्रिया अन्यौल बन्न पुगेको छ।