काठमाडौं– आइतबार दिउँसो वीर अस्पतालको आकिस्मक कक्ष बाहिर स्वास्थ्यखबरको टोली पुग्दा कोभिड बिरामीको रुवाबासी थियो।
‘भित्र ५,६ वटा शब जम्मा भइसक्यो, उनीहरुकै आफन्त बाहिर रोहिरहेका छन्,’ ड्युटी सकेर अस्पतालबाट निस्किदै गर्दा एकजना स्वास्थ्यकर्मीले सुनाए।
नाम नबताउने सर्तमा उनले भने, ‘बिरामी अक्सिजन दिनुस् न सर भन्छन्, अस्पतालमा न बेड छ न अक्सिजन। अवस्था धेरै भयावह भइसक्यो।’
आकस्मिक कक्ष बाहिरको गेटमै एउटा एम्बुलेन्स रोकेर राखिएको थियो।
एम्बुलेन्स भित्र अक्सिजन सपोर्टमा एकजना कोरोना संक्रमित थिए।
ती संक्रमितका आफन्त अस्पताल परिसरमा नै फोन मार्फत अस्पतालहरुमा बेड खोज्दै थिए।
‘एकघण्टा भएको यहाँ ल्याएको आकस्मिक कक्षमा ठाउँ नै छैन भन्छन्,’ ती बिरामीका एक आफन्तले भने, ‘बिरामीलाई एम्बुलेन्समै अक्सिजन दिएर राखेका छौं, खै कहाँ पाइएला बेड?’
‘सरकारले त वीर अस्पतालको नयाँ भवन तत्काल सञ्चालन गर्ने भनेको सुनिएको थियो, यहाँ त बेड नै छैन रहेछ,’ बिरामीका अर्का एक आफन्तले गुनासो गरे, ‘सरकारले भन्ने मात्र रहेछ, अस्पतालमा बिरामीलाई बेड छैन।’
धेरै समय यता उता फोन गरेपनि उनीहरुलाई कसैले ट्रमा सेन्टरमा लैजान सुझाए। एम्बुलेन्स फर्काएर उनीहरु बेड खोज्दै ट्रमा सेन्टरतिर लागे।
वीर अस्पतालको आकस्मिक कक्षमा संक्रमितको चाप बढेपछि स्वास्थ्य मन्त्रालयले वीर अस्पताल परिसरमै रहेको ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गर्यो। २ सय शय्या क्षमताको ट्रमामा ननकोभिडका ६४ बिरामी रहेका कारण उनीहरुको व्यवस्थापनको काम अझै सकिएको छैन।
शनिबार मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरसको युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गर्यो।
सरकारले तत्कालै ५०० शय्याको कोरोना युनिफाइड अस्पताल बनाउने निर्णय गरेपनि वीर अस्पतालको नयाँ भवन भने अझै सञ्चालनमा आएको छैन।
अस्पतालकी निमित्त निर्देशक प्राडा शान्ता कँडेल सापकोटाले अक्सिजन अभाव भएकाले अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितको उपचार सुरु गर्न नपाएको बताइन्।
‘हामीले आइतबारदेखि नै सञ्चालन गर्ने तयारी गरेका थियौं, तर अक्सिजनको समस्याले गर्दा सञ्चालन गर्न सकिएन,’ उनले भनिन्, ‘अक्सिजनको व्यवस्था भयो भने मात्र पहिलो चरणमा १०० बेड सञ्चालनमा ल्याउने योजनामा छौं।’
उनका अनुसार सरकारले निर्णय गरेअनुसार तत्काल ५०० बेड सञ्चालन गर्न सम्भव नभएको उनको भनाई छ।
‘कोरोना संक्रमितको उपचारमा अक्सिजनको जरुरत हुन्छ, यो भवनमा अक्सिजनको स्रोतको सुनिश्चितता नभई ५०० बेड सञ्चालनमा ल्याउन सक्दैनौं,’ प्राडा सापकोटाले भनिन्, ‘अक्सिजन भयो भने अरु समस्या हुने थिएन, अक्सिजन नै नभई त कसरी सञ्चालन गर्नु?’
प्राडा सापकोटाका अनुसार वीर अस्पतालमा सुरुवाती अवस्थामा ८ वटा आइसियु र १६ वटा वार्ड संक्रमितका लागि व्यवस्थापन गरिएको थियो।
हाल १३९ जना कोरोना संक्रमित वार्डमा भर्ना भएर उपचाररत रहेको उनको भनाइ छ। यस्तै आइसियु र आकस्मिक सेवा कक्षमा पनि कोरोना संक्रमति उपचाररत रहेको उनको भनाइ छ।
नयाँ भवनमा भने अझै शय्या व्यवस्थापनको काम भइरहेको छ।
कोरोना संक्रमित बढ्दै जाँदा नयाँ भवन सञ्चालनमा नआएकाले बिरामीको चाप थेग्न नसक्ने अवस्था रहेको उनले बताइन्।
वीर अस्पतालको नयाँ भवन पूर्ण रुपमा सञ्चालनमा आएमा करिब ७०० कोरोना संक्रमितको उपचार गर्न सकिने उनको भनाइ छ।
तर त्यसको लागि स्वास्थ्य मन्त्रालयले पर्याप्त अक्सिजनको व्यवस्थापन गर्नुपर्ने प्राडा सापकोटाले बताइन्।
वीर अस्पतालमा आकिस्मक सेवा विभाग साँगुरो भएको र कोभिड ननकोभिड दुवै किसिमका बिरामी आउन थालेकाले सोमबारदेखि वीरको आकस्मिकमा आउने कोरोना संक्रमितलाई ट्रमा सेन्टरमा आकस्मिक सेवा दिने व्यवस्था गरिएको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा अच्यूत कार्कीले जानकारी दिए।
उनका अनुसार ट्रमा सेन्टरको ननकोभिड बिरामीलाई वीर अस्पतालको पुरानो भवनमा सारेर ट्रमा सेन्टरमा नै कोरोना संक्रमितका लागि थप ५० शय्याको व्यवस्थापन समेत गरिएको छ।
तर, वीर अस्पतालको नयाँ भवन भने सोमबारसम्म पनि सञ्चालनमा आउन नसक्ने उनले बताए।
उनले भने, ‘अक्सिजन नै छैन, सोमबार पनि नयाँ भवनमा कोरोना संक्रमितको उपचार सुरु हुने देखिदैन।’
भिडियो र तस्बिर : निकेष जंग राई