आज अन्तराष्ट्रिय नर्सिङ दिवस। आजको दिनलाई विश्वभरीका नर्सहरुले नर्सिङ 'डे' को रुपमा मनाउने गर्दछन्। यो आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन हो र उनलाई क्रिमियन युद्धकी नायिका भनेर पनि चिनिन्छ।
उनले नर्सिङ सेवाप्रति गरेको योगदानलाई कदर गर्दै आजको दिनलाई नर्सिङ दिवसको रुपमा मनाइएको हो। हरेक वर्ष यो दिन छुट्टाछुट्टै नारा लिएर मनाइन्छ। यो वर्ष ‘भावी स्वास्थ्य सेवामा नवीन दृष्टिकोण’ भन्ने नारा लिएर मनाइदै छ।
विश्वको स्वास्थ्य जनशक्तिको आधा भन्दा बढी क्षेत्र ओगटेको यस पेशाले स्वास्थ्यको सबै क्षेत्रमा सेवा पुर्याइरहेको देखिन्छ। नेपाल जस्ता बिकासोन्मुख देशहरुको परिप्रेक्षमा स्वास्थ्य एउटा आधारभूत नैसर्गिक अधिकार हुदाँहुदै पनि आधाभन्दा बढी जनताले आधारभूत स्वास्थ्य सेवा पूर्णरुपमा प्राप्त गर्न सकेका छैनन्। साथै, हाल प्रदान गरिएका स्वास्थ्य सेवाले भबिष्यमा आउसक्ने चुनौतिलाई समाधान गर्न सक्ने देखिदैंन।
यसलाई परिमार्जन गर्नुपर्ने देखिन्छ। स्वस्थ जनशक्ति र स्वस्थ जनता नै सामाजिक न्याय र आर्थिक समृद्घिका संवाहक हुन्। त्यसैले सामाजिक र आर्थिक समृद्घिका लागि कुनै पनि राष्ट्रले नर्सिङ्ग क्षेत्रमा सुधार गनुपर्ने देखिन्छ।
मानिसहरुलाई जीवनका कष्टपुर्ण क्षणहरुमा स्वस्थ राख्न नर्सहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् भन्ने तथ्य कोभिड–१९ को विश्वमहामारीले देखाई सकेको छ। यस महामारीले धनी गरीब हरेक राष्ट्रको स्वास्थ्य सेवा प्रणालीको कमी कमजोरीलाई उदाङ्गो पारेको छ। जब पुरानो स्वास्थ्य सेवा प्रणाली पूर्णरुपमा ध्वस्त हुन्छ, त्यतिबेला महत्वपूर्ण नयाँ प्रकारको स्वास्थ्य प्रणालीको विकास सुरु हुन्छ र यसले स्वास्थ्य सेवा प्रणालीलाई नयाँ मोड दिन्छ। अन्तराष्ट्रिय नर्सिङ दिवस २०२१ ले अबको कोरोना पछिको अवस्थामा नर्सिङ पेशामा परिवर्तन कस्तो खोज्ने भन्ने कुरामा जोड दिन्छ।
सन् २०२१ डिसेम्बर ३१ सम्ममा १ दशमलत्र ६ मिलियन स्वास्थ्यकर्मीहरु ३४ देशमा मात्र संक्रमित भइसकेका छन्। २०२१ जनवरी ३१ सम्ममा ५९ देशका २७१० नर्सहरुले कोभिडका कारणले मृत्युवरण गरिसकेका छन्। धेरै देशहरुमा स्वास्थ्यकर्मीहरुको संक्रमणको प्रतिशतमा ४१ प्रतिशत नर्सहरुको रहेको छ। कोभिडमा काम गर्ने नर्सहरुको तनाब र चिन्ता हेर्ने हो भने अन्तराष्ट्रिय नर्सिङ संघ ९आइसीएन० ले प्राप्त गरेको रिर्पोट अनुसार ८० प्रतिशतले मानसिक चिन्ता रहेको बताएका छन्। रिर्पोटले बताए अनुसार मानसिक तनाब र चिन्ताको कारण ठाँउ अनुसार फरक फरक पाइएको छ। जसमा अपर्याप्त व्यक्तिगत सुरक्षा कवच ९पीपीई०, आफूबाट भाइरस सर्ने होकि भन्ने त्रास, कामको बोझ, परिवार र समाजबाट हुने दुव्र्यवहार, सामाजिक बहिष्कार आदि छन्।
विश्वका हरेका ६ जना नर्समा एकजना अबको दश वर्षमा अनिवार्य अवकाश हुँदैछन। त्यसको अर्थ उक्त अवधिमा उमेरका कारणले करीब ४ दशमलब ७ मिलियन नर्सको आवश्यकता पर्नजाने देखिन्छ। अन्तराष्ट्रिय नर्सिङ संघले देखाएको रिर्पोट अनुसार नर्सिङ जनशक्तिको उमेरका कारणले र कोभिड – १९ को असरले गर्दा निकट भविष्यमा १३ मिलियन नर्सको विश्वमा आवश्यकता पर्ने छ तर यसको ठिक बिपरित नर्सहरुकोे अत्याधिक कार्यभार, अपर्याप्त साधन श्रोत, मानसिक नैराश्यता र कोभिड – १९ का कारणले गर्दा विकसित देशहरुमा समेत आफ्नो पेशा छोडिरहेका छन्।
नेपालको परिप्रेक्षमा महामारीसँग लड्नका लागि प्रशस्त स्वास्थ्यकर्मीको खाँचो छ। सरकारको तथ्यांक अनुसार झण्डै ३ करोड जनसंख्या भएको नेपालमा कोभिड महामारी शुरु हुनुभन्दा पहिले देखि हाल सम्म नै मेडिकल डाक्टर, नर्स तथा पारामेडिकलको कमी रहिआएको छ। त्यसैगरी सघन उपचारको लागि बेडहरु १ हजार २४९ र स्वावप्रस्वासको लागि भेन्टिलेटरहरु ५२६ संख्यामा देखिएको छ जुन अत्यन्त सिमित मात्रामा हो। त्यसैले गर्दा सघन उपचार र बेडको खोजीमा कतिपय बिरामीहरुले एम्बुलेन्समै मृत्युवरण गर्नुपरेको छ।
सन् २०१० को आँकडाले जनसंख्याको २५ दशमलव २ प्रतिशत नेपाली गरीबीको रेखामुनि रहेको देखाएको छ। कोभिड– १९ सँग सम्बन्धित क्षतिले यस्ता गरीब, जोखिम जनसंख्यालाई मुख्यतया असर गरेको छ र उनीहरुको दैनिक रोजीरोटी गुमेको छ।
दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरुको दिनचर्या अझ कष्टकर बन्दै गएको छ। सरकारले यस्ता व्यक्तिहरुका लागि स्वास्थ्य सेवा निशुल्क गरेपनि पहुँचमा छैन। कोभिड– १९ को महामारीमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनु निकै नै कठिन छ। गरीबी, अशिक्षा, भौतिक संरचनाको कमी, स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति चासो, झन्झटिलो स्वास्थ्य बीमा, विकट भौगोलिक स्थिति, यातायातको असुविधा, धर्म–संस्कृति, राजनीति आदि सबैले स्वास्थ्य सेवाको पहुँचमा नकारात्मक असर पुगेको छ।
कोभिड– १९ को विषम कारणले बाल मृत्युदर, मातृ मृत्युदरलाई पनि अझ बढाएको छ। त्यसैगरी नसर्ने रोगहरु जस्तै, मधुमेह, मस्तिष्कश्राव, मुटुका रोगहरु, हृदयघात, क्यान्सर जस्ता रोगहरुको समयमा उपचार हुन नसकेर मृत्युदर अझ बढेको छ।
यस्तो विषम परिस्थितिमा स्वास्थ्य सेवा सुविधाहरुलाई दुरदराज सम्म विकेन्द्रित गर्नुपर्दछ। देशका विभिन्न ठाउँमा नयाँ किसिमको साधन श्रोत सहितको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको विकास हुनुपर्दछ। भइरहेका सरकारी अस्पतालका गुणस्तर तथा स्थितिलाई सुधार गर्नुपर्छ। स्वास्थ्य सेवा निशुल्क वा न्युनतम मुल्यमा उपलब्ध गराउनु पर्दछ।
स्वास्थ्य शिक्षालाई विकास गर्दै गुणस्तरीय जनशक्ति तयार गरी उनीहरुलाई उपयुक्त तलव, सुरक्षा र सुविधाहरु उपलब्ध गराउनुपर्दछ। निजी अस्पताल तथा शिक्षण संस्थामा कार्य गर्ने क्लिनिकल नर्सिङ जनशक्ति र शिक्षकहरुलाई पनि कम्तिमा सरकारी सरह तलब र सुबिधाहरु दिनु पर्दछ। कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति हुनु पर्दछ।
सरकारको नीति नियमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्दछ तर यिनै कुराहरु अहिलेका मुख्य चुनौतीका रुपमा रहेका छन्। यस चुनौतीको समाधानका लागि स्वास्थ्य सेवा प्रणालीलाई सक्षम र आर्थिक रुपमा अब्बल बनाउनु पर्ने हुन्छ। सरकारी र निजी स्वास्थ्य संस्थाहरुलाई सहकार्य गराउँदै मानव संसाधन र श्रोतहरुको सही योजना तर्जुमा गर्नु पर्ने हुन्छ। केन्द्रदेखि गाउँसम्म तथा संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा राम्रो सहकार्य गर्नु पर्ने हुन्छ। यी सबैकार्यको लागि राजनैतिक प्रतिवद्धता अत्यन्तै अपरिहार्य र निरन्तर हुनुपर्ने देखिन्छ।
कोभिड– १९ को महामारीमा स्वास्थ्यकर्मीहरु नै बिरामीहरुका आशाका केन्द्रविन्दु हुन्। स्वास्थ्यकर्मीहरु अस्पताल तथा प्रयोगशालामा प्रत्यक्ष बिरामीहरुसँग काम गर्ने भएकोले उनीहरुको आफ्नै जीवन उच्च जोखिममा छ। साथै कोभिड– १९ कै कारणले धेरै डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुको विश्वमा मृत्यु भइसकेको छ।
स्वास्थ्यकर्मीहरु अरु बेलाभन्दा लामो समय काम गर्नुपर्ने, अझ त्यसमा पनि सुरक्षाका सामाग्रीहरुको अभाव, अनियमित खानपिन, दिशापिसाब तथा सरसफाई गर्ने समय सम्म नराखि काम गर्नुपर्ने भएकोले शारीरिक सास्ती पनि त्यतिकै छ। आफ्नो परिवारसँग सधै छुट्टिएर बस्नुपर्दाको पीडा छुट्टै छ। त्यतिमात्रै होइन डाक्टर, नर्सहरुले सम्बन्धित हस्पिटलहरुको व्यवस्थापन तथा सुरक्षा कवज र प्रोत्साहनको बारेमा आवाज निकाल्न खोजेमा उल्टै जागिर जाने धम्की समेत आउँछ।
एकातिर बिरामीहरुलाई आवश्यक सघन उपचार सेवा, भेन्टिलेटर उपलब्ध गराउन नसक्दाको पिडा छ भने अर्कोतर्फ आफूले चाहेर पनि बचाँउन नसकेका कोभिडका बिरामीहरुलाई देखेर उनीहरु आफैँ निराश बन्दैछन्। यसले गर्दा स्वास्थ्यकर्मीहरु मानसिक रुपमा दिन प्रतिदिन पिडित हुँदै गईरहेका छन्। युद्धको बेला सिपाहीहरुको जस्तै उनीहरुका पिडाले गर्दा डिप्रेसन, मानसिक समस्याहरु बढिरहेका छन्।
विकसित देशहरुमा डाक्टर, नर्सहरुलाई उत्प्रेरणाको लागि, हौसलाको लागि बरण्डामा निस्किएर थपडी बजाउने, गीत गाउने र उनीहरुलाई धन्यवाद भन्ने गरेका छन् भने नेपालमा त स्वास्थ्यकर्मीहरुलाई सामाजिक बहिष्कार गर्ने, घरभाडाबाट निकाल्ने र उनीहरुलाई शारीरिक तथा मानसिक तनाब दिइएको समेत देखिएको छ।
घरभाडामा बस्ने डाक्टर, नर्सहरुलाई संक्रमण सारेको आरोपमा घरबाट निकाल्ने, तल्लो स्तरको गाली गलौज गर्ने समेत देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ३८ प्रतिशत स्वास्थ्यकर्मीहरु विश्वमा शारीरिक तथा मानसिक यातनाबाट कार्यक्षेत्रमा पिडित भएका छन्।
विभिन्न अनुसन्धानहरुले स्वास्थ्यकर्मीहरुमा यो महामारीमा काम गर्दा मानसिक समस्याहरु देखिएको छ त्यसैले अहिलेको आवश्यकता भनेको स्वास्थ्यकर्मीहरुको मानसिक स्वास्थ्यको संरक्षण गर्नु पनि रहेको छ जसले गर्दा उनीहरु अझ प्रभावकारी ढंगले काम गर्न सकुन्।
स्वास्थ्यकर्मीहरुलाई सुरक्षित तवरले प्रभावकारी सेवा पुर्याउन राज्यले तथा अस्पतालहरुले पर्याप्त सुरक्षा उपकरण, प्रोत्साहनका सुविधाहरु तथा जीवन बीमाका सुविधाहरु प्रदान गर्न आवश्यक छ। साथै विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिने, पर्याप्त सुरक्षा सामाग्रीहरु उपलब्ध गराउने, मनोवैज्ञानिक परामर्श बेलाबेलामा दिने, नियमित रुपमा हस्पिटलमा अनुगमन गर्ने, तथ्यांक अध्यावधिक गर्ने र हरेक स्वास्थ्य सेवा प्रणालीमा केही न केही कमी हुनसक्छ भन्ने कुरालाई पहिचान गर्ने, समाधानका उपायहरुमा स्वाथ्यकर्मीहरुलाई सम्मानजनक व्यवहार गर्ने, समाजमा जनचेतनामूलक कार्यक्रमहरु गर्ने, स्वास्थ्यकर्मीहरुमा आत्मविश्वास बढाउने, राम्रो संचार क्षमता अभिवृद्धि गर्ने, प्रदेश सरकार, स्थानिय सरकार, नागरिक समाजका माध्यमबाट जनचेतना जगाउने जस्ता कार्यहरु गर्नुपर्ने हुन्छ।
साथै, अस्पताल व्यवस्थापक, निर्देशक, नर्सिङ प्रशासकहरुले आफ्नो स्टाफको मानसिक स्वास्थ्यलाई ध्यान दिने, उनीहरुको भोगाइहरुलाई राम्रोसँग सुनिदिने र समाधानका उपायहरु दिने, प्रोत्साहन गर्ने, मानसिक सन्तुष्टिको वातावरण सृजना गर्नुपर्ने हुन्छ।
यस्तो महामारीको विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरु मात्र खटेर पुग्दैन। स्वास्थ्य भनेको बहुआयामिक क्षेत्र भएको हुनाले सबैले एकजुट हुन आवश्यक छ। नियन्त्रण बाहिर हुन लागेको यो कोभिड – १९ को ताण्डवलाई परास्त गर्न तीनै तहका सरकार राजनैतिक खिचातानी र स्वार्थमा नलागि सबै एकजुट भई यो संकटको क्षणमा आफ्नो आफ्नो क्षेत्रबाट योगदान गर्न आवश्यक छ। यस महामारी विरुद्घ लड्ने नायक नायिकाहरु काल्पनिक चलचित्रका नायक नायिका नभएर स्वास्थ्यकर्मीहरु हुन। यस विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुलाई सम्मान र सहयोग गर्दै र उनीहरुको मनोबल उच्च पार्दै अगाडि बढ्नु पर्ने हुन्छ। सरकारी तथा निजी अस्पतालहरु सबै मिलेर एकजुट भई कार्य गरौं। सम्पूर्ण बेथिति, डाक्टर र नर्समाथि नथोपारौं। अन्याय, असन्तुष्टि र राजनैतिक भागवण्डाको हिसाब पछि गरौंला, अहिले युद्धस्तरमा काम गर्ने बेला हो। सबैको ध्यान एकत्रित हुन आवश्यक छ।
यस विषम परिस्थितिले स्वास्थ्य सेवा प्रणालीलाई व्यापक सुधार गर्ने अवसर दिएको छ। विगत एक बर्ष देखि यो कोभिड महामारीको विषम स्थितिमा उच्च जोखिम मोल्दै अहोरात्र खटिनु भएका नर्सिङ प्रशासकहरु, नर्सिङ अधिकृतहरु तथा नर्सिङ स्टाफहरु प्रति उच्च सम्मान गरौं।
देश भित्रमात्र नभएर संसारभर छरिएर रहेका नेपाली नर्सहरुको पनि सहयोग र साथ अतुलनिय रहेको छ। नेपाल भित्र रहेका नर्सिङ संघ तथा नर्र्सिङ महाशाखाले नर्र्सिङका हकअधिकारको अझ बढी संरक्षण गर्दै नर्सिङलाई मर्यादित पेशाको रुपमा स्थापित गर्न सकुन। अन्तराष्ट्रिय नर्सिङ दिवस मे १२ को सबैमा शुभकामना छ।
(भण्डारी त्रिभुवन विश्वविद्यालय विराटनगर नर्सिङ क्याम्पस प्रमुख हुन्)