काठमाडौं- सरकारले कोरोना महामारीका कारण सिकिस्त बिरामी बढेपछि हरेक सय बेडको अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको छ।
सरकारी मात्र होइन निजी अस्पतालमा पनि अक्सिजन प्लान्ट जडानका लागि सहुलियत दिने, भन्सार छुट गर्ने लगायतको निर्णय सरकारले गरेको छ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमणले सिकिस्त भएका अधिकांश संक्रमितलाई अक्सिजनको आवश्यकता परेको छ। मध्य वैशाखमा अक्सिजन अभावका कारण धेरै कोभिड अस्पतालमा संक्रमितको निधन भएको अस्पतालले समेत पुष्टि गरेका थिए।
उक्त घटनापछि स्वास्थ्य मन्त्रालय सबै सय बेडभन्दा माथिका अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन समेत दिएको थियो।
आगामीको वर्षको बजेटमा समेत सरकारी अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ।
एक सय बेडभन्दा माथिका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट बनाउने निर्णय भएपनि केही स्थानीय तह तथा साना अस्पतालले पनि प्लान्ट जडान गर्न बजेट माग्ने गरेका छन्।
यसरी हरेक अस्पतालपिच्छे अक्सिजन प्लान्ट जडान गर्न व्यावहारिक छ, कि त्यसको अन्य विकल्प छन्? स्वास्थ्य मन्त्रालयमा पनि यो विषयमा मत बाँडिएको छ। मन्त्रायका एक कर्मचारी भन्छन्,‘अस्पताल पिच्छे अक्सिजन प्लान्ट जडान गर्नभन्दा अस्पतालबाहिर १५, २० वटा ठूला प्लान्ट जडान गर्ने हो भने बढी व्यवहारीक देखिन्छ। यसको व्यवस्थापनमा बढी खर्च हुने हुनाले हरेक अस्पतालमा बनाउन यति व्यावहारिक देखिन्न।’
अहिले कोरोनाका कारण बढी माग भएको हो तर कोरोनापछि सबै अस्पतालमा अहिलेभन्दा धेरै कम मात्र अक्सिजन खपत हुने हुनाले यसको दीर्घकालीन व्यवस्थापनमा समस्या देखिने उनले बताए।
‘जिल्ला, प्रदेशका अस्पतालमा कोरोना अघि दैनिक ५० वटा अक्सिजन खपत हुन्थ्यो भने अब उक्त अस्पतालमा २०० सिलिण्डिर भर्न मिल्ने प्लान्ट जडान गर्नु कति व्यावहारिक होला? बरु त्यो जिल्लामा ठूलो एउटा मात्र प्लान्ट जडान गर्दा बढी सहज हुन्थ्यो,’ एक अस्पतालका निर्देशकले भने।
पछिल्लो समय अक्सिजन प्लान्ट जडान गर्ने होडबाजी नै चलेको बताउँदै लुम्बिनी प्रदेशका एक चिकित्सकले भने, ‘यहाँ कोभिड आइसोलेसनमा समेत अक्सिजन प्लान्ट जडान गर्ने भन्दै पालिकाले बजेट छुट्याएका छन्। केही नबुझी खोप खरीद गर्ने भनिरहेका छन्। संघले कतै स्वास्थ्य संरचना बढाउने चर्चा गर्दै गर्दा पालिकामा गलत सन्देश प्रवाह गरेको त छैन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल पनि अक्सिजन जडान गर्दा दीर्घकालीन व्यवस्थापनबारे सोच्नुपर्ने बताउँछन्।
उनले भने,‘अहिले लहडमा सबै आइसोलेसनहरुले पनि अक्सिजन जडान गर्ने भन्ने कुरा त्यति व्यावहारिक हुँदैन। अक्सिजन प्लान्ट अस्पतालमा पछि पनि चाहिन्छ। दीर्घकालीन रुपमा समेत सोचेर जिल्लाहरुमा वैकल्पिक उपाय समेत अपनाउन सकिन्छ।’
उनले अक्सिजन प्लान्ट जडानभन्दा त्यसको व्यवस्थापन गर्ने कुरा महंगो भएकोले सबै जिल्लाहरुले जिल्लाको आवश्यक, व्यवस्थापन लगायतका कुरामा विचार गर्न सुझाए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ५८ अस्पतालमा अक्सिजन प्लान्ट जडान छन्। तीमध्ये कतिपय अस्पतालका प्लान्ट बिग्रिएका छन्।
कोरोना महामारीको जोखिम नसकिएको र वैज्ञानिकहरुले थप लहर आउने चेतावनी दिइरहेका समय अक्सिजन प्लान्ट जडान गर्ने सरकारात्मक विषय भएपछि सबै अस्पतालमा आवश्यकता भए/नभएको र त्यसको व्यवस्थापन र जनशक्तिबारे भने सोच्नुपर्ने देखिन्छ।
देशभरका ५८ अस्पतालमा ६१ वटा आफ्नै अक्सिजन प्लान्ट रहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नोबेल मेडिकल कलेज, विराटनगरको २ वटा, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २ वटा र धुलिखेल अस्पतालसँग २ र अन्य अस्पतालमा एक/एक वटा अक्सिजन प्लान्ट छ।
जसबाट दैनिक २ हजार ५ सय ४९ सिलिण्डर बढी उत्पादन गर्न सक्ने क्षमता रहेको सहप्रवक्ता अधिकारीले बताए।अन्य सय बेडका सरकारी र निजी अस्पतालहरुले भने अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाइरहेका छन्।
आफ्नै अक्सिजन प्लान्ट भएका अस्पतालहरु (प्रदेश अनुसार)
प्रदेश १
१. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
२. नोबेल मेडिकल कलेज, विराटनगर
३.न्यूरो अस्पताल विराटनगर
४.आरके चिल्ड्रेन हस्पिटल विराटनगर
५.बिएण्डसी हस्पिटल, झापा
६.मनमोहन हस्पिटल, विर्तामोड
७.ओखलढुंगा कम्युनिटी हस्पिटल,
प्रदेश २
१.लहान अस्पताल, सिरहा
२.नेशनल मेडिकल कलेज, वीरगन्ज
३.सिरहा जिल्ला अस्पताल, सिरहा
बागमती
१.सिन्धुली अस्पताल
२.भरतपुर अस्पताल
३.पर्वत अस्पताल
४. नुवाकोट अस्पताल
५.चितवन मेडिकल कलेज
६.सिभिल सर्भिस हस्पिटल
७.शहीद गंगालाल अस्पताल
८. नेपाल एपिएफ अस्पताल
९.त्रिवि शिक्षण अस्पताल
१०.मनमोहन कार्डियो भास्कुलर
११.ह्याम्स हस्पताल
१२. मनमोहन ममोरियल अस्पताल
१३ परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल
१४.धुलिखेल अस्पताल
गण्डकी प्रदेश
१. बेनी अस्पताल
२.मणिपाल अस्पताल
३. फेवाताल अस्पताल, पोखरा
४.फिस्टेल अस्पताल
५.गण्डकी मेडिकल कलेज
६.मुस्ताङ अस्पताल
७.मातृशिशु मैत्री अस्पताल
८. स्याङजा अस्पताल
९.धौलागिरी अस्पताल
१०.गोरखा जिल्ला अस्पताल
११.जिल्ला अस्पताल लमजुङ
१२.मध्यविन्दु जिल्ला अस्पताल
१३. पर्वत अस्पताल
लुम्बिनी प्रदेश
१. लुम्बिनी मेडिकल कलेज
२.लुम्बिनी प्रदेश अस्पताल
३.युनाइटेड मिसन अस्पताल
४.अस्पताल बुद्ध हेल्थ सेन्टर
५.युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज
६.भेरी अस्पताल
७नेपालगन्ज मेडिकल कलेज, कोहलपुर
८.नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज
९.राप्ति अस्पताल
कर्णाली प्रदेश
१. सुर्खेत अस्पताल
२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
सुदुरपश्चिम प्रदेश
१.सेती अस्पताल
२.महाकारी अस्पताल
३. डडेलधुरा अस्पताल