काठमाडौं - धूम्रपान गर्ने व्यक्तिमा कोरोनाले गम्भीरता निम्त्याउने जोखिम अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुने पाइएको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको सुर्तिजन्य पदार्थको सेवनका कारण बढ्दो नसर्ने रोग र कोभिड-१९ सम्बन्धी अन्तरक्रियामा परिषदका अनुसन्धान शाखा प्रमुख मेघनाथ धिमालले धूम्रपान गर्ने व्यक्तिमा कोरोनाले गम्भीरता निम्त्याउने जोखिम दुई गुणा बढी हुने बताए।
धूम्रपान गर्ने व्यक्तिलाई कोरोना भए भेन्टिलेटरको आवश्यक पर्ने स्थिति समेत सिर्जना हुन सक्ने उनले बताए।
तत्काल धूम्रपान त्याग्न आग्रह गर्दै उनले भने, ‘धूम्रपान गर्ने व्यक्तिहरुलाई कोरोना भए अन्य व्यक्तिको तुलनामा अवस्था गम्भीर बनाउन सक्ने जोखिम दुई गुणा बढी हुन्छ। यतिसम्म की उनीहरुलाई भेन्टिलेटरको समेत आवश्यकता पर्ने अवस्थासम्म पुग्न सक्छ।’
नसर्ने रोग भएका बिरामीहरुलाई कोरोना संक्रमणको जोखिम बढी हुने उनले बताए। सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको संख्या घट्दै गएपनि सन्तोष मान्न सकिने अवस्था नभएको उनले जानकारी दिए।
परिषदको तथ्यांक अनुसार सन् २००७ मा ३७ दशमलव १ प्रतिशत व्यक्तिले सुर्तिजन्य पदार्थको सेवन गर्थे। यो संख्या घट्दै सन् २०१३ मा ३० दशमलव ८ र २०१९ मा २८ दशमलव ९ प्रतिशतमा झरेको छ।
हाल अधिकांशले १८ वर्षको उमेरमै धूम्रपानको सेवन गर्न सुरु गर्ने गरेको पाइएको छ। नेपालमा एक व्यक्तिले आफ्नो आम्दानीको १० प्रतिशत अर्थात् एक हजार ५० रुपैयाँ धूम्रपानमा खर्च गर्ने गरेको धिमालले बताए। नेपालमा हुने कुल मृत्युको ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको परिषदले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतले ‘सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८’ संशोधन एवं परिमार्जनका लागि प्रस्ताव गरिएको जानकारी दिए। संघीय संरचना अनुसार कार्यान्वयनका लागि ऐन संशोधनका लागि प्रस्ताव गरिएको उनले बताए। उनका अनुसार सुर्तिजन्य पदार्थमा लाग्ने कर ७० प्रतिशतसम्म पुर्याउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरिएको छ।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले अन्य निकायसँगको समन्वय अभावका कारण ऐन कार्यान्वयन गर्न चुनौती भएको बताए। ऐन कार्यान्वयन भए नभएको अनुगमन कम भएको बताउँदै उनले कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने भएपनि हुन सकेको उल्लेख गरे।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ हार्ट सर्जन डा भगवान कोइरालाले एक दशकपछि बालबालिकाहरुमा नसर्ने रोगको प्रकोप सबैभन्दा बढी देखिने बताए। वंशाणुगत होस् या जीवनशैलीका कारण बच्चाहरुमा नसर्ने रोगको प्रकोप अबको १० वर्षपछि बढी देखिने उनले बताए।
५/७ लाख शिशु जन्मिदा एक प्रतिशतमा कार्डियो डिफेक्टसको समस्या देखिने गरेको उनले जानकारी दिए। यसको विभिन्न कारणमध्ये अभिभावकमा सुर्तिजन्य पदार्थको प्रयोग पनि एक रहेको उनले बताए।
'नसर्ने रोगको प्रकोप हाल बच्चाहरुमा कम छ,' उनले भने, ‘तर एक दशकपछि नसर्ने रोगको प्रकोप बच्चाहरुमा बढी देखिनेछ। आज मैले यो विषय भनिरहँदा बायस जस्तो लाग्ला तर केही वर्षपछि यसको असर देखिन थाल्छ।’
बालबालिकामा नसर्ने रोगको प्रकोप आउन नदिन सरकारले अहिलेबाट नै यसका लागि नीति तथा योजना बनाएर काम गर्नुपर्ने डा कोइरालाको सुझाव छ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष प्राडा गौरवराज ढकालले धुम्रमान गर्ने व्यक्तिहरुमा ढाड तथा गर्धन दुखाईको समस्या अन्य व्यक्तिको तुलनामा बढी हुने गरेको बताए। ३५/४० उमेर माथिका व्यक्तिमा देखिने गरेको यो समस्या हाल युवाहरुमा देखिन थालेको उनले बताए। एक सय जनामध्ये २० जनालाई ढाड तथा गर्धनको दुखाईको समस्या हुने गरेको छ।
उनका अनुसार धूम्रपान गर्ने व्यक्तिमा यो समस्या भए लामो समयसम्म उपचार गर्नुपर्ने र निको हुन पनि समय लाग्ने गरेको पाइएको छ। चुरोटले हड्डी कमजोर बनाउने बताउँदै उनले सर्जरी गरिएका घाउ समेत पाक्ने संभावना उनीहरुमा बढी हुने जानकारी दिए।
कार्यक्रममा बोल्दै एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले सुर्तिजन्य पदार्थको उत्पादन गर्ने उद्योगको प्रभावका कारण कानुन कार्यान्वयनमा समस्या भइरहेको बताए। सरकार गम्भीर नभएसम्म कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्ने उनको भनाई छ।