काठमाडौं– ‘हामी सबैको साझा जिम्मेवारी स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह नेपालमा पनि चलिरहेको छ। विश्व स्तनपान सप्ताह हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सन् १९९२ देखि मनाउदै आइएको छ। स्तनपान सप्ताहको अवसरमा सरकारले प्रसूति तथा स्त्री रोग अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना गर्ने घोषणा समेत गरेको छ। ह्युमन मिल्क बैंक भनेको के हो? यो बैंक कसरी सञ्चालनमा ल्याइँदै छ? शिशुलाई आमाले कति समयसम्म स्तनपान गराउनु पर्छ? स्तनपान गराउँदा शिशु र आमालाई केके फाइदा हुन्छ? लगायतका विषयमा प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा संगीता मिश्रासँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
प्रसूति तथा स्त्री रोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिने घोषणा भएको रहेछ। सर्वप्रथम यो ह्युमन मिल्क बैंक भनेको के हो सरल भाषामा बुझाइदिनुहोस् न?
ह्युमन मिल्क बैंक भनेको जसरी अन्य कुराको संचय गर्नुहुन्छ, त्यसरी नै आमाको दूध संचय गर्ने एउटा बैंक हो। जसरी रगत जम्मा गरेर राख्ने ब्लड बैंक हुन्छ। पैसा राख्ने बैंक हुन्छ। त्यसरी नै हामीले आमाहरुबाट दूध लिएर सुरक्षितसँग राख्ने बैंक हो।
यो बैंक कसरी स्थापना गरिदै छ? कहिलेसम्म बन्छ?
यो बैंक स्थापनाका लागि हामीले विभिन्न प्रकारका इक्युपमेन्ट अर्थात औजार तथा उपकरण, स्थान, जनशक्ति व्यवस्थापन गर्ने योजना बनाएर अगाडि बढेका छौं। हाल हामीले बैंक कहाँ स्थापना गर्ने भनेर स्थान छनोट गरेर बैंक बनाउन केके औजार उपकरण चाहिन्छ त्यसको लिस्ट बनाएर पठाइसकेका छौं। मलाइ लाग्छ, ३ महिना भित्र ह्युमन मिल्क बैंक संचालनमा आउँछ।
मिल्क बैंकको स्थापना किन गरिँदै छ?
शिशुहरु बिरामी भएर एनआइसीयूमा भर्ना भएर उपचाररत हुन्छन्। उनीहरुलाई आहार दिने बेलामा आमाको दूध उपलब्ध नहुने अवस्था आउँछ। यस्तो अवस्थामा पहिला–पहिला बट्टाको वा कृतिम दूध खुवाइन्थ्यो। जुन स्वास्थ्यको लागि एकदमै हानिकारक हुँदो रहेछ। त्यसैले हामीले बट्टाको दूधलाई आमाको दूधबाट प्रतिस्थापन गर्न सक्यौं भने हामीलाई आर्थिक रुपमा पनि फाइदा हुन्छ। बच्चाको स्वास्थ्यलाई पनि फाइदा हुन्छ। यही कारणले नेपालमा पनि ह्युमन मिल्क बैंक स्थापना गर्न जरुरी छ भनेर अगाडि बढेका हौं।
मिल्क बैंकमा कस्ता आमाहरुले दूध जम्मा गर्न सक्छन्? बैंकबाट कस्ता शिशुलाई दूध उपलब्ध गराइन्छ?
जो आमाले आफ्नो शिशुलाई दूध खुवाइराख्नु भएको छ, जुन आमाले आफ्नो शिशुलाई दूध खुवाइसकेपछि पनि दूध बढी छ वा दूध दान गर्न इच्छा राख्नुहुन्छ भने उहाँहरुसँग हामी दूध दान गर्न आग्रह गर्छौं। उहाँहरुले हाम्रो अस्पताल आएर वा यही भर्ना भएको अवस्थामा पनि दूध दान गर्न सक्नुहुन्छ।
मिल्क बैंकले शिशुलाई निःशुल्क सेवा दिन्छ वा शुल्क तिर्नुपर्छ?
सबैभन्दा पहिला हामीले कसलाई उपलब्ध गराउछौं भन्ने कुरा पनि हो। हाम्रो योजना त सम्भव भएसम्म जो शिशुलाई आवश्यक छ उसलाई उपलब्ध गराउने नै हो। तर, यो सबै कुरा दानमा भर पर्छ। हामीले अहिले एउटा योजना बनाएका छौं। हाम्रो अस्पतालमा ४० बेडको एनआइसियू छ, हाम्रो अन्य वार्डहरु पनि छ। त्यहाँ रहेका बच्चाहरुलाई दूध आवश्यकता पर्छ। हाम्रो अस्पतालमै एनआइसियूमा भर्ना भएका ४० प्रतिशतलाई मिल्क आवश्यक भएको देखिन्छ। त्यसैले हामीले पहिला त मिल्क बैंकबाट यहीँ भएका शिशुहरुलाई उपलब्ध गराउछौं। त्यसपछि दूध बाँकी हुने अवस्था भयो भने अन्य शिशुलाई पनि उपलब्ध गराउछौं।
कस्ता शिशुलाई मिल्क उपलब्ध गराउने भन्ने कुरा आमाहरुले कति दूध दान गर्नुहुन्छ, बैंकमा कति दूध जम्मा हुन्छ त्यसमा पनि भर पर्छ।
मिल्क बैंकको स्थापनाका लागि कति खर्च लाग्छ? बजेटको व्यवस्थापन कसरी गरिएको छ?
ह्युमन मिल्क बैंक स्थापनाका लागि हामीले लगभग २ करोड खर्च हुने अनुमान गरेका छौं। त्यसमा प्रसूति गृहले केही बजेटको व्यवस्था गरेका छ। केही परिवार कल्याण महाशाखा मार्फत युरोपियन युनियनले सहयोग गर्ने भन्नुभएको छ। साथै युनिसेफले पनि केही सहयोग गरेको अवस्था छ।
यो कार्यक्रमका लागि दाता, स्वास्थ्य मन्त्रालय, अस्पताल र परिवार कल्याण महाशाखा सबै मिलेर काम गर्दै छौं।
नवजात शिशुलाई जन्मेको एकघण्टा भित्रै नै आमाको दूध खुवाउनुपर्छ भनिन्छ। तर आजभोलि धेरै जस्तो महिलाहरुको शल्यक्रिया विधिबाट शिशु जन्माउदा जन्मेको एकघण्टा भित्रै शिशुले आमाको दूध नपाएको सुनिन्छ । यथार्थ के हो?
यो कुरा यथार्थ नै भन्नुपर्छ। कुरा के बुझ्नुपर्छ भने दूध कसरी आउछ? जहिलेसम्म शिशुले आमाको स्तन चुस्दैन त्यतिबेलासम्म दूध आउदैन। बच्चाले आमाको दूध चुसिसकेपछि आमाको शरीरमा दुई प्रकारको हर्मोन निस्किन्छ। जसलाई प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोन भनिन्छ।
यही दुइवटा हर्मोनले गर्दा आमाको दूध आउने हो। बच्चालाई तुरुन्त दूध चुसाइएन भने आमाको स्तनबाट दूध आउने प्रक्रियामा पनि ढिलो हुन्छ। बच्चालाई जति छिटो दूध चुसाइयो त्यो प्रक्रिया त्यति नै छिटो सुरु हुन्छ। त्यसैले पहिलो दूध चुसाउन ढिलो हुँदा दूध पनि ढिलो आउछ। बच्चालाई बिगौती दूध खुवाउनुपर्छ। बिगौती दूध भनेको पर्याप्त मात्रामा पोषणको स्रोत हो। बिगौती दूधमा पर्याप्त मात्रामा प्रोटिन, पोषकत्वहरु हुन्छ। बेगौती दूधलाई त शिशुको पहिलो खोप नै भनिन्छ। जसले बच्चामा रोग प्रतिरोधात्मक क्षमताको विकास गराउछ। त्यसैले विगौती दूध खुवाउनु पर्छ। तर कतिपय ठाउँमा नखुवाएको पाइएको छ। हामीले यस विषयमा अझै धेरै जनचेतना फैलाउन आवश्यक छ।
प्रसूति गृहमा शल्यक्रिया विधिबाट जन्मिएका शिशुले जन्मेको एकघण्टा भित्र नै आमाको दूध खान पाइरहेका छन् ?
हामीले हाम्रो अस्पतालमा सकेसम्म बट्टाको दूध प्रवेश गराउन दिएका छैनौं। कसैको दूध आएन, बच्चा सिकिस्त छ खुवाउनै पर्ने बाध्यता हुन्छ यस्तो विशेष अवस्थामा खुवाइएको हुनसक्छ। तर सकेसम्म अप्रेसन गरेर होस् वा नर्मल डेलिभरी भएको होस् हामीले सुत्केरी महिलालाई आफ्नो शिशुलाई दूध खुवाउनुस् भन्छौं। हाम्रो अस्पतालमा बच्चाको डाक्टर, नर्सहरुले पनि यही गराउनु हुन्छ। हाम्रो अस्पताल ‘बेबीफ्रेन्ड्ली अस्पताल हो।
शिशुलाई जन्मिने वित्तिकै आमाको दूध खुवाउदा केके फाइदाहरु छन्?
स्तनपान भनेको शिशुको लागि पहिलो खोप हो। बच्चाको सम्पूर्ण वृद्धिविकासमा सहयोग पुर्याउछ। बच्चाको रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ। जसले बच्चाहरुलाइ विभिन्न किसिमका रोग तथा संक्रमणबाट बचाउछ। अर्को नेपालमा अझैपनि कतिपय शिशुको झाडापखालाको समस्याले ज्यान गुमाउने अवस्था पनि देखिएको छ। स्तनपानले बच्चालाई झाडापखालाको समस्याबाट पनि बचाउछ।
आमाको दूध पर्याप्त मात्रामा खान पाएको बच्चामा स्वासप्रस्वासको समस्या पनि कम हुन्छ। बट्टाको दूध खाएको बच्चाको तुलनामा आमाको दूध खाने बच्चाहरु धेरै इन्टेलिजेन्ट पनि हुने गर्छन्। यस्तै बच्चाको नशाको विकास, मष्तिष्कको विकासमा पनि आमाको दूधले सहयोग गर्छ। आमाको दूधको धेरै फाइदाहरु छ।
शिशु तथा बालबालिकालाई कति उमेरसम्म दिनमा कतिपटक आमाको दूध खुवाउनु पर्छ?
६ महिनासम्म पानी पनि नदिने खाली आमाको दूधमात्र खुवाउनुपर्छ। बच्चाले दूध खान खोजेको समयमा वा कम्तिमा पनि २ देखि ३ घण्टाको फरकमा दूध खुवाउनुपर्छ। यसको अर्थ रातीको समयमा पनि उठेर बीचबीचमा दूध खुवाउनुपर्छ।
बच्चा जन्मिएको ३,४ महिनापछि आमाहरु काममा पनि जाने गर्छन्। यस्ता आमाहरुले आफ्नो दूध दोएर घरमै राख्ने र घरमा भएका सदस्यले शिशुलाई त्यही दूध खान दिने पनि गर्न सकिन्छ। यस्तो गर्दा कामकाजी आमाका बच्चाहरुले पनि पर्याप्त मात्रामा दूध खान पाउछन्।
सकेसम्म ६ महिनासम्म आमाको दूधमात्र खुवाउने र ६ महिनापछि २ वर्षसम्म आमाको दूधसँगै अन्नहरु दिनुपर्छ । तर आमाले २ वर्षसम्म आफ्नो बच्चालाई स्नतपान गराउनुपर्छ।
शिशुलाई स्तनपान गराउँदा आमालाई पनि फाइदा हुन्छ भन्ने गरिन्छ। शिशुलाई स्तनपान गराउँदा आमालाई के–के फाइदा हुन्छ?
आफ्नो शिशुलाई स्तनपान गराउँदा आमालाई पनि धेरै नै फाइदा छ। सबैभन्दा पहिला स्तनपान गराउने बित्तिकै महिलाको पाठेघर खुम्चिएर आउछ। पाठेघर खुम्चियो भने सुत्केरी अवस्थामा हुने अत्याधिक रक्तश्राव रोक्छ। सुत्केरी भएपछि महिलाहरुमा तौल बढ्ने समस्या हुन्छ। स्तनपान गराउँदा आमाहरुको तौल नियन्त्रण गर्न पनि सहयोग पुग्छ। आमामा हुनसक्ने स्तन तथा अण्डासयको क्यान्सरको रोकथाममा पनि फाइदा पुर्याउछ। आमाको दूध खुवाउदा आर्थिक रुपमा पनि फाइदा हुन्छ। यस्तै आमाले आफ्नो बच्चालाई नियमित रुपमा स्तनपान गराइरहेको छ भने परिवार नियोजनको काम पनि गर्छ।
शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउँदा शिशुमा हुने तत्कालिन र दीर्घकालिन असरहरु के के छन्?
बच्चालाई स्तनपान नगराएर बट्टाको दूध खुवाइयो भने त्यो संक्रमणको स्रोत हुनसक्छ। बच्चालाई झाडापखाला, स्वासप्रस्वासमा समस्या हुनसक्छ। कुपोषण हुनसक्छ।
आमाको दूधलाई प्रकृतिले नै पोषणको ‘कम्पोजिसन’ मिलाएको हुन्छ। कति मात्रामा प्रोटिन छ, कति मात्रामा कार्बेहाइड्रेड आवश्यक पर्छ त्यो सबै प्रकृतिले नै मिलाएको हुन्छ। तर बट्टाको दूधमा पानीको मात्रा वा पाउडरको मात्रा मिलेन भने बच्चालाई पर्याप्त पोषण पुग्दैन र कुपोषणको समस्या देखिन्छ। जसले गर्दा बच्चाको तौल कम हुन्छ, बौद्धिक विकासमा असर पर्छ। बच्चाको वृद्धि विकासमा पनि ढिलाइ हुन्छ। बट्टाको दूधले बच्चामा विभिन्न प्रकारका समस्या देखिन्छ।
आमाको दूध नदिएर बट्टाको दूध पनि दिने चलन छ नि उहाँहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
स्तनपान अमृत समान भन्ने गरिन्छ। कुनै पनि आमाले आफ्नो शिशुलाई नराम्रो गर्न चाहदैन। बट्टाको दूध राम्रो होला भन्ने सोचेर बट्टाको दूध खुवाएको पनि हुनसक्छ। तर यो बुझ्न जरुरी छ आफ्नो शिशुलाई सबैभन्दा राम्रो गर्नु भनेको आफ्नो दूध खुवाएर नै हो। दूधले खोपको रुपमा काम गर्छ। आमाले ६ महिनासम्म आफ्नो दूधमात्र खुवाएर आफ्नो शिशुको रक्षा गर्न सक्छिन्। बच्चा बिरामी परेर अस्पताल धाउनुपरेमा आमालाई पनि तनाव बढ्छ । त्यसैले सकेसम्म हाम्रो देशबाट बट्टाको दूधलाई विस्थापन गर्नैपर्छ। सरकारले कानुनै नै बनाएर क्रितिम दूधको विक्री वितरणमा रोक लगाउने भनेको छ। त्यो कानुन पूर्ण रुपमा कार्यान्वयनमा आउनुपर्छ।
धेरै आमाहरुले दूध नै नआउने समस्या भएकाले बच्चालाई पर्याप्त मात्रामा स्तनपान गराउन नसकेको दुखेसो पनि पोख्छन्। यस्तो समस्या किन हुन्छ? यो समस्या समाधानको उपाय के छ?
आमाहरुले आफ्नो बच्चालाई दूध नै पुग्दैन भन्ने समस्या लिएर आउनुहुन्छ। तर के जान्नुपर्छ हो भने बच्चालाई कति महिनामा कति दूध खुवाउनुपर्छ भन्ने जान्नुपर्छ। तर बच्चाले कति दूध खायो भनेर थाहा नहुन सक्छ। बच्चालाई दूध पुगेको छ वा छैन भनेर पत्ता लगाउने तरिका छ। यदी तपाईंको शिशुले एकदिनमा ६ देखि ८ पटक पिसाब गरेको छ भने उसलाई दूध पर्याप्त मात्रामा पुगेको छ भनेर बुझ्नुपर्छ।
यदी तपाईंको शिशुको तौल बढिरहेको छ भनेपनि शिशूलाई दूध पुगेको हुनसक्छ। यस्तै आमाको दूध नआउने समस्या छ भने पर्याप्त मात्रामा झोलिलो र पोषिलो खाना खाने र बच्चालाई दूध चुसाउने गरियो भने दूध आफैं आउछ।
अन्त्यमा, हामी कोरोना महामारीको समयमा नै छौं। कोरोना संक्रमित आमाले शिशुलाई कसरी सुरक्षित राखेर स्तनपान गराउने?
कोरोना संक्रमित आमा हुनुहुन्छ भने उहाँले दूध खुवाउन मिल्छ। यो कुरालाई उहाँहरुले आत्मसाथ गर्नुपर्छ। उहाँहरुले आफ्नो शिशुलाई छुनुअघि राम्रोसँग आफ्नो हात धुनुपर्छ। मास्कको सहि प्रयोग गर्नुपर्छ । दूध खुवाउनु अघि आफ्नो निप्पललाई राम्रोसँग सफा गरेर आफ्नो शिशुलाई दूध खुवाउन मिल्छ। दूध नखुवाउने समयमा आफ्नो शिशुलाई परिवारका अन्य सदस्यलाई दिन वा आफुभन्दा ६ फिटको दुरीमा राख्न पनि सकिन्छ। आवश्यकता अनुसार पटक पटक स्तनपान गराउन सकिन्छ। यो बीचमा खोकी लाग्यो वा हाच्छियु आयो भने कुहिनाको साहायताले गर्ने र स्यानिटाइजर वा साबुनपानीले फेरि हात धुने गर्नुपर्छ। कोभिड संक्रमित आमाले कुनै पनि अवस्थामा शिशुलाई स्तनपान गराउन छाड्नु हुँदैन।
भिडियो : अनुराग लम्साल