काठमाडौं– ‘बिरामीहरू उपचार पाएर खुशी हुँदै घर फर्किँदा दुर्गममा सेवा गर्न पाएकोमा हामीलाई पनि गर्व महशुस हुन्छ,’ दुर्गममा चिकित्सा सेवा दिएका डा अमृत अधिकारी हर्षित मुद्रामा देखिए।
२०७४ साल चैतमा लोक सेवाको परीक्षा उत्तीर्ण गरी सरकारी चिकित्सक बनेका डा अमृतले डडेल्धुरा अस्पतालमा मेडिकल अफिसर र जिल्ला अस्पताल बेनी (म्याग्दी) मा ३ वर्ष बिताएका छन्। यो अवधिमा डा अमृतले ग्रामिण स्वास्थ्य सेवालाई नजिकैबाट नियालेका छन्।
लोकसेवामा नाम निकालेपछि उनको पहिलो पोष्टिङ सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा भयो।
२०७४ साल चैत २ गते उनको पोष्टिङ डडेल्धुरामा हुँदा २४ घण्टाको यात्रापछि त्यहाँ पुगेको उनलाई अझै सम्झना छ।
बिरामीको भाषा नबुझ्दा
पोखरामा जन्मिएका डा अमृतको बाल्यकाल र शैक्षिक यात्रा शहरमै बित्यो। तर, स्याङ्जा, पाल्पा लगायतका जिल्लाहरूमा घुमफिर गरिरहेका डा अमृतलाई डडेल्धुरा अनौठो लागेन। हुन त उनको पोष्टिङ भएको डडेल्धुरा अस्पताल जिल्ला सदरमुकाममै थियो। उनले दुर्गममा भएको पोष्टिङलाई अवसरको रूपमा लिए।
‘सुदूरपश्चिममा पुगेर काम गरिएला भनेर न पढ्ने बेलामा सोच थियो, न जागिर खान त्यहा पुगिएला भन्ने नै,’ उनले भने, ‘सरकारी चिकित्सक भएर शुरुमै दुर्गममा सेवा गर्न पाउनुलाई मैले अवसरको रूपमा लिएँ।’
एमबीबीएस पास गरेपछि १८ महिना पोखरामा चिकित्सकीय अभ्यास गरिसकेका डा अमृतलाई बिरामीको उपचार कसरी गर्ने भन्ने विषयमा कुनै अन्योलता थिएन। तर, सुदूरपश्चिमको भाषाले भने उनलाई समस्या पार्यो।
उपचार गर्न बिरामीलाई देखिएको समस्याबारे डाक्टरले बुझ्नुपर्ने हुन्छ। तर, बिरामीले आफ्नो रोगबारे बताएको कुरा डा अमृतले बुझ्नै सकेनन्। किनकी सुदूरपश्चिमको मातृभाषा राष्ट्रिय भाषा नेपाली भन्दा केही फरक थियो।
बिरामीले बोलेको कुरा नबुझिने भएकाले शुरु–शुरुमा त डा अमृतको छेउमा त्यहीँका स्नायीय स्वास्थ्यकर्मी भाषा उल्था गर्न नै खटिनुपर्यो।
‘सुदूरपश्चिमको भाषा हामीले बोल्ने नेपाली भन्दा विल्कुलै फरक थियो,’ अमृतले डडेल्धुरामा बिरामी हेर्दाको सुरुवाती दिन सम्झिए, ‘शुरु–शुरुमा बिरामीले बोल्ने भाषा बुझ्नकै लागि स्थानीय स्वास्थ्यकर्मी हाम्रो छेउमा राख्यौं। बिरामीले हिस्ट्री बताएपछि स्थानीय स्वास्थ्यकर्मीले हामीलाई बुझाउनु हुन्थ्यो।’
डा अमृत डडेल्धुरा पोष्टिङ भएको करिब २ महिना भाषा बुझाइदिन स्वास्थ्यकर्मी पनिसँगै थिए। त्यसपछि भने डा अमृतले त्यहाँको स्थानीय भाषा सिक्दै गए।
‘पछिपछि भएपछि त त्यहाँको भाषा बुझ्न थालेँ,’ उनले भने, ‘भाषा बुझेपछि बिरामीको उपचार गर्न सजिलो भयो।’
तीनदिन हिँडेर उपचारका लागि बिरामी आउँथे
डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी जिल्लाहरूको केन्द्रविन्दु थियो। दार्चुला, बैतडी, बझाङ, बाजुराका बिरामीहरू रेफर भएर डडेल्धुरा अस्पतालमै आएका हुन्थे। टर्सरी सेन्टरको रूपमा रहेको डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ एकजना र एमडीजीपीए एकजना मात्र थिए। अन्य चिकित्सकहरू भने मेडिकल अफिसरहरूथिए।
विकट जिल्लाहरूको टर्सरी सेन्टरको रूपमा रहेको डडेल्धुरा अस्पतालमा बिरामीहरू तीनदिनसम्म पैदल हिडेर उपचारका लागि आउने गरेको उनलाई अझै सम्झना छ।
‘ओपीडीमा बिरामीहरू तीनदिनसम्म हिँडेर उपचारका लागि आएका हुन्थे’, डा अमृतले भने, ‘सामान्य उच्चरक्तचाप, मधुमेहका बिरामीहरूले पनि यति धेरै दिन हिँडेर आएको देख्दा शुरुमा त अचम्म लाग्थ्यो।’
छोरा चहाने धेरै, महिलाको स्वास्थ्य अझै जोखिममा !
डा अमृतका अनुसार डडेल्धुरा अस्पतालमा धेरैजस्तो सवारी दुर्घटना, रुखबाट लडेका भीरबाट लडेकाबिरामी तथा घाइतेहरू र सामान्य स्वास्थ्य समस्याका बिरामी बढी आउँथे। नसर्ने रोग भन्दा पनि सरुवा रोगका बिरामी र गर्भवती महिलाको केसहरू बढी आउने गरेको उनले सुनाए।
नेपालको कानुनमा गर्भमा रहेको भ्रूण पहिचान गरि गर्भपतन गर्न र गराउन नहुने उल्लेख छ। धेरैपटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्य जोखिममा पनि पर्छ।
तर, सुदूरपश्चिममा छोरा नै हुनुपर्ने भन्दै अवैधानिक रूपमा भारतीय मुलुकमा पुगेर समेत भ्रूण पहिचान गरी गर्भपतन गराउने गरेको डा अमृत बताउँछन्।
‘८/९ औं पटक गर्भपतन गराउन आउने केसहरू त सुदूरपश्चिममा सामान्य नै हो, एकपटक त ३५ वर्षकी महिला १३औं पटक गर्भवती भएर गर्भपतनका लागि आएकी थिइन्,’ डा अमृतले भने, ‘सुदूरपश्चिममा भारतसम्म पुगेर पनि गर्भमा छोरा छ कि छोरी छ हेर्ने र गर्भपतन गराउने क्रम अझै पनि छ।’
धेरैपटक गर्भपतन गराएका महिलाहरूमा पछि बच्चा गर्भमै नबसी पाठेघरको बाहिर रहेको जटिल खालका केसहरू पनि आउने गरेको उनले सुनाए।
डडेल्धुरा अस्पतालमा काठमाडौंका ठूला अस्पतालमा जस्तो आईसीयू सेवा थिएन। कतिपय आकस्मिक स्वास्थ्य सेवा लिन आएका बिरामीहरूलाई आईसीयू सेवा आवश्यक पर्ने भएकाले तुरुन्त रेफर गर्नुपर्ने हुन्थ्यो। तर, कतिपय बिरामीसँग केन्द्रीय अस्पतालमा पुग्ने बाटो खर्चसम्म पनि हुँदैन थियो। त्यस्तो अवस्थामा डा अमृत लगायत अस्पतालकै चिकित्सकहरूले एम्बुलेन्स व्यवस्थापन गरेर बिरामीलाई रेफर गरिदिन्थे।
‘आर्थिक अवस्था कमजोर भएका कतिपय बिरामीहरूलाई रेफर गर्नैपर्ने अवस्थामा एम्बुलेन्स निःशुल्क गराइदिएर पनि पठाउँथिउँ,’उनले भने, ‘कतिपय बिरामीले त जोखिम नै भएपनि यहीँ उपचार गराउनू, लैजान सक्दैनौं भन्थे। त्यस्ता बिरामीको जोखिम मोलेरै पनि उपचार गरियो।’
समयमै रोग पत्ता नलाग्दा बिरामीको मृत्यु भएको त्यो घटना
टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर अस्पतालमा एकजना बिरामी भर्ना भए। दुईदिनसम्म अस्पताल भर्ना गरेर औषधि उपचार गर्दा पनि उनलाई निको भएन। दुईदिनपछि रगत, पिसाब परीक्षण गर्दा बिरामीको कलेजो र मिर्गौलामा खराबीदेखियो। डा अमृत लगायत चिकित्सकहरूले उनमा स्क्रबटाइफस हुनसक्ने आशंका गरे।तर, डडेल्धुरा अस्पतालमा स्क्रबटाइफस पत्ता लगाउन किट थिएन।
तेस्रो दिन उनलाई धनगढी पठाइयो। धनगढीमा उनमा स्क्रबटाइफस भएको पत्ता लाग्यो तर, बिरामीको स्वास्थ्य अवस्था बिग्रिसकेकाले उपचारकै क्रममा मृत्यु भयो।
डडेल्धुरा अस्पतालमा स्वास्थ्य उपचार गराएका डा अमृत ती बिरामीको मृत्युको घटना सम्झिँदा अझै पनि भावुक हुन्छन्।
‘त्यतिबेला सामान्य रोग पत्ता लगाउने किट भइदिएको भए, समयमै रोग पत्ता लगाएर सोही अनुसार उपचार हुन्थ्यो,’ डा अमृतले भने, ‘किट अभावकै कारण उहाँको रोगको समयमा पहिचान र उपचार हुन सकेन, त्यो केस सम्झिँदा दुःख लाग्छ।’
ती बिरामीको मृत्युपछि प्रदेश सरकार र केन्द्र सरकारलाई भनेर डडेल्धुरा अस्पतालले स्क्रबटाइफसको परीक्षण किट ल्याए। त्यसपछि भने धेरै बिरामीहरूको समयमै रोग पत्ता लाग्यो र सबैले समयमै सेवा पाएको उनले सुनाए।
अस्पतालभित्रै ५ घण्टा लुक्नुपरेको त्यो दिन
बिरामीको उपचारको क्रममा वा रेफर भइसकेर मृत्यु भएमा चिकित्सकले लापरवाही नै गरेको ठोकुवा गर्दै मृतकका आफन्तहरू अस्पताल तोडफोड गर्न तथा चिकित्सकमाथि नै हातपात गर्न आइलाग्छन्।
डा अमृतले पनि दुर्गम क्षेत्रमा बिरामीको सेवा गर्ने क्रममा यस्तो घटनाको सामना गर्नुपरेको छ।
रेफर भइसकेको बिरामीको मृत्यु भएपछि अस्पतालमै शव ल्याएर अस्पताल तोडफोड भएपछि डा अमृतलगायत उनका चिकित्सक साथीहरू ५ घण्टासम्म अस्पतालभित्रै लुकेर बस्नुपर्ने अवस्था समेत आयो।
त्यो दिनको घटना डा अमृत यसरी सुनाउँछन्
डडेल्धुरा सदरमुकामकै एकजना महिला सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन्। उनको शल्यक्रिया गरेर प्रसूती गराइएको थियो। शल्यक्रियामार्फत् सुत्केरी भएकी महिलाको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरियो। सुत्केरी भएको १४औं दिनमा रक्तmश्राव भएर ओपीडीमा आएकी थिइन्। सुत्केरी अवस्थामा हुने सामान्य अवस्थाजस्तै थियो। ओपीडीमा सामान्य जाँच गराएर धेरै समयसम्म रक्तश्राव भएमा अस्पताल आउनू भनेर उनलाई घर पठाइएको थियो। अस्पतालबाट बिरामीको घर पुग्ने समय २० मिनेट मात्रै थियो।भोलिपल्ट बिहान ९ बजे आकस्मिक कक्षमा ती महिलालाई ल्याइयो। उनको राति २ बजेदेखि अत्याधिक रक्तश्राव भएको रहेछ।
अस्पतालमा सबै चिकित्सकहरू मिटिङमा थियौं। एमडीजीपी डाक्टर र अनड्युटी डाक्टर बिरामी हेर्न जानुभयो। औषधिहरू दिँदा पनि रक्तश्राव रोकिएन। अस्पतालभित्र रगत थिएन। रेडक्रसबाट रगत मगाउनुपर्ने अवस्था आयो। करिब ४ पिन्टजति रगत चढाइयो तर, रक्तश्राव कम भएन।
सुत्केरी गराउन शल्यक्रिया गरिएको घाउ खोल्नुपर्ने अवस्था आयो। करिब साढे १२ बजे ओटीमा लगेर रक्तश्राव कम गराउने प्रयासहरू भए। त्यतिबेलासम्म ९/१० प्रिन्ट रगत दिइसकिएको थियो। सबै विधि अपनाउँदा पनि रक्तश्राव नरोकिएपछि हामीले २ बजे रेफर गर्नुपर्ने निर्णय गर्यौं। धनगढीमा पुर्याउन पनि ४ घण्टा लाग्ने भएकाले एम्बुलेन्समा पठाउँदा बाटोमै मृत्यु हुने सम्भावना थियो। त्यसैले एयरलिफ्ट गरेर पठाउने भनेर सामाजिक विकास मन्त्रालयमा फोन गरियो।
शुरुमा सामाजिक विकास मन्त्रालयबाट हवाइजहाज आउने कुरा आयो । त्यही अनुसार बिरामीलाई रेफर गर्ने सबै तयारी पूरा गरियो। तर, अन्तिम अवस्थामा ती महिलाको उद्धारका लागि हवाइजहाज नआउने भयो।
सामाजिक विकास मन्त्रालयले हवाइजहाज नपठाएपछि त्यही थप उपचार गर्नु बाहेक केही उपाय बाँकी रहेन। करिब साढे ३ बजे हिस्टेक्टोमी गर्ने तयारी भयो। फेरि ओटीमा राखेर हिस्टेक्टोमी गरेपछि करिब साढे ४ बजे रक्तश्राव रोकियो।
सुत्केरी महिलालाई धेरै रगत आवश्यक थियो। हामीले उनीसँग रगत मिल्ने सबै स्वास्थ्यकर्मी खोजेर फ्रेस ब्लड चढायौं।त्यतिबेला ६ जनाजति स्वास्थ्यकर्मीहरूले रक्तदान गर्नुभयो। हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीहरू त्यही बिरामीलाई बचाउनका लागि खटियौं। तर, अप्रेशसन सकिएपछि बिरामीको मृत्यु भयो।
दिनभरी उहाँलाई बचाउन सबैजना चिकित्सक खटियौं। हामीले प्रयास गर्दागर्दै पनि बचाउन सकेनौं। बिरामीको आफन्त हेल्थ असिस्टेन्ट हुनुहुन्थ्यो। उहाँलाई हामीले बिरामीको अवस्थाबारे सबै जानकारी गराएका थियौं। हेल्थ पर्सन नै भएकाले ओटीभित्र समेत राखेका थियौं। तर, बिरामीको मृत्यु भइसकेपछि एकाएक अस्पतालमा भीडभाड र तोडफोड शुरु भयो।
मृतकका आफन्तहरूले हामीले गर्दा नै हवाइजहाज उद्धारका लागि नआएको भन्ने आरोप लगाउनुभयो। हामी बस्ने क्वार्टर, अस्पतालको ओटीमा ढुंगामुढा र तोडफोड भयो। बेलुकातिर ४/५ सय मानिसहरूको आक्रोशित भीड आगो नै लगाउने जसरी आए। त्यसपछि हामी भाग्नुपर्ने अवस्था आयो।हामीमाथि आक्रमण नै हुनसक्ने भएपछि ५ घण्टासम्म ओटी नजिकै रहेको ल्याबमा लुकेर बस्यौं।
त्यो रात क्वार्टरमा पनि बस्ने अवस्था थिएन। ओटी बाहिर भएका कर्मचारी जंगलमा गएर लुक्नुपर्ने अवस्था आयो।
घटनाको पर्सिपल्टदेखि हामीले सुरक्षा घेरामा रहेर अस्पताल बाहिरै बसेर सेवा दियौं। घटनाको भोलिपल्टदेखि हाम्रो सुरक्षाको लागि प्रहरीहरू खटिए तर, अस्पताल प्रशासनले बिरामीलाई राहत दिने र हामीले गल्ती नै नगरी माफी माग्नुपर्ने भन्यो। हामीले गल्ती नगरेकाले माफी नमाग्ने बतायौं।
हामीले त्यति धेरै मिहिनेत गरेर बिरामीको उपचारको प्रयास गरेका थियौं, तर हामीमाथि नै असुरक्षा हुने र गल्ती नै नगरी माफी माग्नुपर्ने अवस्था आएपछि हामी पनि आन्दोलित भयौं।
हामीले गल्ती गरेको भए हामीले सेवा नै बहिस्कार गरेर आन्दोलन गर्दै थियौं।
पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छानबिन टोली आएर घटनाको विषयमा छानबिनगर्ने सहमति भएपछि हामीले आन्दोलन फिर्ता लिएर बिरामीलाई सेवा दिन थाल्यौं।
000
यो घटना भएको करिब एक महिनापछि डडेल्धुरा अस्पतालमा फेरि उस्तै प्रकृतिको घटना भयो। पोष्टमार्टमका लागि ल्याइएको शव प्रहरीको सिफारिस आवश्यक पर्छ। तर, शव अस्पतालमा ल्याइएको साढे दुई घण्टापछि मात्र प्रहरीको सिफारिस आएकाले शव पोष्टमार्टमका लागि ढिला भयो। राति ११ बजेदेखि पोष्टमार्टम शुरुभएकाले १ बजेसम्म पनि सकिएको थिएन। तर, मृतकका आफन्तहरूले डाक्टरले नै पोष्टमार्टम ढिला गर्यो भन्दै पोष्टमार्टम कक्षमा ढुंगामुढा गर्न खोजे। अस्पतालमा तोडफोड गर्ने प्रयास भएपछि सबै चिकित्सकहरूले सामूहिक राजीनामै दिएर डडेल्धुरा नै छाडे। करिब १० दिनजति नेपाल चिकित्सक संघ,धनगढी शाखाले डडेल्धुराका चिकित्सकहरूलाई सहारा दिए। पछि स्थानीय प्रशासन र अस्पतालमा सहमति भएपछि डा अमृत लगायत सबै टोली डडेल्धुरा फर्किए।
यसरी बिरामीको सेवामा लाग्ने भनेर चिकित्सा शिक्षा अध्ययन गरी दुर्गममा पुगेका चिकित्सकहरूले सुरक्षित महशुस गर्न नपाउनु ग्रामिण स्वास्थ्यसेवामा लागि पनि दुःखद भएको डा अमृत बताउँछन्।
‘अध्ययन सकेर दुर्गममा सेवा दिन पुगेका चिकित्सकमाथि नै असुरक्षा भयो भने त त्यहाँ स्वास्थ्य सेवा दिन जान सबै डराउछन्,’ डा अमृतले भने, ‘ग्रामिण क्षेत्रमा डाक्टर बस्ने वातावरण नै भएन भने त्यसको असर त्यहाका गरिब, दुःखी बिरामीमा पर्छ।’
स्वास्थ्यप्रति सचेत छैनन् मानिस
नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा लिएको छ। प्राथमिक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने सरकारी नीति पनि छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न रोगहरूको बारेमा स्वास्थ्य सचेतना बढाउने उद्देश्यले हरेक वर्ष करोडौं खर्च पनि गर्दै आएको छ। तर, सुदूरको दुर्गम जिल्लामा काम गरेका डा अमृतले भने सरकारले करोडौं खर्च गर्दै गर्ने सचेतनाको कार्यक्रम सुदूरका जनतासम्म नपुगेको बताउँछन्। सुदूरका जिल्लाहरूमा अझैपनि सामान्य रोगबारे पनि ज्ञान नभएका बिरामी डा अमृतले नै भेटेका छन्।
‘सामान्य झाडापखाला लाग्दा जीवनजल खानुपर्छ भन्ने जानकारी नभएका बिरामीहरू पनि भेटेको छु,’ डा अमृत सम्झिन्छन्, ‘पानीजन्य रोगको एउटा बिरामी आयो भने त्यो गाउँमै धेरै बिरामी भेटिएको घटनाहरू छन्। पानी उमालेर मात्र खानुपर्छ भनेर ज्ञान भएको भए सामान्य रोगले महामारीको रूप त लिँदैन।’
स्वास्थ्यजाँच गराउँदैनन् गर्भवती
दुर्गम जिल्लामा सेवा गर्ने क्रममा डा अमृतले देखेको ग्रामिण स्वास्थ्य समस्यामध्ये अर्को हो– गर्भवती महिलाको समस्या। गर्भवती महिलालाई कम्तिमा पनि ४ पटकसम्म गर्भजाँच गराउनुपर्ने व्यवस्था सरकारले गरेको छ। गर्भवती महिलालाई गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यलेसरकारी स्वास्थ्यसंस्थामा गर्भजाँच गराउँदा यातायात खर्च समेत दिने व्यवस्था छ। तर, सुदूरका महिलाहरू गर्भवती भएमा सुरुवाती गर्भजाँच गराउन आएपनि पछि भने सुत्केरी गराउन मात्र आउने गरेको डा अमृतको भनाइ छ।
‘पहिलो पटक गर्भवती छु कि छैन भनेर जाँच गराउन आउँछन्, त्यसपछि सुत्केरी गराउन मात्र आइपुग्छन्,’ डा अमृतले भने, ‘फलोअपमा आउँदै–आउँदैनन्, गर्भ रहेका ४०/४१ हप्तामा मात्र अस्पताल पुग्दा कतिपय गर्भभित्रै शिशु मरिसकेको केसहरू पनि भेटियो।’
सुदूरका जिल्लाहरूमा धेरैजस्तो युवा तथा पुरुषहरू रोजगारीका लागि भारत लगायतका मुलुक जान्छन्। गाउँमा वृद्धवृद्धा, बालबालिका र महिलामात्र छन्। जसले गर्दा गर्भावस्थामा पनि ग्रामिण महिलाहरूले शारीरिक परिश्रम बढी पर्ने कामहरू पनि गर्ने गरेको डा अमृतले बताए।
‘ग्रामिण महिलाहरूलाई गर्भवती हुँदा सामान्य आइरनचक्की खानुपर्छ भन्ने ज्ञान पनि छैन,’ डा अमृत भन्छन्, ‘गाउँमा सबै पुरुषहरू वैदेशिक रोजगारीमा हुन्छन्, गर्भावस्थामा पनि शारीरिक परिश्रम पर्ने काम गर्नुपर्ने त बाध्यता नै छ।’
स्वास्थ्य क्षेत्रको नीति, निर्देशिका काठमाडौंमै बसेर बनाइएको भन्दै डा अमृतले ती नीति र निर्देशिकाले ग्रामिण जनताको स्वास्थ्य समस्याहरू समाधान हुन कठिन भएको बताए।
‘काठमाडौंमा बसेर निर्देशिका बनाएर त्यो दुर्गम जिल्लामा कसरी उपयोगी हुनसक्छ?’ उनले भने, ‘काठमाडौंमा बसेर बनाइएको पोलिसीलाई ग्रामिण जनताले लागू गर्नै सक्दैनन्।’
ग्रामिण स्वास्थ्य सेवामा सुधारका लागि सबै क्षेत्रका कमिकमजोरीलाई सुधार गर्न र जनतामा स्वास्थ्य सचेतना बढाउनु आवश्यक रहेको डा अमृत बताउँछन्।
‘पहिलो कुरा त उनीहरूलाई स्थानीयतहमा हुने सञ्चार माध्यम मार्फत् स्वास्थ्य सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ,’ डा अमृतले थपे, ‘सचेतनासँगै उनीहरूको आर्थिक र सामाजिक समस्या समाधानतर्फ पनि सरकारले ध्यान दिन जरुरी छ।’
डा अमृत संघीय संरचना अनुसार सामायोजन हुने भएपछि गण्डकी प्रदेश भित्रको दुर्गम जिल्ला बेनीमा सरुवा भए। उनले जिल्ला अस्पताल बेनीमा १४ महिना काम गरिसकेका छन्। बेनी अस्पतालमा डा अमृतको अलि फरक अनुभव छ। डडेल्धुरा अस्पतालमा चिकित्सकीय जिम्मेवारीमा रहेका डा अमृतले त्यहाँ भने गत भदौदेखि अस्पताल प्रमुखको जिम्मेवारीमा रहेर पनि काम गरे।
दुर्गम जिल्लामा अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले ग्रामिण क्षेत्रमा हुने औषधि उपकरण, स्वास्थ्य सामग्रीको अभाव र व्यवस्थापनको चुनौतीबारे पनि जानकारी लिने अवसर आए।
‘बेनी गएर तीन महिना बिरामी हेरियो। त्यसपछि प्रशासनिक कार्यमा बढी व्यस्त भएँ। औषधि तथा उपकरण अभावले सामान्य बिरामीलाई पनि रेफर गर्नुपर्ने अवस्थाहरू भोगियो,’ डा अमृत सुनाउँछन्, ‘कोरोना संक्रमणको समयमा भएकाले प्रशासनिक कार्यमा पनि कोरोना संक्रमण न्यूनीकरण र व्यवस्थापनमै समय बित्यो।’
सुदूरपश्चिमको दुर्गम जिल्ला डडेल्धुरा र गण्डकी प्रदेशको बेनीमा करिब ३ वर्ष स्वास्थ्य सेवामा खटिएका डा अमृत अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्दैछन्। पीजीको अध्ययन पूरा गरेपछि फेरि बेनीमै गएर काम गर्ने उनको चाहना छ।