काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फार्मेसी पहिले भित्री भागमा थियो। अँध्यारो ठाउँमा भएकाले बिरामीले झट्ट फार्मेसी दैख्दैनथे।
प्रायजसो बिरामी औषधि लिन बाहिरका फार्मेसी जाने गर्थे। त्यसैले अस्पतालको फार्मेसीबाट औषधिको बिक्री वितरण सीमित थियो। फार्मेसीबाट हुने आम्दानी पनि राम्रो थिएन।
तर, अहिले शुक्रराज अस्पतालको फार्मेसीमा सुधार गरिएको छ। बिरामीलाई सहज हुने ठाउँमा फार्मेसी सारिएको छ। पहिले कुनामा रहेको फार्मेसी अहिले अस्पताल छिर्नेबित्तिकै देखिन्छ।
पहिले ओपिडी कक्ष भएको फराकिलो र उज्यालो कोठामा अहिले अस्पतालको फार्मेसी सारिएको छ। केही फर्मासिस्ट पनि थप गरिएको छ। शुक्रराज अस्पतालमा बिरामीले २४ सै घण्टा औषधि खरिद गर्न सक्छन्। यस अस्पतालमा असार १५ गतेबाट फार्मेसी २४ सै घण्टा सञ्चालन हुन थालेको हो।
फार्मेसीको स्थान परिवर्तन गरिएपछि बिरामीलाई औषधि खरिद गर्न सहज भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। फार्मेसीको सेवामा सुधार गरिएपछि आम्दानी पनि राम्रो हुन थालेको उनले बताए।
उनले भने, ‘पहिले फार्मेसीको ठाउँ अलि अप्ठ्यारो बिरामीले नदेखिने ठाउँमा थियो। बिरामीहरु औषधि किन्न बाहिर जान्थे। बिरामीको सहजताका लागि हामीले गेटको छेवैमा पहिले ओपिडी भएको ठाउँमा फार्मेसी सारेका हौँ।’
उनका अनुसार पहिले फार्मेसीबाट दैनिक करिब १५ हजार रूपैयाँ बराबर आम्दानी हुने गर्दथ्यो। हालो स्थानमा सारिएपछि २५ हजार रूपैयाँभन्दा बढी आम्दानी हुन थालेको अस्पतालले जनाएको छ। अहिले उक्त फार्मेसीमा चार जना फर्मासिस्ट छन्।
अस्पतालको फार्मेसीमा टेण्डरमार्फत् खरिद गरेर औषधि थप गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी गौतमले जानकारी दिए। हाल चिकित्सकले ‘प्रेस्क्राइब’ गर्ने अधिकांश औषधि अस्पतालको फार्मेसीमा उपलब्ध रहेको उनको भनाइ छ। यो सँगै कोभिडको उपचारमा प्रयोग हुने औषधि पनि खरिद गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिए।
‘चिकित्सकले सिफारिस गर्ने प्रायःजसो औषधि यही उपलब्ध गराउने योजनामा छौँ,’ उनले भने, ‘अहिले कोभिडका बिरामी धेरै आउने भएकाले यसका औषधिहरू पनि हाम्रो प्राथमिकतामा छ।’
उनी थप्छन्, ‘बिरामीलाई औषधि खरिद गर्न बाहिर जान नपरोस् भन्नका लागि हामीले टेण्डरमार्फत् थप औषधि खरिद गर्ने प्रक्रियामा छौँ। त्यसपछि बिरामीले न्यूनतम मूल्यमै औषधि पाउने छन्।’