बालबालिकामा देखिने मिर्गीको सबैभन्दा बढी देखिएको पहिलो कारण हो, ‘फेब्राइल सिजर’। प्राय ६ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने,दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।
यस्तो समस्या एकपटकमात्र देखिने वा दोहोरिन पनि सक्छ। बिरामीलाई यस्तो लक्षण केही मिनेटदेखि १०–१५ मिनेटसम्म देखा पर्नसक्छ। शरीरको सम्पूर्ण भागहरु कम्पन भएको हुन्छ र २४ घण्टा भित्रमा दोहोरिदैन र यसलाई सिम्पल फेब्राइल सिजर भनिन्छ। तर कहिलेकाहीँ शरीरको कुनै एक भागमात्र काम्ने हुन्छ।
अनि २४ घण्टामा पटक–पटक काम्ने र १५ मिनेट भन्दा बढी समय सम्म यस्तो समस्या देखिन सक्छ। यसलाई चाहिँ कम्प्लेक्स फेब्राइल सिजर भनिन्छ। फेब्राइल सिजरको लक्षण छारे रोगको जस्तो हुने भएपनि यो छारे रोग भने होइन। जिउ काम्न बन्द भएपछि केही समय बच्चा सुस्त रहन सक्छ र बच्चा तुरुन्तै सामान्य अवस्थामा फर्किने गर्दछ। करिब ३ देखि ५ प्रतिशत बच्चाहरुमा बिशेषगरी सिम्पल फेब्राइल सिजर देखिने गरेको तथ्यांक छ। त्यस्तै करिब १२ देखी १८ महिनाको उमेर समूहमा यो समस्या धेरै भेटिएको छ।
यो समस्या बारम्बार बल्झिने पनि हुन सक्छ। विशेष यस्तो अवस्थामा समस्या पटक–पटक बल्झिने सम्भावना हुन्छः
१ वर्ष भन्दा कम उमेरका बालबालिका।
ज्वरो आएको २४ घन्टा भित्र भएमा।
१००.४ देखि १०२.२ फरेनहाइट ज्वरो आएमा।
घरपरिवारमा अरू कसैलाई यस्तो समस्या भएमा।
घरपरिवारमा छारे रोगको समस्या भएमा।
डे केयरमा बच्चा भएमा।
पुरुष बच्चा भएमा।
कम्प्लेक्स फेब्राइल सिजर भएकोमा।
रगतमा सोडियमको मात्रा कम भएको अवस्थामा।
माथि उल्लेखित जोखिमको कुनैपनि अवस्था नभएमा यो रोग बल्झिने सम्भावना १२ प्रतिशत मात्र हुन्छ। त्यसैगरी, माथिका कुनैपनि तीनवटा समस्या रहेमा दोहोरिने जोखिम ७३ देखि शत प्रतिशतसम्म हुन्छ।
सिम्पल फेब्राइल सिजर मात्रै भयो भने १ प्रतिशतमा पछि गएर छारेरोग देखिन सक्छ भने पटकपटक सिम्पल फेब्राइल सिजर भयो भने ४ प्रतिशतमा हुनसक्छ।त्यस्तै शरीरको एकापट्टीको मात्रै भाग काँपेको कम्प्लेक्स फेब्राइल सिजर भएमा २९ प्रतिशतमा सम्भावना हुन्छ भने जन्मजात दिमागी विकासमा समस्या रहेछ भने ३३ प्रतिशतमा पछि गएर छारेरोग हुनसक्छ।
अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु :
अभिभावकहरु नअत्तालिने।
बच्चालाई सुरक्षित ठाउँमा कोल्टे फर्काएर राख्ने।
बच्चाको मुखमा केही नघुसार्ने। (औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ भने अन्य चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ।)
सिजर नरोकिँदासम्म पानी वा औषधि खुवाउने कोशिस गर्नुहुँदैन। यसो गर्दा सर्किने सम्भावना हुन्छ।
ज्वरो धेरै नबढोस भनेर सिटामोल दिन सकिन्छ। सिटामोल दिँदा पनि ज्वरो ओर्लिएन भने पानीपट्टी गर्न सकिन्छ।
जतिसक्दो चाँडो नजिकैको अस्पतालमा लैजाने।
एकपटक फेब्राइल सिजर भएको बच्चालाई अर्कोपटक ज्वरो आउँदा फेरि सिजर आउन सक्छ। त्यसैले ज्वरो आएको बेला सचेत रहनुपर्छ।
ज्वरोसँगै कम्पन हुने वा बेहोस हुने अवस्था फेब्राइल सिजर नै हो वा अरू कुनै गम्भीर रोगको लक्षण हो भन्ने निर्क्यौल चिकित्सकले मात्र गर्न सक्छन्। त्यही भएर कम्पन रोकिएको अवस्थामा पनि एकपटक नजिकैको अस्पतालमा बच्चालाई लगेर परीक्षण गराउनुपर्छ। अस्पतालमा यसको सही पहिचान र ज्वरो आएको कारण पत्ता लाग्छ। सामान्यतःपहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ। अवस्था हेरेर चिकित्सकको सल्लाह बमोजिम केही परीक्षण गर्नुपर्छ।
-(लेखक कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ हुन्)