काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पुरस्कार तथा सम्मान छनोट समिति गठन भएको थियो। समितिले पुरस्कृत र सम्मानित हुनेहरुको नाम दिवसका अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा औपचारिक रुपमा सार्वजनिक गरेको हो।
पुरस्कृत र सम्मानित हुनेहरुको नाम अन्तिम समयमा सार्वजनिक भएका कारण पुरस्कार पाउने सबै कर्मचारी कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्। कतिपय कर्मचारीले सञ्चार माध्यममा समाचार आएपछि मात्र थाहा पाएको प्रतिक्रिया दिएका छन्।
मन्त्रालयसले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा जितेन्द्र कँडेललाई प्रदान गरेको छ। बेनी अस्पतालमा कार्यरत डा कँडेललाई एक लाख रुपैयाँ राशी सहितको पुरस्कार प्रदान गरिएको हो।
मन्त्रालयले कामको उचित मूल्यांकन गरेको भन्दै पुरस्कृत हुने स्वास्थ्यकर्मीहरुले खुशी व्यक्त गरेका छन्।
यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गरेका डा कँडेल पुरस्कारले काम गर्ने थप हौसला मिलेको बताउँछन्। उनलाई शनिबार साँझ मात्र स्वास्थ्य मन्त्रालय आकस्मिक रुपमा उपस्थित हुन भनिएको थियो। तर पुरस्कार प्रदान गर्न लागिएको कुराबाट भने उनी बेखर थिए। आइतबार बिहान मात्र आफू पुरस्कृत हुन लागेको कुरा थाहा भएको उनले बताए।
उनले भने, ‘हामी निरन्तर आफ्नो काममा खटिरहेका छौँ। आस नगरीकन काम गरिरहँदा सरकारले यसरी सम्झिँदा खुशी लाग्ने रहेछ।’
हौसलासँगै जिम्मेवारी पनि थपिएको उनको भनाई छ। राज्यले यसरी नै स्वास्थ्यकर्मीहरुको कामलाई मूल्यांकन गर्न आवश्यक रहेको उनले बताए।
‘यो खुशीसँगै सम्मानले जिम्मेवारी पनि थपिदिएको छ। आजसम्म जसरी गरे अब मैले गरेको भन्दा दुई गुणा बढी गर्नुपर्छ भन्ने जिम्मेवारी बोध मलाई यसले गराएको छ’ उनले भने।
५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार पाउने बाजुरा अस्पतालकी अनमी धनकला थापा पनि निकै खुशी छिन्। उनलाई आफू सम्मानित भएको कुरा समेत थाहा थिएन। हामीले टेलिफोन सम्पर्कबाट उनको प्रतिक्रिया लिने क्रममा उनले आफू मन्त्रालयबाट सम्मानित भएको कुरा थाहा नभएको बताए थिइन्।
‘म त अहिले पनि ड्युटीमै छु। मलाई त थाहा नै छैन। तर पुरस्कार पाउनेमा मेरो नाम पनि छनोट हुँदा त खुशी नै लाग्यो’ उनले भनिन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरिक्षक ओम आचार्य पनि यस वर्ष पुरस्कृत भए। सरकारले ढिलै भएपनि कामको मूल्यांकन गरेको उनले बताए। विगत ३० वर्षदेखि उनी स्वास्थ्य क्षेत्रमा छन्।
उनले भने, ‘ढिलै भएपनि कामको मूल्यांकन हुने रहेछ भन्ने महसुस भएको छ। म आफ्नो कामप्रति सधै बफादार छु। र, रहनेछु।’
चतरा प्राथमिकता स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेल विगत १९ वर्षदेखि स्वास्थ्य सेवामा छन्। उनलाई लाग्थ्यो जति काम गरेपनि सरकारले कदर गर्दैन। तर आफू सहित अन्य स्वास्थ्यकर्मी पुरस्कृत हुँदा सरकारले कामको मूल्यांकन गर्ने रहेछ भन्ने लागेको अनुभव सुनाउँछन्।
‘म यतिका वर्षदेखि स्वास्थ्य क्षेत्रमा छु। सरकारले कहिल्यै हामीलाई कदर गरेन जस्तो लाग्थ्यो। तर आफू सम्मानित हुन पाउँदा काम गरिरह्यो भने सरकारले सम्झने रहेछ भन्ने लागेको छ,’ उनले भने।
मन्त्रालयले पुरस्कृत गरेका अर्का कर्मचारी प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह हुन्। उनको मोबाइल अफ भएका कारण सम्पर्क हुन सकेन।
यसैगरी, मन्त्रालयले १० जना कर्मचारीलाई पनि सम्मान गरेको छ।
सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ रहेका छन्।
यसैगरी, डा शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङमा कार्यरत कर्मचारी पनि सम्मानित भएका छन्।