सीता (नाम परिवर्तन)को विवाह भएको १ वर्ष भयो। उनी २५ वर्षकी युवती हुन्। उनी अहिले आफ्नो घर (श्रीमानको घर)मा छिन्। श्रीमान् साउदी अरबमा काम गर्न गएको छ महिना भयो। सन्देश आदनप्रदान भइरहन्छ। उनी नन्द, देवर, सासू, ससुरासँगै छिन्। उनी एक सोझी नारी हुन्। कतिकुराको जवाफ सासू, ससुरालाई फर्काउन उनलाई गाह्रो छ। गत १ महिनादेखि उनमा नौलो समस्या देखियो। उनी त्यतीबेला घरमा थिइन्।
उनी एक्कासी काम्न थालिन् र भनीन्, 'हेर म देवी हुँ तँलाई मार्छु, तँलाई खान्छु तेरो सन्तानलाई नाश गर्छु।'
त्यसपछि उनलाई सासु, ससुराले पिट्ने इत्यादि गर्न थाले। जुन एक घण्टासम्म रह्यो। सारा मानिसहरु जम्मा भए, सबै छक्क परे। एक घण्टापछि उनी जस्ताको तस्तै भइन्। कति मानिसले उनलाई बोक्सी भने, कसैले उनलाई देवताको रुप भने, कसैले देवताको पूजा गरी बलि दिए निको हुन्छ भने। तर उनको समस्या त्यसै निको भएकोले त्यो दिन थप केही गरिएन। तर भोलिपल्ट, पर्सिपल्ट गर्दागर्दै हालसम्म पनि उनको समस्या दिनदिनै देखापर्न थाल्यो।
उनलाई धामी, झाँक्रीकोमा पनि देखाइयो। तर पनि समस्या ठिक भएन। अहिले उनी अस्पतालमा उपचार गराइरहेकी छन्। उनको मनमा दबिएका कुरा निकाल्ने, साथै औषधिको प्रयोग गर्नाले उनको रोग निको भएको छ। यस्तो रोगलाई कन्भर्सन डिसोसियटिभ डिस्अर्डर भनिन्छ। कहिलेकाँही डिप्रेसन लगाएतका रोगमा पनि यस्तो समस्या देखिन्छ।
यो एक अनौठो प्रकारको रोग हो। पहिले पहिले यो रोग महिलामा मात्र हुन्छ भन्ने धारणा थियो र पाठेघरको रोग होला भन्ने सोचेर यसलाई हिस्टेरिया भनिन्थ्यो, तर हाल यो रोग पुरुषमा पनि पाइने भएकोले यसलाई कन्भर्सन डिसोसियटिभ डिस्अर्डर भनिन्छ। प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार हाम्रो मस्तिष्कमा मुख्यतया २ भाग छन्। एउटा कन्सियस (होसी) भाग र अर्को अन्कन्सियस (बेहोसी) भाग। हाम्रा पिडाहरु बेहोसी भागमा बसेका हुन्छन्। यदि पिडा बढेमा यो रोग देखिन्छ। तर आजकल विभिन्न खालका मानिसक रोग जस्तै डिप्रेसन जस्ता रोगका बिरामीहरु पनि यस्तो लक्षण लिएर आउँछन्।
बिरामीहरु कस्ता लक्षण लिएर आउँछन्
- हात वा खुट्टाको प्यारालाइसिस हुने।
-छोएको थाहा नहुने।
-छारेरोग जस्तै ढल्ने, काम्ने, एउटा मानिस अर्को भएर बोल्ने वा बक्ने जस्तैः 'म फलानो हुँ, यसलाई म मार्छु, यसलाई म खान्छु' आदि।
- कुनै घटना पूर्ण रुपमा बिर्सनु। बिरामीले कुनै पिडादायी घटना वा अन्य घटना जुन हालसालको नै छ पुरै बिर्सन्छ।
- कहिलेकाहीं बिरामी अचानक एक ठाउँबाट अर्को ठाउँमा बेहोसी रुपमा नै पुग्छ र ऊ त्यहाँ अर्कै मानिस भएर बसेको हुन्छ र पहिलेको कुरा सबै बिर्सन्छ। यसलाई डिसोसियटिभ फुगी भनिन्छ ।
- एउटै मानिस दुई खालको व्यक्तिको सिकायत गर्छ।
- बिरामीलाई अति साधरण कुरा सोध्दा पनि उल्टो उत्तर दिन्छ जस्तै २ र २ जोड्दा कति हुन्छ भन्दा ५ भन्छ, आकाशको रंग कस्तो हुन्छ भन्दा हरियो भन्छ आदि। तर उसको उत्तर दिने तरिका चलाख देखिन्छ।
कुन उमेरमा यो रोग बढी हुन्छ?
यो रोग मुख्यगरी ३५ देखि ४० वर्षभन्दा अगाडी नै देखापर्छ। यो रोग १५ देखि २० वर्षका केटिहरुमा बढी देखिन्छ।
किन यसलाई कन्भर्सन–डिसोसियटिभ डिस्अर्डर भनिन्छ?
मानिसको बेहोसी मस्तिष्कमा रहेको तनाव एउटा लक्षण (शारीरिक रोगको लक्षण)मा परिणत हुने हुनाले यसलाई कन्भर्सन–डिसोसियटिभ डिसअर्डर भनिन्छ। त्यस्तै स्ट्रेस डिसोसियसन हुने हुनाले यसलाई डिसोसियटिभ डिस्अर्डर भनिन्छ। किनभने यो रोग लागेको बिरामी रोगदेखि कुनै चिन्ता गर्दैनन् र खुसी नै देखिन्छन्।
कस्तो अवस्थामा यो रोग बढ्छ?
जब मानिसहरु यो रोग बारे बढी ध्यान दिन्छन् तब यो रोग बढ्छ। कतिपय बिरामीहरु छारे रोगका लक्षण देखाई आउँछन्। तर त्यस्तो होइन कन्भर्सन डिसोसिेयटिभ डिस्अर्डर मानिसको उपस्थितिमा मात्र हुन्छ। छारेरोग र कन्भर्सन–डिसोसियटिभलाई छुट्टाउने तरिका यस प्रकार छन्:
छारे रोग
-मानिसको उपस्थितिमा मात्र हुँदैन जति बेला पनि हुन सक्छ।
-बिरामी अचानक ढल्छ।
- चोटपटक लाग्न सक्छ र जिभ्रो टोकिन सक्छ
-मुखमा फिँज आउँछ।
- प्रायः आँखा हल्लिन्छन्।
-निन्द्रामा पनि देखिन्छ।
- प्राय स्टे«स फ्याक्टर हुँदैन।
कन्भर्सन डिसोसिेयटिभ डिस्अर्डर
- मानिसको उपस्थितिमा मात्र हुन्छ।
- बिरामी आफूलाई अप्ठ्यारो भयो भनि अरुलाई बोलाउँछ।
-प्रायः चोटपटक लाग्दैन।
- मुखमा फिँज आउँदैन।
-प्रायः आँखा हल्लिदैनन्। आँखा खोल्ने बन्द गर्ने हुन सक्छ।
- निन्द्रामा कहिल्यै देखिदैन बरु ओछ्यानमा पल्टेर सोचेको बेलामा हुन सक्छ।
- प्रायः स्ट्रेस फ्याक्टर हुन्छ।
अन्धविश्वास र मानसिक स्वस्थ्य
समाजमा भएको अन्धविश्वासले पनि मानसिक रोग ल्याउने गर्छ। भूत, प्रेत, पिचास लाग्यो भनी आत्तिने, रातको समयमा डराउने यी प्रेतआत्माले अध्यारोमा पछ्याउछ भन्ने गलत धारणा छ जसले गर्दा अनावश्यक तनाव हुने, मन आत्तिने, झस्किने गर्दा मानसिक रोग लाग्न पुग्छ। साथै धामी, झाँक्री लगाई मानसिक रोगको उपचार गर्दा बिरामी अस्पतालमा आइपुग्दा जटिल अवस्थामा पुगिसकेको हुनाले रोग निको पार्न कठिन हुन्छ। समाजमा मानसिक रोग लागेको मानिसलाई बोक्सिको आरोपलगाई कुट्ने चलन हट्नुपर्छ। विभिन्न चाडपर्वमा रक्सी पिउने चलन छ, यसले कुलतकौ बाटो अगाँल्छ साथै शिवरात्रीमा देवताको पुजा गर्ने निहुँमा गाँजा लिनाले मानसिक रोग निम्ताउछ।
भगवानको विश्वास गर्नु पुजा गर्नु राम्रो कुरा हो। यसबाट मनमा शान्ति मिल्छ तर धर्मको नाउँमा शोषण हुनु हुदैन।
कन्भर्सन डिस्अर्डर बारे जान्नै पर्ने कुराहरु
-यस्ता बिरामीलाई कहिलेकाही अचानक श्वास फेर्न गाह्रो हुने, कहिले पुरै निको हुने र कहिले अत्याधिक बढ्ने हुन्छ।
बिरामीसँग धेरै मानिसको भिड हुनुहुँदैन। जसबाट रोग बढ्न पाउदैन।
- कति बिराम हरुमा यो समस्या बारम्बार दोहोरिन सक्छ। तर अन्तिम हुदैन। २, ३ हप्तामा यो समस्या बिस्तारै बिस्तारै निको हुन्छ।
- बिरामीको लक्षणलाई वास्ता गर्नुहुदैन, वास्ता गरे यो रोग झन बढ्न सक्छ।
- मनभित्र पिडा बढी भएमा यस्तो हुन्छ। जुन बिरामीलाई थाहा नै हुँदैन।
- कतिपय बिरामीलाई बोक्सीको आरोपमा कुटिन्छ, जुन सतप्रतिशत गलत हो।
कसरी मानसिक रुपमा स्वस्थ बन्ने?
- अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने।
-अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने।
- पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने।
- हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने।
- जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने।
-लागूपदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले यी वस्तुबाट टाढा रहने।
- दैनिक जिवनमा स्वस्थ प्रतिस्पर्धा गर्ने।
- समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने।
-अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने।
-आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ।
-मनलाई सधै शान्त राख्ने।
-(सेडाई नशा तथा मानसिक रोग विशेषज्ञ तथा नेपाल मनोचिकित्सक संघका अध्यक्ष हुन्।)