काठमाडौं- वीर अस्पतालको विस्तार गुरुयोजना अनुसार अस्पतालमा नयाँ भवनसहितको अत्याधुनिक सुविधा थप गर्ने प्रस्ताव गरिएको छ। अस्पताल विस्तार योजनासहित हाल पुराना संरचना रहेका भवनहरु भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुगेको छ।
वीर अस्पतालले अस्पतालको विकास र विस्तार गुरुयोजना अनुसार तयार पारेको प्रस्ताव अनुसार स्वास्थ्य मन्त्रालयले नयाँ भवन बनाउने प्रस्तावका विषयमा छलफल र आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार वीर अस्पतालको नयाँ मेडिकल भवन दुई तला भूमिगत पार्किङ र माथि सात तलाको हुने प्रस्ताव गरिएको छ। मेडिकल भवन हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यालय रहेको भवन र सोसँग जोडिएका पुराना भवनहरु भत्काएर उक्त स्थानमा बनाइने छ।
![](https://swasthyakhabar.com/uploads/editor/2022-07-26/165945402bir hospital medical building2.jpg)
नयाँ बनाइने भवनमा १०० शय्या क्षमताको आकस्मिक कक्षदेखि ६५ शय्या क्षमताको आइसीयूसम्म राख्ने र अत्याधुनिक क्षमताको प्रयोगशालादेखि बिरामीका लागि सुविधाजनक क्याबिनदेखि शय्याहरु रहने प्रस्ताव गरिएको छ।
वीर अस्पतालको आकस्मिक कक्ष अहिले ओपिडी भवनमा रहेको छ। उक्त ओपिडी भवन भने भत्काइने छैन।
![](https://swasthyakhabar.com/uploads/editor/2022-07-26/170000496bir hospital medical building3.jpg)
नयाँ भवनमा ७० शय्याको एचडीयू, ९० शय्याको मेडिसिन यूनिट, ३० शय्याको पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लीप मेडिसिन, ४० शय्याको इन्डोक्राइनोलोजी, ४० शय्याको न्यूरोलोजी, ३० शय्याको हेपाटोलोजी, ४० शय्याको ग्याष्ट्रोइन्टेरेलोजी, ४० शय्याको कार्डियोलोजी, ४० शय्याको नेफ्रोलोजी, ३० शय्याको जेरियाट्रिक मेडिसिन, हेमाटोलोजी, र्युलमाटोलोजी, मेडिकल अंकोलोजी, आइसोलेसन वार्ड भने २०/२० शय्याको राख्ने प्रस्ताव गरिएको छ।
यहाँ रातो घेरा रहेका भवन भत्काएर बनाइने छ नयाँ भवन
![](https://swasthyakhabar.com/uploads/editor/2022-07-26/165806516bir building.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2022-07-26/165853637bir site.jpg)
नयाँ भवनको भुई तलामा १०० शय्या क्षमताको आकस्मिक कक्ष, प्रयोगशाला, लगायत रहने प्रस्ताव गरिएको छ।
दोस्रो तलामा शल्यकक्ष, रेडियोलोजी लगायतका विभाग तथा सेवा, तेस्रो तलामा आइसीयू तथा क्याबिनहरु, चौथो तलामा स्लीप ल्याब, ब्रोन्कोस्कोपी, पिएफटी, प्यासेन्ट प्रिपेरेसन लगायत, पाँचौ तलामा इन्डोस्कोपी, न्यूरो ल्याब, रिह्याबिलिटेसन, काउन्सेलिङ, ट्वीन क्याबिन, पाँचो तलामा भीभीआइपी, भीआइपी कक्ष, वार्डहरु, काउन्सेलिङ रुमदेखि डर्मा ओटी लगायत राख्ने प्रस्ताव गरिएको छ।
यसैगरी, छैठौं तलामा वार्डहरु, फ्याकल्टी रुम, क्लासरुमहरु र सातौं तलामा पुस्तकालय, लेखा तथा प्रशासन, चाइल्ड केयर युनिट लगायत हुने प्रस्ताव गरिएको छ।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले वीर अस्पताल विस्तार गुरुयोजना अनुसार नै पुराना संरचना भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव मन्त्रालयमा पठाइएको जानकारी दिए।
'हामीले पठाएको प्रस्ताव मन्त्रालयमा नै छ। मन्त्रालयबाट काम अगाडि बढाउनु भनेर उक्त प्रस्ताव पास भएर आए लगत्तै हामी आवश्यक काम अगाडि बढाउने छौं,' उनले भने।
![](https://swasthyakhabar.com/uploads/editor/2022-07-26/170034695bir hospital medical building 4.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2022-07-26/170041766bir hospital medical building 5.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2022-07-26/170054861bir hospital medical building 6.jpg)