काठमाडौं - शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एक सिटिटिभी फुटेज बाहिरियो।
जहाँ एक व्यक्ति माथि अमानवीय तरिकाले कुटपिट भइरहेको देखिन्छ। सुरुमा उनलाई पछाडीबाट मुक्काले हिर्काइन्छ। ती व्यक्तिको प्रहारबाट उनी भुईमा लड्छन्। ती व्यक्ति टाउको र अनुहारमा लात्ती हान्न छाड्दैनन्।
उनी अनुहार बचाउन खोज्छन्। र, उठ्न खोज्छन्। तर भुईबाट उठ्न नपाउँदै उनी माथि फेरी पनि लात्ती हानिन्छ। ती व्यक्तिको लात्तीबाट उनी लड्न थाल्छन्। र, पछाडीबाट केही व्यक्तिले उनलाई समाइहाल्छ। यही क्रममा त्यहाँ रहेका व्यक्तिहरुले ती व्यक्तिलाई रोक्नछन् र उनलाई बचाउन खोज्छन्।
यो घटना प्रतिष्ठानको इमरजेन्सी कक्षभित्रको हो। यसरी निर्मम तरिकाले टाउकोमा लात्ती हान्ने व्यक्ति हुन्, प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाही। र, आक्रमण भएका व्यक्ति डा करण शाह हुन्।
बिहानको ९ बज्दै थियो। डा शाह इमरजेन्सी कक्षमा बिरामीहरुलाई हेर्दै थिए। कुटपिट गर्ने धनबहादुर शाही आफ्नो बच्चाको टाका खोल्न भन्दै इमरजेन्सी कक्षमा पुगे। टाका खोल्न अटोक्लेभ तयार गर्नुपर्ने भन्दै डा शाहले उनलाई शाहीलाई एकछिन पर्खन आग्रह गरे। उनले मानेनन्। उल्टै शाहलाई अपशब्द प्रयोग गरी गाली गर्दै इमरजेन्सी कक्षबाट बाहिर निस्किए। र, केही क्षणमै सिटिटिभी फुटेजमा देखिए जस्तै डा शाहलाई मुक्का र लात्ती हान्न थाले।
अस्पतालका एक चिकित्सक नाम नबताउने सर्तमा भन्छन्, ‘उहाँ आफ्नो बच्चा लिएर टाका खोल्न आउनु भएको थियो। अटोक्लिप तयार गर्नुपर्ने भन्दै डा करणले एकछिन पर्खन आग्रह गरे। तर उहाँले अहिले गर्दैनस् भन्दै मुख छाड्न थाल्नु भयो। र उहाँलाई लात्तीले हिर्काउनुभयो।’
ड्युटीमै रहेका चिकित्सक माथि प्रतिष्ठानकै कर्मचारीबाट आक्रमण हुनु सामान्य कुरा होइन। त्यहाँ कार्यरत केही चिकित्सकहरु आफुलाई न्याय र दोषि माथि कारबाही गर्न गुहार गर्दै प्रहरी कहाँ पुगे। तर उनीहरुको उजुरी प्रहरीले लिन मानेन्। सुरुमा प्रतिष्ठानकै प्रशासनबाट घटना लुकाउन खोजिएको एक चिकित्सक बताउँछन्। उनका अनुसार बिहान घटना घटेपनि प्रहरी र प्रतिष्ठानलाई जानकारी गराउँदा पनि सुनुवाई हुन सकेको थिएन।
प्रहरीले उजुरी लिन नमानेपछि उनीहरुले नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीलाई सम्पर्क गरे। र, दोषिलाई कारबाही र पीडितलाई न्याय दिलाउन आग्रह गरे। संघको पहलमा राति ८ बजेबाट प्रहरीले डा शाहको उजुरी लिएको ती कर्मचारी बताउँछन्।
‘यो घटनालाई लुकाउन खोजिएको थियो। प्रतिष्ठान र प्रहरीमा उजुरी दिन गएपनि सुनुवाई भएको थिएन,’ उनले भने, ‘हामीले नेपाल चिकित्सक संघलाई खबर गर्यौँ र पहल गरिदिन आग्रह गरेपछि मात्र प्रहरीले राति ८ बजे मात्र उजुरी लिएको थियो।’
संघका अध्यक्ष डा कार्की यो घटनामा प्रतिष्ठानको प्रशासन र व्यवस्थापन पक्षले असहयोग गरेको बताउँछन्। डा शाह माथि अमानवीय तरिकाले कुटपिट भएको सिसिटिभी फुटेजमा स्पष्ट रुपमा देखिएपनि प्रहरीले उजुरी लिन नमानेको उनले बताए। अध्यक्ष कार्कीले पहल गरिदिन गृह मन्त्रालय र त्यहाँको डिएसपीसँग कुरा गरेपछि मात्र किटानी जाहेरी दर्ता भएको थियो। कुटपिट गर्ने शाही हाल प्रहरीको हिरासतमा छन्।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले कुटपिट गर्ने कर्मचारी शाहीलाई ४५ दिनको निलम्बन गरिएको बताए।
उनले भने, ‘हाम्रो स्टाफले चिकित्सक माथि कुटपिट गर्नु भएको रहेछ। उहाँलाई हामीले ४५ दिनको निलम्बन गरेका छौँ। साथै घटनाको बारेमा छानबीन गर्न छानबीन समिति पनि बनाएका छौँ। हाल उहाँ हिरासतमा हुनुहुन्छ।’
तर प्रतिष्ठानले बनाएको छानबीन समिति प्रति नेपाल चिकित्सक संघ सहमत छैन। सिसिटिभी फुटेजमा डा शाह माथि कुटपिट भएको स्पष्ट रुपमा देखिएपछि छानबीन के का लागि भन्ने अध्यक्ष कार्कीको प्रश्न छ।
उक्त समितिमा संघको प्रतिनिधि नभएकाले निष्पक्ष तरिकाले छानबीन हुनेमा उनको आशंका समेत छ। घटना बारे विस्तृत रुपमा बुझ्न संघको तर्फबाट उपाध्यक्ष डा अनिल बिक्रम कार्की, महासचिव डा बद्री रिजाल र कोषाध्यक्ष डा प्रकाश बुढाथोकी आइतबार जुम्ला जाँदैछन्।
‘जब सिटिटिभी फुटेजमा सबै कुरा स्पष्ट रुपमा देखिएको छ भने छानबीन के का लागि?' डा कार्कीले भने, ‘कुटपिट गर्ने कर्मचारीलाई पुर्पक्षामा राखेर कानूनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।’
कुटपिट डा शाह बिरामी समेत भएका छन्। आइतबारसम्म स्वस्थ रहेका डा शाहलाई शनिबार बिहानदेखि टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने र प्रेसर कम हुने समस्या देखिएको छ। उनलाई हाल स्लाइन पानी चढाएर उपचारमा राखिएको प्रतिष्ठानका छातिरोग विशेषज्ञ डा अनुस्मृति पालले जानकारी दिइन्। कुटपिटबाट उनको टाउकोमा चोट लागेको हुन सक्ने उनको अनुमान छ।
‘उनको टाउकोमा धेरै पटक लात्ती हानिएको थियो। बिहानदेखि टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएपछि उहाँलाई स्लाइन पानी दिएर राखिएको छ। टाउकोमा चोट लागेको छ की भनेर हामीले सिटी स्क्यान गरेर हेर्न लागेका छौँ,’ उनले भनिन्।
प्रतिष्ठानमा स्वास्थ्य क्षेत्र बुझेको नभई राजनीतिक नियुक्ति हुँदा यस किसिमको समस्या आएको त्यहाँका चिकित्सकहरुको बुझाई छ। अस्पताल तथा प्रतिष्ठानको प्रशासनमा पनि स्वास्थ्यकै व्यक्तिहरु भए मात्र चिकित्सक र स्वास्थ्य सेवाको महत्व बुझ्न सक्ने उनहरुको भनाई छ।