काठमाडौं– स्वास्थ्यखबर 'दशौँ यूनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' आज हुँदैछ। यसवर्षको 'यूनाइटेड इमेजिङ हेल्थ अवार्ड' कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिँदै छ।
स्वास्थ्य क्षेत्रमा विशिष्ठ सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुको योगदानको पहिचान र सम्मान गर्ने उद्देश्यका साथ संस्थाले उक्त अवार्ड वार्षिक रुपमा वितरण गर्दै आएको छ। स्वास्थ्य खबरपत्रिका १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा राजधानीमा एक कार्यक्रमका बीच अवार्ड वितरण गरिने छ।
कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा विभिन्न तह र तप्कामा रही सेवा पुर्याएका स्वास्थ्यकर्मीहरुलाई अवार्ड प्रदान गरिने छ।
यसवर्ष विभिन्न नौवटा विधामा अवार्ड प्रदान गरिने छ। कोभिड महामारीको जोखिममासमेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपानेले जानकारी दिए।
'कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ,' न्यौपानेले भने, 'यसवर्षको अवार्ड खोप नपाएर मानिसहरु कोभिड संक्रमणसँग त्रसित भएरहेका बेला आफ्नो ज्यान जोखिममा पारेर कर्तव्य पालना गर्ने र मानव जीवन बचाउन योगदान पुर्याएका समग्र स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ।'
उनका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरुलाई विशिष्ठ सेवा सम्मानले सम्मानित गरिने छ। यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिने छ।
आज (शुक्रबार) काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएकोसमेत न्यौपानेले बताए। अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित निर्णायक समिति गठन गरिएको थियो।