देश यतिबेला निर्वाचनमय बनेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्रहरु घरदैलो र चुनावी अभियानमा व्यस्त छन्। संघीयता कार्यान्वयनपछि २०७४ सालमा भएको पहिलो निर्वाचनको पाँच वर्षे कार्यकाल सकिएर यो दोस्रो निर्वाचन हुँदैछ। निर्वाचन नजिकिदै गर्दा हामीले स्वास्थ्यक्षेत्रका विज्ञहरुसँग राजनीतिसँगै जोडिएका स्वास्थ्यका विविध विषयमा कुराकानी गरिरहेका छौं। राजनीतिक दलहरुले उठाएका स्वास्थ्यका एजेण्डा, त्यसको कार्यन्वयनको पक्ष र राजनीतिज्ञहरुले बुझ्नुपर्ने स्वास्थ्यका विषय के हुन्? नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत भइसकेका क्यान्सर रोग विशेषज्ञ डा अञ्जनीकुमार झासँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानीः
निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घोषणापत्र जारी गरिरहेका छन्। उनीहरुले जारी गरेको घोषणापत्र कत्तिको हेर्नु हुन्छ?
घोषणा पत्र हेर्ने गरेको छु। केही दिनअघि कांग्रेसले जारी गरेको घोषणा पत्र हेरे। कांग्रेसको घोषणापत्र हेर्दा यथार्थपरक नै लाग्यो। चाहेको खण्डमा आगामी पाँच वर्ष भित्रमा गर्न सकिन्छ भन्ने खालको योजना नै घोषणा पत्रमा समेटिएको छ। कांग्रेसले बनाएको घोषणापत्र कार्यान्वयन गर्ने हो भने पाँच वर्ष भित्रमा पुरा गर्न सकिन्छ। ३ वर्ष भन्दा मुनिका बालबालिका र ७३ वर्ष माथिका नागरिकको निःशुल्क स्वास्थ्य उपचार, बिमाको विषय समेटिएको छ। सरकारले चाहने हो भने यो पुरा गर्न सकिन्छ। नागरिकको आवश्यकता पनि हो। अरु राजनीतिक दलहरुको घोषणा पत्रमा केहीको हेरें। स्वास्थ्यलाई मौलिक अधिकार भनियो तर त्यो अधिकार भित्र के पर्छ भन्ने प्रष्ट छैनन्।
स्वास्थ्य उपचार मौलिक हक भनेपछि त कुनै व्यक्ति स्वास्थ्य उपचारका लागि अस्पताल पुगेपछि टिकट काट्दादेखि चिकित्सकसँग परामर्श लिँदासम्म सहज पहुँच र सेवा प्राप्त गर्नुपर्छ नि। कागजमा मात्रै मौलिक हक भनेर भएन। जनताले स्वास्थ्य सेवा लिन जाँदा अधिकार पाएको आभास हुनुपर्छ। डाक्टर र स्वास्थ्यकर्मीको व्यवहार, बिरामीको समस्या पनि बुझ्ने किसिमको प्रणाली र नियम भइदियो भने बल्ल राजनीतिक दलहरुले घोषणा पत्रमा लेखेजस्तो नागरिकले स्वास्थ्य सेवा पाउन सक्छन्। अरु राजनीतिक दलहरुले स्वास्थ्यलाई छोएका छन् तर समस्या समाधानका कुरा घोषणा पत्रमा त्यति प्रष्ट देखिँदैन । त्यसैले उनीहरुको घोषणा पत्रको विषयमा धेरै कमेन्ट नगरौं।
देशभर चुनावी माहोल छ। पाँच वर्ष अघि दलहरुले स्वास्थ्यका विषयमा जारी गरेका घोषणाहरु कति पुरा भएजस्तो लाग्छ?
यो पाँच वर्षमा पुरा हुन सकेन। जसरी २०७४ सालको चुनाव अघि पार्टीहरुले राजनीतिक स्थीरताको कुरा गरेका थिए। तर यो पाँच वर्षमा त्यस्तो हुन सकेन। त्यहि कारणले सरकार परिवर्तन, सरकार जोगाउने र ढाल्ने काममा राजनीतिज्ञ व्यस्त भए। उहाँहरुले घोषणापत्रमा लेखेको कुरा, उहाँहरुले बोलेका कुराहरु राम्रै थियो। तर ती घोषणापत्रमा लेखेका र नेताहरुले बोलेका कुराको कार्यन्वयनको पक्ष निकै कमजोर भयो। जसले गर्दा राजनीतिक प्रणाली भन्दा पनि व्यक्ति र राजनीति प्रति आम मानिसमा वितृष्णा बढेको छ। नेताहरु आवश्यकता भन्दा बढी बोल्नुहुन्छ तर बोलेका कुरा पुरा गर्नुहुन्न। पाँच वर्ष भनेको लामो समय हो। विगतमा राजनीतिज्ञहरुले बोलेका कुरा पुरा गरेजस्तो अनुभूति आम नागरिकले गरेका छैनन्।
तपाईं स्वास्थ्य अनुसन्धान परिदषद्को अध्यक्षको रुपमा पनि जिम्मेवारी सम्हाल्नु भएको थियो। क्यान्सर रोग विशेषज्ञ भएर लामो समय देखि चिकित्सकीय क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। स्वास्थ्य क्षेत्रमै काम गरिरहदा धेरै मन्त्रीहरुसँग काम गर्ने मौका पाउनुभयो। काम गर्ने क्रममा यहाँले कुन मन्त्री राम्रो र जनस्वास्थ्यप्रति गम्भीर पाउनुभभयो?
अनुसन्धान परिषद्मा झण्डै ३ वर्ष बसे। एकजना बिराटनगरतिरको मन्त्री हुनुहुन्थ्यो उहाँले हटाउन खोज्नु भयो, हटियो। परिषद्भन्दा अगाडि नेपाल चिकित्सक संघमा महासचिव र अध्यक्ष हुँदा पनि १२ वषमा धेरै मन्त्रीहरु हेरे। यो अवधिमा मैले १२, १५ वटा स्वास्थ्यमन्त्रीलाई हेरे। मैले अनुभव गर्दा उमेरले मात्र नभइ जाँगर र जोशले पनि भूमिका राख्छ। मैले हेर्दा गगन थापा स्वास्थ्य मन्त्री हुँदा राम्रो काम भएको थियो। जुन किसिमले उहाँको खटाइ बिहानदेखि बेलुकासम्म स्वास्थ्य मन्त्रालयमा हुन्थ्यो त्यो निकै राम्रो थियो। उहाँको शारीरिक मेहनतसँगै भिजन पनि थियो। उहाँसँग काम गर्दा मलाई के लाग्यो भने यो व्यक्तिसँग प्रष्ट भिजन, मिसन छ। उहाँले ल्याएका केही एजेण्डाहरु बिमा, डायलाइसिस, क्यान्सर तथा अन्य दीर्घरोगीका कुराहरुमा उहाँको भिजन र मिसन हेर्दा उहाँले समाजलाई अध्ययन गरेर समस्यालाई महसुस गरेर योजना बनाएको जस्तो लाग्यो।
स्वास्थ्य मन्त्रीमा गगन थापा हुँदाको समय मैले अहिले सम्झदै गर्दा उहाँले गरेका काम सम्झन लायक छ जस्तो लाग्छ। उहाँले सुरु गरेका योजना र कामलाई निरन्तरता दिनुपर्छ। कुनैपनि राजनीतिज्ञले आफू पदमा रहदा यस्तो काम गर्नुपर्छ जुन काम आफू पदबाट हटेपछि पनि सम्झन लायक होस्। मैले हेर्दा जतिपनि मन्त्री हुनुभयो उहाँहरुलाई तपाईं मन्त्री हुँदा के काम गर्नुभयो भन्दा सम्झन लायक काम उहाँहरु आफैंले भेटाउनु हुन्न।
गगन थापाको पालामा उहाँले गरेका कामहरु दस्ताबेजमा पनि छन्। सम्झन लायक पनि छन्। म उहाँसँगै काम गरेको हुनाले स्वास्थ्यलाई कता डोर्याउने हो भन्ने कुरामा उहाँसँग मिसन र भिजन प्रष्ट छ। त्यसैले मैले सम्झिनै पर्दा मन्त्रीको रुपमा म गगन थापालाई नै सम्झन्छु।
पाँच वर्ष अघिको निर्वाचनपछि स्थायी सरकार बन्ने अपेक्षा थियो। तर त्यसो भएन। यो अवधिमा दुई जना प्रधानमन्त्री र स्वास्थ्यमा १० जना मन्त्री भए। यसले स्वास्थ्य क्षेत्रमा कस्तो असर गर्यो ?
प्रधानमन्त्रीहरुले काम त गर्नुहुन्छ तर त्यो काम गर्ने तरिकाबाट देश र युवाले चाहेको कुरा पुरा हुन्छ जस्तो मलाई लाग्दैन। अबका दिनमा को कति वर्ष जेल बसे। कति लठ्ठी खाए, कसले कति जग्गा जमिन बेचेर राजनीति गरे यी सबै कुराहरु सम्झिने फुर्सद युवाहरुलाई छैन। त्यो सम्झिन आवश्यक पनि छैन। जुनसुकै पार्टीका नेताहरुले पनि भन्नुहुन्छ म यति समय जेल बसे। तर उहाँहरु जति जेल बस्नुभयो त्यसको फल पनि पाइसक्नु भयो। त्यसैले अब जो व्यक्तिले काम गर्न सक्छ। जसले समय दिन सक्छ। जसले समाजलाई बुझ्न सक्छ, ब्युरोक्याटलाई डोर्याउन सक्छ त्यस्तो मन्त्री आउनुपर्छ। अहिलेसम्मका ब्युरोक्र्याट्स कमजोर भन्न खोजेको त होइन। तर भिजन दिन सक्नुपर्छ।
शिक्षा, स्वास्थ्य गृह, विदेश कुनैपनि मन्त्रालयमा आफ्नो मन्त्रालयको भिजनबारे सचिवहरु नै अलमलमा हुनुहुन्छ। उहाँहरु पनि मन्त्रीमा भर पर्नुहुन्छ। मन्त्रीले काम गर्दैनन् भने अब कर्मचारीले उनीहरुको संरक्षण गर्ने होइन विरोध गर्नुपर्छ। मन्त्री बनेपछि आफ्नो मन्त्रालयको लागि ३ घण्टा पनि समय नदिने मन्त्रीले कसरी सुधार गर्न सक्छ। मन्त्रीको वरपर घुम्ने १०,१२ जना मात्रै हुन्छन्। मन्त्रीहरु उहाँहरुले भनेअनुसार को विदेश जाने, कसलाई नियुक्त गर्ने, कसको सरुवा गर्ने जस्ता काममा अल्झिएर मात्र बस्नुहुन्छ। उहाँहरु आफ्नै विवेक प्रयोग नै गर्नुहुन्न।
जसले गर्दा स्वास्थ्यकर्मी विदेश जान बाध्य छ। त्यो विदेश पलायन रोक्न किसिमको योजना मन्त्रीहरुसँग हुँदैन। नेताहरु विगतमा बम फोड्न सिपालु अहिले बोलीको बाँण फोड्न मात्र सिपालु। जसले गर्दा स्वास्थ्य क्षेत्रको सुधारमा निरन्तरता हुन सकिरहेको छैन।
यहाँ क्यान्सर रोग विशेषज्ञ हुनुहन्छ। क्यान्सर रोगकै विषयमा कुरा गरौं। नेपालमा क्यान्सर रोगको अवस्था कस्तो छ?
क्यान्सर नेपालमा मात्रै होइन संसारमै बढ्दो क्रममा छ। यसको तीनचार वटा कारणहरु छन्। पहिलो कारण त अप्रत्यक्ष रुपमा हाम्रो खानपान तरकारी तथा खाद्यबालीमा प्रयोग भइरहेको विषादीका कारण पनि क्यान्सर बढिरहेको छ। आँप, केरा पकाउने रसायन, तरकारीमा इन्जेक्सनको प्रयोग गरी छिटो बढाउने तथा विषादीको प्रयागले पनि क्यान्सर बढेको छ।
विकासशिल राष्ट्रहरुमा सडक निर्माण, भवन निर्माण तथा सवारीसाधनबाट आउने धुलोधुँवाले पनि क्यान्सर बढाएको छ। पारिवारीक जीवनको तनाव, आर्थिक समस्याका कारण नियमित स्वस्थकर जीवनयापन नगर्दा पनि समस्या देखिएको छ।
अर्कोकुरा मानिसहरुमा रोगप्रति चेतना बढेको छ। जसले गर्दा कुनै समस्या भयो भने अस्पतालमा जाँच गराउनेहरु बढेका छन्। क्यान्सर पहिचानका प्रविधिहरु पनि बढेका छन्। पहिला पहिला मानिसहरु बिरामी हुन्थ्ये, मृत्यु हुन्थ्यो तर किन मृत्यु भयो थाहै हुँदैनथ्यो। अहिले भने रोग पहिचान हुन थालेको छ। जसले गर्दा पनि क्यान्सरको संख्या बढेको छ। अर्को अन्य कारणले पनि क्यान्सर रोग नै पनि बढेको छ।
क्यान्सर रोग पहिचान, उपचार तथा रोग न्युनिकरणका लागि नीतिगत तहमा कस्तो काम हुनुपर्छ?
गगन थापा नै स्वास्थ्य मन्त्री हुँदा शहरहरुमा ठाउँ ठाउँमा पार्क बनाउने, व्यायम गर्ने ठाउँ बनाउने, साइकलमैत्री सडक बनाउने अभियानका साथ काम सुरु गर्नुभएको थियो । जसले गर्दा कम पैसामा फिजिकल एक्सरसाइज गर्न सक्ने वातावरण भएको थियो। जसले गर्दा क्यान्सर लगायत अन्य रोगहरुबाट बच्न सकिन्छ। खाद्य पदार्थमा विषादीको प्रयोग न्युनिकरण गर्नेबारे पनि बीचबीचमा हल्लाहुन्छ अनि फेरी सेलाउछ। सरकारले नीतिगत रुपमा विषादीको प्रयोग न्युनिकरणका लागि बलियो नीति हुनुपर्छ। युरिया मल अहिले धानमा भन्दा बढी माछापोखरीमा प्रयोग भइरहेको छ। भन्न त हामीले ज्युदो माछा भन्छौं तर विषादीले बढेको माछा खान योग्य छ वा छैन कसले परीक्षण गर्ने? सवारी साधानमा धुलोधूवा नियन्त्रण गर्ने भनिएको छ तर बाटोमा धुँवा उडाउँदै हिडिरहेका सवारी साधानलाई कारबाही भएको देखिँदैन।
स्वास्थ्य प्रणाली सुधारका लागि प्रिभेन्सनमा ध्यान दिनुपर्छ, डाइग्नोष्टिकका सुविधा बढाउनुपर्छ। कोभिडको समयमा पनि ल्याबको हाहाकार भयो। डाइग्नोष्टिक सुविधा बढाउनका लागि मेडिकल इक्प्युमेन्ट ल्याउदा छुटहरुको व्यवस्था गर्नुपर्छ।
सरकारले पुराना मेडिन ल्याउन नपाइने व्यवस्था गरेको छ। सरकारले नयाँ मेसिन ल्याउदा सुलभ र सहज बनाएमा बिरामीलाई रोग पत्ता लगाउन र उपचार गर्न धेरै खर्च गर्नु पर्दैन। क्यान्सरकै उपचारमा प्रयोग हुने रेडियसन मेसिन ल्याउनु पर्दा मन्त्रालय र विभागमा एम महिना धाउनुपर्छ। क्यान्सर र अन्य जुनसुकै रोगको उपचारका लागि पनि कस्तो अस्पता कहाँ खोल्ने भनेर सरकारले निर्णय गर्न सक्नुपर्छ।
कुनै पनि अस्पताल संचालन गर्दा त्यो एरियामा कुन रोगको प्रकोप बढी छ। कुन रोगका बिरामी धेरै आउन सक्छ यसको अनुसन्धान हुनुपर्छ। अस्पताल जति एकै ठाउँमा खोलेर देशभरका मान्छे त्यही थुपार्ने गरिनुहुदैन। अहिले जुन मन्त्री आएको उसले बिमा मापदण्ड कसैले प्रादेशिक कसैले केन्द्रिय अस्पताल बनाएका छन्। यसरी वर्गिकरण गर्न मिल्दैन। अस्पताल रोगको उपचारका लागि हुन्छ। त्यसैले जनसंख्या र जनघनत्वका आधारमा जनशक्तिको उपलब्धता अनुसार अध्ययन गरेर मात्र अस्पताल बनाउनुपर्छ। अस्पतालको बेड संख्यालाई मात्र आधार बनाएर जनशक्ति मिलाउदा बिरामीको चाप अनुसार जनशक्ति छैनन्। त्यसैले जनघनत्वका आधारमा जनशक्तिको दरवन्दी हुनुपर्छ। जसले गर्दा पर्याप्त चिकित्सक तथा स्वास्थ्यकर्मी हुन्छन् र गुणस्तरिय स्वास्थ्यसेवा दिन सकिन्छ।
वीर अस्पतालको काठमाडौंमै बेड संख्या बढाउनुभन्दा सातै प्रदेशमा वीर अस्पताल किन नबनाउने? सातै प्रदेशमा वीर अस्पताल बनाएर सातै प्रदेशमा जनशक्ति परिचालन गर्न सकिन्छ। काठमाडौंमै बेडसँख्या बढाएर काठमाडौंकै जनसंख्या किन बढाउने? संघीयता आएको देशमा प्रदेश र स्थानीय तहमै सेवा पुग्नपर्छ। अर्को जनसंख्या बढ्दै गएको छ तर दरबन्दी थप भएकै छैन। स्वास्थ्यमा गरिएको लगानी खर्च होइन, स्वस्थ नागरिक उत्पादन हुन्छ।
स्वस्थ नागरिक भएपछि स्वास्थ्य क्षेत्रमा मात्र होइन, सबै क्षेत्रमा फाइदा हुन्छ। स्वास्थ्य क्षेत्रलाई डेविट र क्रेडिटको हिसाब लगाउन हुदैन। नागरिकलाई स्वस्थ बनाउन स्वास्थ्य क्षेत्रमा नाफा नखोजि लगानी गर्नुपर्छ। अस्पतालको जनघनत्वका आधारमा जनशक्ति थप्नुपर्छ।क्यान्सर लगायत हरेक रोग न्युनिकरणका लागि प्रिभेन्सन, दरबन्दी, इक्युप्मेन्ट र दरबन्दीमा रहेर काम गर्नेको सेवा सुविधाको विषयमा सरकारले ध्यान दिनुपर्छ।
अन्त्यमा समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि यहाँको के सुझावहरु छन्?
पहिलो कुरा घरदैलोमा पुगिरहेका उम्मेदवारहरुलाई जनताले प्रश्न गर्नुपर्छ। जनस्वास्थ्यलाई मौलिक हक भनिएको छ। स्वास्थ्यमा सुधार केके गर्नुहुन्छ भनेर हरेक जनताले आफूसँग भोट माग्न आउने नेतालाई सोध्नुपर्छ। उहाँहरुको मनमष्तिष्कमा हाम्रो समस्या पुर्याउने बेला यही हो। त्यसैले जनताहरु अहिले मासु,रक्सि,भात चिउरामा अल्झिन भएन। आफ्नो मतदान दिने नेतालाई प्रश्न सोध्नुस् र आफूले चाहेको नेपाल, चाहेको संरचनाबारे उहाँहरुलाई बताउनुस्। त्यसपछि उनीहरुले संसदमा पुगेपछि तपाईंको आवजलाई नीतिगत तहमा लगेर कार्यन्वयन गरुन्।