आज विश्व अकुपन्चर सेवा दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइदैं छ। दिवसको अवसरमा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत अकुपन्चर विशेषज्ञ डा जया सत्यालसँग अकुपन्चर कस्तो खालको सेवा हो? नेपालमा कहिलेदेखि सुरु भयो? कस्ता रोगमा यो सेवा प्रभावकारी हुन्छ? लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्।
नेपालमा पहिलो पटक अनुपन्चर दिवस मनाइएको छ। अकुपन्चर विशेषज्ञको रुपमा यहाँलाई कस्तो लागिरहेको छ?
यो म लगायत सम्पूर्ण अकुपन्चर विशेषज्ञका लागि सुखद कुरा हो। हुन त नेपालमा २०४१ सालदेखि अकुपन्चर सेवा थियो। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पहिलो पटक अकुपन्चर दिवसको रुपमा मनाउँदै छ। हामी धेरै खुसी छौं।
अकुपन्चर कस्तो खालको सेवा हो?
अकुपन्चर सेवा एउटा चिकित्सा विधा हो। अकुपन्चर दुईवटा शब्द मिलेर बनेको छ। अकु को अर्थ सियो र पन्चर भनेको वेदन हो। सामान्य भाषामा भन्नुपर्दा सियोको माध्यमबाट शरीरका विभिन्न संवेदनशील अंगहरुमा वेदन गरेर गरिने चिकित्सा पद्धति हो। यो पद्धति चीनबाट सुरु भएको हो।
यो विधिको उपचार कस्ता कस्ता रोग तथा समस्यामा प्रयोग गरिन्छ? यो उपचार विधि कत्तिको प्रभावकारी देखिएको छ?
विश्व स्वास्थ्य संगठनले सन् २००३ मा नै झण्डै १४० रोगहरुका लागि अकुपन्चर चिकित्सा सेवा प्रभावकारी छ भनिसकेको छ। विभिन्न क्लिनिकल ट्रायल तथा अनुसन्धनहरुबाट हेर्दा विशेषगरी नशा, हाडजोर्नी, महिनावारी हुँदा हुने दुखाई, माइग्रेन, अनिद्रा सम्बन्धी समस्या, विभिन्न प्रकारका बाथ रोगहरु, विभिन्न किसिमका नशा सम्बन्धी रोगहरुमा यो एकदमै उपयोगी छ।
अकुपन्चर विधिबाट उपचार गराउदा यसको साइड इफेक्ट छ वा छैन?
अकुपन्चर विशेषज्ञबाट अकुपन्चर सेवा लिएको छ भने यो विधि साइड इफेक्ट रहित चिकित्सा पद्धति हो। तर पछिल्लो समयमा अकुपन्चर नै नपढेका व्यक्तिले पनि अकुपन्चर सेवा दिँदै हिँडेको देखिन्छ। जथाभावी रुपमा अकुपन्चर गर्दा भने साइड इफेक्ट देखिन सक्छ। नत्र भने दक्ष र विज्ञ व्यक्तिले सेवा दिँदा यसको साइड इफेक्ट हुँदैन।
यो विधिको उपचारमा प्रयोग हुने सियो लगायत उपचारका सामाग्रीको निर्मलीकरण गरिन्छ?
यो निर्मलीकरण त सबैभन्दा मुख्य पाटो हो। अहिले यो चुनौतीको विषय पनि हो। अकुपन्चर सेवा दिइने सानातिना क्लिनिकहरुले अकुपन्चरको प्रयोग गरिसकेपछि निर्मलीकरण नगरेको पाइन्छ। जुन संवेदनशील विषय हो। यदी निर्मलीकरण नगरिने हो भने सुइजन्य पदार्थबाट हुने रोग तथा संक्रमणको जोखिम हुन्छ।
बजारमा जताजतै क्लिनिकहरुमा अकुपन्चर सेवा उपलब्ध छ भनेर विज्ञापन गरेको देखिन्छ। त्यस्ता ठाउँहरुमा यो सेवा लिन हुन्छ?
हामीले अकुपन्चर सेवा लिनुअघि यसको विषयमा राम्रोसँग जानकारी लिनुपर्छ। नेपालमा अकुपन्चर सेवा दिने विभिन्न किसिमका जनशक्तिहरु हुनुहन्छ। सिटिइभिटीबाट उत्पादन भएका पिसिएल तहको जनशक्तिदेखि मास्र्टस् डिग्रीसम्म गरेका जनशक्ति हुनुहुन्छ। अकुपन्चर सेवा लिने व्यक्तिले सेवा दिने व्यक्तिको योग्यताबारे जानकारी राख्नुपर्छ। पिसिएल तहको जनशक्तिले पनि अकुपन्चर सम्बन्धी केही सेवाहरु दिनसक्छन्। त्यो भन्दा माथिल्लो तह अध्ययन गरेको विशेषज्ञ पनि छन्। तर अहिले अकुपन्चर सेवा प्रभावकारी रहेछ भनेर जसले पनि प्रयोग गरेको पनि पाइन्छ। बिरामी पक्षलाई यो विषयमा जानकारी नहुनसक्छ। सामान्य फिजियोथेरापीको क्लिनिकमा अन्य नाममा अकुपन्चर नै गरिएको देखिन्छ। अर्को कतिपय नेचोरोपेथीका साथीहरुले सिलेबसमा थोरै पढेको आधारमा अकुपन्चर गर्नुहुन्छ भने कतिपयले पढ्दै नपढेको व्यक्तिले पनि अकुपन्चर सेवा दिइरहेको हुनसक्छ। त्यसैले सेवा लिनुअघि बिरामी आफैं सचेत हुनुपर्छ।
नेपालमा अकुपन्चर सेवाको सुरुवात कसरी भयो?
नेपालमा २०२८ सालमा अकुपन्चर सेवा सुरु भएको थियो। चिनियाहरुले नेपालमा यो सेवा भित्र्याएका थिए। सुरुमा वीर अस्पतालमा पनि यो सेवा थियो। अहिले भने छैन। आयुर्वेद चिकित्सालय नरदेवीमा २०४१ सालदेखि यो सेवा सुरु भएको हो। २०६४ सालतिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति खुलाएर आयुर्वेदमा स्नातक तहको जनशक्तिलाई अध्ययनका लागि चीनमा पठायो। त्यसपछि अकुपन्चर विशेषज्ञ उत्पादन भए। तर अकुपन्चर विशेषज्ञ उत्पादन भइसकेपछि केही समय अकुपन्चर र आयुर्वेद क्षेत्रमा विवाद आयो। पछिल्लो समयमा जुन अकुपन्चर पढेर आएका स्नातक तहका जनशक्तिले संर्घष पनि गर्नुप¥यो। आफूलाई कानुनी र न्यायीक आधार दिलाउन सर्वोच्च अदालत पनि धाउनुप¥यो। २०७४ साल र २०७५ सालमा सर्वोच्व अदालतबाट पूर्ण फैसला आयो र यसले आयुर्वेदको स्नातकोत्तर सरह नै शैक्षिक उपाधिको मान्यता दिइयो। पछिल्लो समय आयुर्वेद चिकित्सालयमा यो सेवा विस्तार भएको छ। निजी अस्पतालहरुमा पनि यो सेवा विस्तार भइरहेको छ। पछिल्लो समय बागमती सरकारले १३ वटा जिल्लाहरुमा पनि यो सुरु गरेको छ।
नेपालमा अकुपन्चर विशेषज्ञ कति छन्?
सरकारकै छात्रवृतिमा एमडी तहको अध्ययन गरेका झण्डै २० जना जति हुनुहुन्छ। त्यसबाहेक स्नातक तहमा जापान तथा चीनमा पढेर आएका ६ जना र पिसिएल लेबलको जनशक्ति १२५ जना हुनुहुन्छ।
यो उपचार विधिलाई थप विस्तार गर्न के गर्नुपर्छ?
म सन् २००९ मा अकुपन्चर पढ्न जाँदा अकुपन्चर सेवाबारे खासै सुनिदैन थियो। तर अहिले यो सेवा धेरै विस्तार भइसकेको छ। किनकी यो सेवाको प्रभावकारीता छ। अकुपन्चर सेवा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग अन्र्तगत रहेर आयुर्वेदमा उपसमुह थपेर पनि यो सेवा विस्तार गर्न सकिन्छ। आयुर्वेदसँगै एलोपेथिक अस्पतालमा पनि यो सेवा विस्तार गर्न सकिन्छ। अहिले अन्नपूर्ण न्युरो अस्पतालले पनि अकुपन्चर सेवालाई आफ्नो अस्पतालमा सुरु गरेको छ। एलोपेथीसँगै कुनैकुनै सेवामा अकुपन्चर सेवालाई पनि समावेश गरेको छ। जसले गर्दा यो सेवा एकदमै प्रभावकारी देखिएको छ। अब संघीय, प्रदेश र स्थानीय तहको सरकारले आफ्नो स्वास्थ्यका संरचनामा यो सेवा सुरु गर्दा बिरामीलाई एकदमै प्रभावकारी हुनेछ।
आयुर्वेदिक चिकित्सालय नरदेवीमा यो सेवा लिन आउने बिरामीहरु कति छन्?
पछिलो समय यो सेवा लिन आउने बिरामीहरु बढ्दै गएका छन्। आयुर्वेद चिकित्सालय नरदेवीमा प्रतिदिन १२० देखि १५० जना बिरामी अकुपन्चर सेवा लिन मात्रै आउनुहुन्छ।
अकुपन्चर सेवा महँगो छ भन्ने सुनिन्छ। यो सेवा महँगो हो?
अकुपन्चर सेवा विस्तार गर्न खासै ठूलो लगानी चाहिँदैन। जनशक्ति भने दक्ष चाहिन्छ। अकुपन्चर गर्न चाहिने केही सुई र केही मेसिन मात्रै आवश्यक पर्छ। तर काठमाडौंमै पनि अकुपन्चर सेवाको शुल्क भने मनोमानी छ। कँही एकपटक अकुपन्चर गरेको २ हजार लिन्छन् भने कँही ४ सय देखि पाँच सय छ। त्यसकारण यो सेवाको मूल्यलाई पनि समायोजन गर्नुपर्ने आवश्यक छ। अब सरकारले अकुपन्चर सेवाको मूल्य तय गर्न आवश्यक छ।
अकुपन्चर विधिबाट उपचार कति सयमसम्म गर्नुपर्छ?
अकुपन्चर सेवा कति समयसम्म गर्नुपर्छ भन्ने कुरा बिरामीको अवस्था वा रोगको अवस्थामा भर पर्छ। यदी शरीरमा सामान्य दुखाइ छ त्यसलाई कम गर्नुछ भने एक पटक गर्दा पनि प्रभावकारी हुनसक्छ। तर पक्षघात छ र हिड्न डुल्न सक्ने बनाउनुछ भने केही समय नियमित अकुपन्चर गर्नुपर्छ। १५ दिनदेखि ३ वा ४ महिनासम्म पनि अकुपन्चर गर्नुपर्ने हुनसक्छ। यो बिरामीको अवस्था र रोग अनुसार निर्धारण गर्नुपर्छ।
अन्त्यमा, अकुपन्चर सेवाको विषयमा के भन्न चाहनुहुन्छ?
अकुपन्चर चिकित्सा सेवा एकदमै प्रभावकारी सेवा हो। नेपालमा पनि नोभेम्वर २२ लाई विश्व अकुपन्चर सेवा दिवसको रुपमा मनाउँदै छौं। म सबै बिरामीलाई के भन्न चाहन्छु भने अकुपन्चर सेवा एकदमै सुलभ, सहज र प्रभावकारी छ। तर अकुपन्चर सेवा लिनुभन्दा पहिला कहाँ र कस्तो जनशक्तिबाट सेवा लिदै हुनुहुन्छ भन्ने कुरा बुझ्नुस् भन्न चाहन्छु। यसको महत्व बुझ्दै सेवा विस्तार गर्न पनि आवश्यक छ भन्न चाहन्छु।