काठमाडौं- भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा देशका विभिन्न जिल्लामा चिकित्सकहरुसमेत उम्मेदवार बनेका थिए। चुनावमा उम्मेदवार बनेका चिकित्सकहरुमध्ये केहीले राजनीतिक दलबाट नै टिकट पाएका थिए भने केही स्वतन्त्र उम्मेद्धार बनेका थिए।
निर्वाचनमा होमिएका चिकित्सकहरुमध्ये अधिकांशले हार व्यहोरेका छन्। पराजित भएकामध्ये पनि केही चिकित्सकहरुको जमानत नै जफत हुने भएको छ। प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटी बापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ। निर्वाचन कानुन अनुसार कुल सदर मतको १० प्रतिशत मत नपुग्ने उम्मेदवारको धरौटी बापतको रकम जफत हुने व्यवस्था छ।
यी हुन् जमानत जफत हुने चिकित्सकहरु:
डा अर्चनशम्शेर राणा
काठमाडौं क्षेत्र नम्बर ४ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका डा अर्चन शम्शेर राणाको जमानत जफत हुने भएको छ। कुल सदर मत ४३ हजर ८१५ मध्ये उनले एक हजार २१४ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा २१ हजार ३०२ मतसहित निर्वाचित भएका हुन्।
डा रामप्रसाद उप्रेती
काठमाडौं क्षेत्र नं ५ मा राप्रपाको तर्फबाट उम्मेदवार बनेका डा रामप्रसाद उप्रेतीको पनि धरौटी बापतको रकम जमानत जफत हुने भएको छ। उप्रेतीले ३ हजार १६२ मत ल्याएका छन्। उक्त क्षेत्रमा ४३ हजार ७१६ सदर मत गणना गरिएको थियो। सो क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेलले १५ हजार २६९ मतसहित जित हासिल गरेका छन्।
डा नविन मण्डल
हाम्रो नेपाली पार्टीको तर्फबाट सप्तरी २ का उमेद्वार डा नविन मण्डलको पनि जमानत जफत भएको छ। उनले २८५ मत मात्रै ल्याएका छन्। उक्त क्षेत्रमा २६ हजार १६६ मत ल्याउँदै कांग्रेसका दिनेश कुमार यादव निर्वाचित भएका हुन्।
डा राजेन्द्रप्रसाद साह
राष्ट्रिय जनमत पार्टीबाट रौतहट क्षेत्र न्. १ का उम्मेद्वार डा राजेन्द्र प्रसाद साहको पनि जमानत जफत भएको छ। उक्त क्षेत्रमा ६२ हजार १३५ सदर मत गणना गरिएको थियो। साहले १ हजार ६ मत मात्रै पाएका छन्। उक्त क्षेत्रबाट ३३ हजार ५२२ मतसहित एकीकृत समाजवादीका माधव कुमार नेपाल निर्वाचित भएका हुन्।
डा राकेश न्यौपाने
बाराको क्षेत्र नम्बर एकमाहाम्रो नेपाली पार्टीबाट उम्मेद्वारी दिएका डा राकेश न्यौपानेको पनि जमानत जफत भएको हो। ७६ हजार २२८ सदर मतमध्ये राकेशले ५९३ मत मात्रै प्राप्त गर्न सफल भए। सोही क्षेत्रबाट नेकपा एमालेका अच्युतप्रसाद मैनालीले जित हासिल परेका हुन्।
डा फरेन्द्र साह
सुनसरी २ का स्वतन्त्र उम्मेद्वार फरेन्द्र साहको जमानत जफत भएको छ। उनले जम्मा २५१ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रबाट ३२ हजार २४ मत सहित नेकपा एमालेका भिम प्रसाद आचार्य विजयी भएका हुन्।
डा रोहित पोखरेल
सप्तरी क्षेत्र न. १ का स्वतन्त्र उमेद्वार डा रोहित पोखरेलको जमानत जफत भएको छ। ७० हजार २३५ सदर मत गणना हुँदा उनले १ हजार ५३६ मात्रै मत प्राप्त गरेका छन्। उक्त क्षेत्रबाट जनता समाजवादी पार्टीका नवलकिशोर साह सुडी २३ हजार ६०४ मत ल्याएर निर्वाचित भएका हुन्।
डा प्रविन यादव
प्रदेश सभा अन्तर्गत सिराहा ३(२) बाट स्वतन्त्र उम्मेदवारी दिएका डा प्रविन यादवको जमानत जफत भएको छ। उक्तक्षेत्रमा गणना भएको ३५ हजार २३४ मतमध्ये यादवले ५९४ मत ल्याएका छन्। उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका प्रमोद कुमार यादवले ९ हजार ९७६ मत ल्याएर निर्वाचित भएका हुन्।
डा बिनोद कर्ण
प्रदेश सभा अन्तर्गत नै बाँके २ (२) बाट स्वतन्त्र उम्मेदवार डा बिनोद कर्णको पनि जमानत जफत भएको छ। उनले १ हजार ३१३ मत ल्याएका छन्। सो क्षेत्रमा ३० हजार ५७ सदर मत गणना गरिएको थियो। उक्त क्षेत्रमा जसपाका आदेशकुमार अग्रवालले ८ हजार २४६ मत ल्याएर जित हासिल गरेका छन्।