काठमाडौं- नेपालगञ्जका ६० वर्षीय एक पुरुष खाना खान असहज भएको समस्या लिएर खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पुगे। उनलाई खाना खाँदै गर्दा वाकवाक हुने र अड्किने समस्या पनि थियो। अस्पतालमा प्रारम्भिक जाँच गर्दा उनमा के समस्या हो पत्ता लागेन। इन्डोस्कोपी गरेर हेर्न खोज्दा पाइप घाँटीबाट तल पठाउन निकै असहज भयो। त्यसपछि घाँटीबाट मासुको नमुना लिएर बायोप्सी गरेर हेर्दा ती पुरुषमा खाना नलीको क्यान्सर देखियो। त्यो पनि तेस्रो स्टेजको।
चिकित्सकले उनलाई तुरुन्तै उपचारको प्रक्रिया अगाडि बढाउन सुझाव दिए। हाल उनी चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन्।
०००
धादिङकी ५५ वर्षिय महिला खाना खाँदा अड्किए जस्तो हुने र खाइसकेपछि पनि वाकवाक लाग्ने र वान्ता समेत हुने समस्या लिएर अस्पताल पुगिन्। चेकजाँच गर्दा उनमा खाना नलीको क्यान्सर देखियो।
०००
अस्पतालमा उपचारका लागि आएका यी दुई बिरामीमा जस्तै नेपालमा धेरै मानिसहरुमा खाना नलीको क्यान्सरको समस्या रहेको चिकित्सकहरु बताउँछन्। खाना नलीको क्यान्सरको समस्या लिएर बिरामीहरु तेस्रो या चौथों स्टेजमा मात्रै अस्पताल आइपुग्ने वीर अस्पतालमा कार्यरत क्यान्सर विशेषज्ञ डा रमिला शिल्पकार बताउँछिन्।
उनका अनुसार खाना नालीमा मात्रै रहेको क्यान्सरलाई पहिलो स्टेज मानिन्छ, वरपरको अंगहरुलाई पनि छुने भयो भने दोस्रो स्टेज भनिन्छ। वरिपरिको अंगहरुलाई असर गरेर ग्रन्थीहरु सुनिएको अवस्थालाई तेस्रो स्टेज मानिन्छ भने खाना नलिबाट क्यान्सर फैलिएर अन्य अंगहरु (फोक्सो या कलेजो) मा पुगेको अवस्था चौथों अवस्था हो।
डा रामिलाको अनुसार यो क्यान्सर दुई थरिको हुन्छ; माथिल्लो खाना नली र तल्लो खाना नलीको क्यान्सर। उनका अनुसार सामान्यतया सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले खाना नलीको क्यान्सर हुन्छ।
'माथिल्लो खाना नलीको क्यान्सर कहिले काँही ह्युमन प्यापीलोमा भाइरसको कारणले पनि हुन सक्छ। तल्लो खाना नलीको क्यान्सर बढी मोटोपन हुँदा जीइआरडी भन्ने रोग हुन्छ (जसमा पेट भित्रको एसिड माथि फर्किने हुन्छ)। त्यसैले लामो समय ग्यास्टिक नियन्त्रण नगर्दा तल्लो खाना नलीको क्यान्सरको जोखिम बढी हुन्छ। लामो समय राखेको अचारहरु बिग्रियो भने एक प्रकारको फंगस बन्छ, त्यस्तो अचार खाँदा त्यसको कारणले पनि खाना नलीको क्यान्सर हुन सक्छ,' उनले भनिन्।
खाना नलीको क्यान्सरको समयमै पहिचान गर्न नसक्दा पछि गएर खाना निल्नै नसकिने अवस्था पनि आउन सक्ने शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत डा मुकेश यादवले बताए।
'यो क्यान्सर हुँदा, खाना निल्दा गाह्रो हुने, अड्केको जस्तो लाग्ने, वाकवाक लाग्ने, समस्या बढ्दै गएपछि वान्ता हुने, छातीमा असजिलो महसुस हुने हुन्छ। पछि गएर खाना निल्नै नसकिने अवस्था पनी आउन सक्छ,' उनले भने।
कतिपय बिरामीहरुलाई खाना नलीको क्यान्सर हुँदा स्वर घोक्रो हुन सक्ने, खाना खाँदा छाती दुखेको जस्तो हुने, आवाजमा परिवर्तन हुने,बिरामीको तौल घट्ने लगायतका लक्षणहरु समेत देखिने डा रमिला बताउँछिन्।
सामान्यतया खाना नलीको क्यान्सर वयस्कहरुलाई बढी हुने चिकित्सकहरु बताउँछन्। 'महिला र पुरुषको तुलनामा यो क्यान्सर सबैभन्दा धेरै ४० देखि ४५ उमेरसमूहका पुरुषमा देखिन्छ। सुर्तीजन्य पदार्थको सेवन र मद्यपानको कारण यसो भएको हुन सक्छ,' डा रमिलाले भनिन्।
०००
सुर्तीजन्य पदार्थ र मद्यपान सेवन नगर्ने हो भने धेरै हदसम्म यो क्यान्सरबाट बच्न सकिने डा यादव बताउछन्। 'यो क्यान्सर लाग्नै नदिन चुरोट, रक्सी नखाने, दैनीक व्यायाम गर्ने र शरीरको तौल नियन्त्रणमा राख्ने, फलफुल र हरियो सागपात सधैँ खाने, तारेको,सडेगलेको खाने कुरा नखाने, एसिड फर्किने रोग छ भने समयमै पहिचान गरेर उपचार गर्ने, कुनै पनि लक्षण देखिएमा अस्पताल जाने गर्नुपर्छ,' उनले भने।
ग्लोबोक्यानको २०२० को तथ्यांक अनुसार नेपालमा खाना नलीको क्यान्सर १९ नम्बरमा पर्छ।
अन्य क्यान्सरमा जस्तै यो क्यान्सरमा पनि अप्रेसन, रेडियसन थेरापी, किमोथेरापीको माध्यमबाटै उपचार हुने डा रमिलाले बताईन्।
उनले भनिन्, 'पछिल्लो समय टार्गेटेड थेरापी र इमिनो थेरापीबाट पनि क्यान्सरको उपचार गरिन्छ। माथिल्लो खाना नलीको क्यान्सर अप्रेसन गर्न असहज हुन्छ, त्यसकारण एकदमै सुरुवाति चरणमा छ भने अप्रेसन गर्नुपर्छ। गर्ने नत्र किमो र रेडियसनको माध्यमबाट निको बनाउन सकिन्छ। तल्लो खाना नलीको क्यान्सर पहिलो र दोस्रो स्टेजमा भयो भने अप्रेसनको मध्यमबाट निको बनाउन सकिन्छ। तेस्रो स्टेजमा किमो र रेडीयसनसंगै अप्रेसन पनि गर्नुपर्ने हुन सक्छ। चौथो स्टेजमा गइसके पछि नियन्त्रण गर्न किमोथेरापी, टारगेटेड थेरापी र इमिनो थेरापीको मध्यमबाट उपचार गर्न सकिन्छ।'
नेपाली समाजमा खाना खाँदा गला लाग्ने समस्यालाई सामान्य रुपमा लिने चलन छ। तर यो समस्या निरन्तर दोहोरियो भने अस्पताल गइहाल्नु पर्ने चिकित्सकहरु बताउँछन्।