सन् १७९६ मा जर्मनीका डा सैमुअल क्रिश्चीयन फ्रेडरिक हैनिमेनले होमियोपेथिक चिकित्सा पद्धतिको अविष्कार गरी सम्पूर्ण विश्वलाई स्वास्थ्यको क्षेत्रमा ठूलो योगदान पुर्याउनु भएको छ। उहाँले एलोपेथिक चिकित्सा विज्ञानमा एमडी उपाधि प्राप्त गर्नु भएको थियो। जर्मनीका एलोपैथिक चिकित्सक हैनिमैनले एलोपेथिक चिकित्सा पद्धतिबाट उपचार गर्दा प्रयोग गरिएका औषधिबाट साईड इफेक्टका कारण मानव स्वास्थ्यमा गम्भीर प्रकारका समस्याहरू थप हुँदै गएको देखेर यसको विकल्पमा लामो समयको अनुसन्धान गरिए पश्चात होमियोपेथिक चिकित्सा पद्धतिको आविष्कार गर्नुभएको थियो।
होमियोपेथिक चिकित्सा पद्धतिका अविष्कारक डा सैमुअल हैनिमैन को जन्म जयंतीको अवसरमा “विश्व होमियोपेथिक दिवस” को रूपमा मनाउदै आईरहेका छौं। आज महात्मा हैनिमैनको २६८ औं जन्मजयन्ती हो। विश्व स्वास्थ्य संगठनले सुरक्षित, कर्म खर्चिलो र स्वस्थ मानव शरीरमै औषधि परीक्षण गरिने यो चिकित्सा विज्ञानलाई सबै भन्दा आधुनिक चिकित्सा विज्ञान भनेर मान्यता दिएको छ। सन् १७९६ मा जर्मनीबाट सुरु भएको होमियोपेथिक चिकित्सा पद्धति संसारका सबै देशमा फैलिएको छ।
डब्लूएचओ लगायतका ११ स्वास्थ्यका संगठनले विश्वको दोस्रो ठूलो चिकित्सा पद्धतिको रूपमा स्वीकार गरेको छ। विश्वका ८० भन्दा बढ़ी देशहरूमा होमियोपैथिक चिकित्सा पद्धतिलाई प्रयोग र वैधानिक प्राप्त भएको छ। युरोप का ४० देशहरूमा फैलिएको यो उपचार पद्धतिमा २९ प्रतिशत युरोपीयनहरू होमियोपैथिक उपचार पद्धतिको प्रयोग गर्दछन। फ्रान्समा भएको सर्भे अनुसार लगभग ४० प्रतिशत फ्रान्सेली नागरिकले होमियोपैथिकको प्रयोग गर्ने गरिएको र प्राथमिक स्कूलमा समेत होमियोपैथिक बारे जानकारी तथा मेडिकल स्कूलद्वारा होमियोपैथिकको अध्ययन गर्ने गरेको छ।
छिमेकी देश भारतमा सन् २०१४ सम्म ५२ यूनिभसिटीले होमियोपैथिक अध्ययन गराई रहेको, १८३ होमियोपैथिक मेडिकल कलेजबाट स्नातक तहको अध्यापन गराई रहेको छ। भारत सरकारले वैकल्पिक चिकित्साको प्रर्वदन र विकासको निम्ती छुट्टै आयुष मन्त्रालयको स्थापना गरेको छ। दक्षिण एशियामा भारत बाहेक पाकिस्तान, श्रीलंका र बंगलादेशमा पनि अत्यन्त लोकप्रिय र उक्त देशहरूमा छुटै होमियोपैथिक मेडिकल काउन्सिल रहेको छ।
नेपालमा होमियोपेथिकको इतिहास
प्रधानमन्त्री चन्द्र रामशेर जंग बहादुर राणाको बेलामा एक पटक काठमाडौंमा हैजा फैलिएको थियो। त्यसै बेला एउटा बंगाली मुखर्जी भने चिकित्सकले होमियोपैथिक औषधि प्रयोगगरी धेरै बिरामीलाई निको पार्नु भएको थियो र फैलिएको हैजालाई नियन्त्रण समेत गर्नु भएको थियो।
प्रधानमन्त्री राणाले होमियोपेथिक औषधिको चमत्कारी प्रभाव हेरेर धेरै प्रभावित हुनु भयो र आफ्नो परिवारमा त्यसै बेला देखि होमियोपेथिक चिकित्सालाई प्राथमिकता दिनु भएको थियो। त्यसपछि चीफ फील्ड मार्शल रुद्र शमशेर जंग बहादुर रानाको पालामा नेपाली भाषामा “पारीवारिक होमियोपेथिक चिकित्सा” भन्ने पुस्तक समेत प्रकाशित भएको छ।
काठमाडौंको सुन्धारामा होमियोपेथिक पशु अस्पताल खुलेको थियो। जहाँ डा खुश बहादुर थापा कार्यरत हुन्थ्यो। सोही अस्पताल काठमाडाैंको त्रिपुरेश्वरमा सारियो। २००४ मा काठमाडौंको सुन्धारामा ज्ञानेन्द्र मोहन मेमोरियल होमियोपैथिक औषधालय स्थापित भयो। २०१० सालमा रामनाथ अघोरी बाबाले राजा त्रिभुवनलाई निवेदन गरी छ शय्याको होमियोपेथिक अस्पताल पशुपतिनाथको मन्दिर परिसरमा संचालन गराउनु भयो। हाल यसको नाम पशुपति–होमियोपैथिक अस्पताल राखियो र यो अस्पताल ललितपुर जिल्लाको हरिहर भवनमा सारिएको छ।
२०४७ सालमा नेपाल होमियोपैथिक चिकित्सक संघ संस्थापक अध्यक्ष डा जीवन प्रकाश, अमडुवा, सुनसरीको नाउँमा जिल्ला प्रशासन कार्यालय विराटनगर मोरंगमा दर्ता भएको छ। यो संस्था २०४८ मा समाज कल्याण परिषद काठमाडौंमा दर्ता भएको छ।
विसं २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धमा डा जीवन प्रकाशको अध्यक्षतामा होमियोपैथिक विषय समिति गठन गरी बीएचएमएस को पाठ्यक्रम तयार गरेर “नेपाल होमियोपेथिक मेडिकल कलेज” विराटनगरमा स्थापना गराउनुभयो।