अनियमित महिनावारी धेरै महिलाहरुको आम समस्या हो। सामान्यतया महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुन्छ। जुन नियमित महिनावारी हो। २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी हुने महिनावारीलाई अनियमित महिनावारी भनिन्छ। अनियमित महिनावारी हुनुको विभिन्न कारणहरु छन्। जसमध्ये प्रमुख कारण हो, हर्मोनल गडबडी।
हर्मोनल गडबडी हुनुमा धेरै कारणहरु छन्। मुख्य कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। कतिपय अध्ययनले वंशाणुगत कारणले पनि हर्मोनल गडबडी हुने देखाएको छ। तर अहिले धेरैलाई यो समस्या देखिनुको कारण भने अस्वस्थकर जीवनशैली हुन सक्छ।
जंक फूड खाने, निश्क्रिय जीवनशैली, मोटोपना, तनावले पनि हर्मोनल गडबडी हुन्छ। शरीर मोटो भए बोसो धेरै हुन्छ। र, बोसोले यो हर्मोनहरु निकाल्छ। पिसिओडीले गर्दा मोटोपना हुन्छ। र, मोटोपनाले पिसिओडी पनि हुन्छ। बोसोले हर्मोनल गडबडी गराउँछ नै मधुमेह पनि गराउँछ। त्यसैले एकापसमा अन्तर सम्बन्धित छ।
हाम्रो शरीरमा धेरै हर्मोनहरु हुन्छ। तर अनियमित महिनावारीमा हामीले चार वटा हर्मोन मात्र परीक्षण गर्छौ। ल्युटिनाइटिङ्ग हर्मोन (एल.एच), फोलिकल स्टीमुलेटिङ हर्मोन (एफ.एस.एच), प्रोल्याक्टिङ्ग र थाइराइड।
हर्मोनल गडबडीमा हामीले बिरामीलाई स्वास्थ्य परीक्षणपछि आवश्यकता अनुसार खाने औषधि दिन्छौ। तर कतिपयलाई यो औषधि परिवार नियोजनमा खाने चक्की (पिल्स) हो की भन्ने भ्रम पनि छ। कोही १५ वर्षकी किशोरी अनियमित महिनावारीको समस्या लिएर आएकी छिन् भने मैले उसलाई यो चक्की खानु भनेर प्रेसक्र्याइब गर्छु।
तर ‘यो त पिल्स चक्की निलोकन ह्वाइट पो हो त किन मेरो छोरीलाई यो दिनु भएको’ भनेर प्रश्न गर्नु हुन्छ। ‘किन दिनु भएको यो औषधि मेरो छोरी ?’ यो त दिनु हुँदैन भन्नु हुन्छ। यस किसिमको भ्रम अझै पनि मानिसमा छ। हामीले यो औषधि परिवार नियोजनको लागि दिएको होइन। हामीले हर्मोनको रुपमा दिएको हो। परिवार नियोजनको औषधि पनि यस्तै हुन्छ। तर त्यो धेरै डोजको हुन्छ। त्यो परिवार नियोजन गराउन र बच्चा नबस्नको लागि दिइएको हो। तर हामीले हर्मोनल गडबडी हुँदा दिने औषधि थोरै डोजमा र शरीरलाई आवश्यक मात्रामा मात्र दिन्छौ। बिरामीको अवस्था र आवश्यकता अनुसार स्वास्थ्य परीक्षणपछि मात्र हामीले यो हर्मोनल औषधि दिन्छौ।
(अल्का अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा निष्मा बज्राचार्यसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)