केही दिनयता समुदायमा झाडापखालाका बिरामीहरु बढ्दो छ। केही दिन अगाडि मेरा एक मित्रले काठमाडौंसँगै जोडिएको जिल्लाको एक गाउँमा व्यापक झाडापखाला फैलिएको र त्यसले विद्यालयको नियमित पठनपाठनमा समेत प्रभावित पारेको जानकारी दिएका थिए। वर्षातसँगै पानीजन्य संक्रामक रोगहरु पनि बढ्दो देखिन्छ।
काठमाडौंमा पनि झाडापखालाका बिरामीहरु देखिने क्रम बढ्दो छ। केही समय अगाडि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुगमनमा पानीका विभिन्न स्रोतहरुमा फेकल कोलीफर्म भेटिएको जानकारी सार्वजनिक गरेको थियो। अर्थात् हामीले पिउने भनेको पानीमा दिसा मिसिएको छ भनेको हो। सबैभन्दा बढी इनारको पानी, त्यसपछि धाराको पानी, ट्यांकरको पानी, मेलम्चीको पानी र जारको पानीमा फेकल कोलीफर्म भेटिएको भनिएको छ।
फेकल कोलीफर्ममा विशेषत ईकोलाई (O157 : H7) जिवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत फेल गराउन सक्दछ। विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाहिने गरेको सर्वविदित नै छ।
फेकल कोलीफर्मले हैजाको जोखिम उच्च रहेको संकेत गर्ने?
खानेपानीमा फेकल कोलीफर्म देखिनु भनेको हैजाको पनि जोखिम बढ्नु हो भनेर बुझ्नु पर्दछ। हैजा पनि संक्रमित व्यक्तिको दिसा खानेपानी वा खानेकुरा मार्फत फैलिए प्रकोपको रुप लिने गर्दछ। नेपालमा वर्षेनी जसो हैजा देखिँदै आइरहेको छ। गत वर्ष काठमाडौंमा नै हैजा फैलिएको थियो।
दशमा एक वा दुईमा हैजाले कडा लक्षण देखाउने र उपचार नपाए केही घन्टामा नै बिरामीको मृत्यु समेत हुनसक्ने भएकोले यसलाई घातक संक्रामक रोगको रुपमा पनि मान्ने गरिन्छ। संक्रमितले लक्षण नदेखाएको अवस्थामा पनि १० दिनसम्म दिसा मार्फत जिवाणु फैलाउन सक्दछ। चामलको माड जस्तो दिसा तारन्तार हुनु, पेट वा खुट्टाको मांशपेशी बाँउडिनु, वान्ता हुनु, बेचैनी हुनु यसका मुख्य लक्षणहरु हुन।
फेकल कोलीफर्मले थप संक्रामक रोगहरुको जोखिम पनि उच्च रहने?
फेकल कोलीफर्म देखिएको अवस्थामा हैजा बाहेक दिसाजन्य अरु संक्रामक रोगहरु पनि फैलन सक्ने जोखिम उच्च हुने गर्दछ।सर्वसाधरणले आँखा पहेलो हुने (लक्षण) रोगको नामले चिन्ने भाइरल हेपाटाईटिस (ए र ई) पनि संक्रमितको विशेषत दिसाबाट सर्ने गर्दछ। सन् २०१४ मा विराटनगरमा हेपाटाईटिस "ई" को ठूलो आउटब्रेक भएको थियो। अनुमानित झन्डै ७००० संक्रमित मध्ये १४ जनाको मृत्यु समेत भएको थियो।
एक अध्यनका अनुसार काठमाडौंमा देखिने कमलपित्तका बिरामी मध्ये झन्डै ५० प्रतिशत हेपाटाईटिस "ई" को कारणले हुने गरेको अनुमान गरिएको छ। टाइफाईड नेपालीहरुको लागि अर्को चिपरिचित रोग हो। यसले वर्षेनी नेपालीहरुलाई बिरामी गराउने गर्दछ। संक्रमितको दिसा विशेषत खानेपानी मार्फत फैलन सक्ने हुनाले फेकल कोलीफर्म देखिएको ठाउँमा यसले पनि प्रकोपको रुप लिन सक्ने सम्भावना रहन्छ।
वर्षात लागेसँगै पानी जन्य संक्रामक रोगहरु एक पछि अर्को देखिन थालेका छन्। तसर्थ, हाल बजारमा बेच्न राखिएका खानेपानी सुरक्षित छ/छैन भनेर सम्बन्धित निकायले अफ्मो अनुगमलाई निरन्तरता दिनु पर्दछ। खानेपानीमा फेकल कोलीफर्मको अवस्था थाहा पाउन सके र त्यसको स्रोत/कारण पहिचान गरि समयमा नै समाधान गर्न सके सम्भावित थुप्रै संक्रमणका प्रकोपहरुलाई रोक्न सकिने छ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)