काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुश्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ।
पहिलेको भन्दा बजेट कटौती भएर आएपछि अस्पतालले अक्सिजन आपूर्ति गर्दै आइरहेको शंकर ग्यास कम्पनीलाई भुक्तानी दिन सकेको छैन। भुक्तानी बाँकी झन्डै २ करोड पुगेको भन्दै कम्पनीले अस्पताललाई अक्सिजन दिन नसकिने बताएको छ।
अक्सिजन आपूर्ति गरेबापतको रकम प्राप्त नपाएको भन्दै शंकर ग्यास कम्पनीले अक्सिजनको आपूर्ति रोक्ने चेतावनीसहित अस्पताललाई पत्र समेत पठाइसकेको वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल बताउँछन्।
'वीर अस्पतालले १ अर्ब ५६ करोड अनुमानित बजेटको माग गर्दे मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मागिएको भन्दा आधा बढी बजेट कटौती गर्दै ७३ करोड बजेट अस्पताललाई विनियोजन गर्यो। उक्त बजेटले अत्यावश्यक विषयहरुलाई समेट्न नसक्दा यस्तो अवस्था आएको हो,' डा पौडेलले भने।
अस्पतालको आन्तरिक बजेटको करिब ८० प्रतिशत कर्मचारीको तलब भत्तामा खर्च हुने गरेको डा पौडेल बताउँछन्। त्यस्तै अघिल्लो वर्षको नियमित बजेट अन्तर्गत अस्पतालले पाउँदै आएको बजेटमा अक्सिजको शीर्षकमा बजेट नआएका कारण अक्सिजन आपूर्ति कम्पनीलाई पैसा तिर्न बाँकी रहेको पौडेलले बताए। अघिल्लो आर्थिक वर्षमा अक्सिजन खरिद शीर्षकमा मन्त्रालयबाट करिब साढे २ करोड रकम विनियोजन भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्रोत सुनिश्चित नगरी शय्या नि:शुल्क गरिदिएका छन्। प्रचारका लागि बिना योजना गरिएको उक्त निर्णयको असर देखिन थालेको छ। वीर अस्पतालसँग ग्यास उत्पादक कम्पनीलाई बक्यौता रकम तिर्ने स्रोत नभएको निर्देशक डा पौडेल बताउँछन्।
![68ea2493-84f0-4108-b1fc-0828065cf44b-1703678347.jpg](https://swasthyakhabar.com/uploads/posts/68ea2493-84f0-4108-b1fc-0828065cf44b-1703678347.jpg?timestamp=1703678347590)
कम्पनीलाई आपूर्ति ठप्प नपारिदिनका आग्रह गरिरहेको उनी बताउँछन्। 'कम्पनीले हाम्रो आग्रहलाई नमानेको अवस्थामा नेपालको सबैभन्दा जेठो तथा केन्द्रीय अस्पतालमा अक्सिजन अभावका कारणका कारण हाहाकार मच्चिने अवस्था आउन सक्छ,' निर्देशक डा पौडेल भन्छन्।
आइसियू, इमर्जेन्सी तथा वार्डहरुमा बिरामीको चाप बढ्दो अवस्था रहेका बेला अक्सिजनको आपूर्ति रोकिएमा भयावह अवस्थाको सिर्जना हुने भएकाले आफूले पहल गरिरहेको उनले बताए।
अस्पतालले यस विषयमा स्वास्थ्य मन्त्रालयसँग पटक-पटक छलफल गरेको छ। स्वास्थ्यमन्त्री बस्नेतले वर्खास्त गरेका निर्देशक डा पौडेल अदालतको आदेशले फर्किएपछि मन्त्रालयले सुनुवाइ नगरेको बुझिएको छ। मन्त्री बस्नेतको डा पौडेलसँग चिसिएको सम्बन्धले बिरामीलाई असर पर्न थालेको कर्मचारीहरु बताउँछन्।
'अक्सिजन आपूर्ति जस्तो संवेदनशील विषयलाई नरोक्नका हामी शंकर ग्यास कम्पनीलाई आग्रह गरिरह छौं, डा पौडेलले भने।
यस प्रकारको गम्भीर विषयमा समेत राज्य संवेदनशील नहुँदा समस्या आएको डा.पौडेल बताउँछन्।
वीर अस्पतालमा एउटा अक्सिन कन्सन्टेटरबाट अक्सिजन निस्किरहेको अवस्था छ। त्यस्तै अस्पतालले टेन्डर प्रक्रियाबाट तरल अक्सिजन किनिरहेको छ। यद्यपि यी विकल्पले मात्रै दैनिक अक्सिजन आपूर्तिलाई धान्न सक्ने अवस्था नभएको डा पौडेल बताउँछन्। केन्द्रीय स्तरको ठूलो तथा सरकारी अस्पतालमा यस्तो अवस्थाको सिर्जनालाई राज्यले जिम्मेवारी नलिएर उन्मुक्ति पाउने अवस्था नरहेको डा पौडेलको तर्क छ।
वीर अस्पतालमा रहेको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ। हाल अक्सिजन उत्पादन गरेर वार्ड लगायत ओटीमा पठाउने दुई वटा चौधरी ग्रुपको सहयोगमा जोडिएको दुईवटा ड्राई अक्सिजन प्लान्ट बिग्रिएका छन्। ती बनाउने स्रोत समेत अस्पतालले जुटाउन सकेको छैन।
वीर अस्पतालले ३० वटा पोट्रेबल अक्सिजन खरिद गर्दै आइरहेको छ। जुन शल्यक्रिया गरिएका बिरामीहरुलाई वार्डमा लैजाँदा प्रयोग हुन्छ। वीर अस्पतालमा शंकर ग्यास कम्पनीको दुईवटा रिक्युट प्लान्ट छन् जसले दैनिक रुपमा २ हजार ५ सय ६४ केजी अक्सिजन उत्पादन गर्दै आएका छन्। त्यही उत्पादनले ७ सय बेडलाई धानेको छ।
वीर अस्पतालमा आउने दैनिक ३ सयदेखि ३ सय ५० हाराहारीमा बिरामीलाई अक्सिजनको आवश्यकता पर्नेगर्छ। जसमा दैनिक १ लाख १९ हजार बराबर खर्च हुने गरेको छ।