काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गएको तीन वर्षमा नर्सिङ पढ्ने ३ सय जना पनि विदेश नगएको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले मिथ्यांकको सहारामा भ्रम फैलाइएको बताएका छन्।
उनले भने, 'चिकित्सा शिक्षा क्षेत्रका विषयमा भ्रामक धारणा राखेको पाएका छौं । सिमानामा दर्जनौं नर्सिङ कलेज खुलेका छन्। नेपाली विद्यार्थी त्यहाँ जान्छन् भन्ने फैलाएर आतंकित बनेका छौं। तथ्यांक हेर्ने हो भने गएको तीन वर्षमा ३०० पनि नर्सिङ पढ्न विदेश गएका छैनन्।'
नेपालमा मापदण्ड नपुगेका नर्सिङ कलेज बन्द भएपछि यस्तो भ्रम फैलाइएको हो। स्वास्थ्य मन्त्री मोहनकुमार बस्नेत र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र यसका सदस्यहरुलाई समेत उक्त भ्रममा पारिएको छ।
चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुर्याोउन नसकेर बन्द भएका नर्सिङ कलेजका सञ्चालकले नीति निर्मातालाई प्रभावमा पारेर खुलाउन चलखेल गरेका छन्। हालसालै शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर प्रतिवेदन समेत बनाइ ती कलेज खुलाउनेगरी शिक्षा मन्त्रालयलाई निर्देशन गरेको पाइएको छ।
सोही चलखेलतर्फ लक्षित गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले यस्तो धारणा राखेका हुन्।
यो पनि पढ्नुहोस्
यी हुन् मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कानुनविपरित चलाउन दिने पक्षमा सक्रिय सांसदहरु