काठमाडौं- अमेरिकाको मानसास पार्कबाट बेपत्ता २८ वर्षीया नर्स ममता काफ्ले भट्टकी एक वर्षीया छोरीसँग उनकी आमा र भाइको भेट भएको छ। उनीहरुले नेपालबाट आपतकालीन भिषामा अमेरिका पुगेका हुन्।
अमेरिकी अध्यागमन वकिलका अनुसार छोरीसँग परिवारको भेटघाट गराइएको छ। ममता एक महिनादेखि बेपत्ता छिन् । प्रहरी उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको छ । शव लुकाएको आरोपमा थुनामा राखेको छ।
परिवारका सदस्यलाई तत्कालका 'डिस्टर्व नगर्न' मिडियालाई आग्रह गरिएको छ। बेला आएपछि उनीहरु आफैंले बोल्ने उल्लेख गरिएको छ।
बेपत्ता नर्स ममताकी छोरीको भरणपोषणका लागि 'गोफन्डमी'मा सहयोग अभियान थालिएको छ। मनसास पार्क निवासी सरिता न्यौपानेले सुरु गरेको अभियानमा हालसम्म ३ करोड ८ लाख नेपाली रुपैयाँ भन्दा बढी उठिसकेको छ । २ लाख ५० हजार अमेरिकी डलर सहयोग जुटाउने लक्ष्य लिएकोमा २ लाख ३० हजार अमेरिकी डलर जम्मा भएको हो।
जनसमर्थन र दबाब अद्भूत : प्रहरी
ममता भट्ट बेपत्ता भएपछि उनको खोजी गर्न, हत्यारालाई कानुनी कठघरामा उभ्याउन र भदौ २० गते १ वर्ष पुगेकी छोरीको उचित हेरचाहका लागि जुटेको समर्थनलाई अमेरिकी प्रहरीले 'अद्भूत' भनेको छ। ममताका साथीभाइ, सहकर्मी र स्थानीय नेपाली समुदायले गरिरहेको दबाब कार्यक्रमलाई कायम राख्ने प्रहरीले आग्रह गरेको छ।
घरेलु हिंसाका पीडितहरूका लागि वकालत गर्न र ममताको शव छिट्टै भेटिने आशा व्यक्त गर्न मंगलबार राती मनासास पार्क काउन्सिलको बैठकमा धेरै जना भएका थिए।
सोही कार्यक्रममा मनससा पार्क प्रहरी प्रमुख लुगोले भने, 'यो अद्भूत छ । मैले ममतालाई यो भन्दा पहिले चिनेको थिइनँ, मलाई थाहा थिएन कि यो समुदाय यति धेरै चिन्तित थियो र यो आश्चर्यजनक छ कि समुदायले ममतालाई प्राथमिकतामा राखेको छ। म दबाब जारी राख्न आग्रह गर्छु - यसले हामीलाई यो अनुसन्धान जारी राख्न र वास्तवमा के भयो भनेर पत्ता लगाउन प्रोत्साहन गरिरहेको छ।'
काउन्सिल बैठकको सार्वजनिक टिप्पणीको चलिरहेको अनुसन्धान र यसको व्यापक प्रभावलाई लिएर स्थानीय नेपाली मूलका केही र ममताका साथीले बोलेका थिए। गैरनाफामूलक संस्था अमेरिका नेपाल सोसाइटीका पूर्वअध्यक्ष तथा भर्जिनिया एसियन एडभाइजरी बोर्डका पूर्व सदस्य जीवन तिवारीले प्रहरीलाई उनीहरूको प्रयासका लागि धन्यवाद दिए। 'हालका घटनाक्रमले हामी सबैलाई स्तब्ध पारेको छ । शोकाकुल बनाएको छ,' उनले भने, 'ममता एक प्यारी आमा, एक साथी, एक छिमेकी थिइन् र उनको अभाव हामी सवैले महशुस गरेका छौं।'
टायसन निवासी र ममताको पूर्व रुममेट नादिया नाभरोले ममतासँगको आफ्नो मित्रताले भौगोलिक रेखालाई मेटाइदिएको उल्लेख गरिन्। 'ममता मेरो लागि प्रिय साथी थिइन् । यदि उनी बढी सचेत भएकी भए अवस्था फरक हुन सक्थ्यो। उनी हामीसँग छैनन् भन्ने स्वीकार्यताका साथ बाँच्न सहज भइरहेको छैन।'