काठमाडौं- नेपाल नर्सिङ संघ (नान)को निर्वाचन हुँदैछ। पार्टीनिकट प्यानल बनाएर चुनाव हुन थालेदेखि वामपन्थी राजनीतिक दल निकट नर्सहरुको समूहले जित्दै आएको छ। यसअघिको निर्वाचनमा समेत हजारभन्दा बढी मतान्तरले सोही समूहले जितेको थियो।
हालसम्म नानमा चुनाव एउटा औपचारिकतामा सीमित भएको थियो। तर यसपल्ट रोचक मोडमा पुगेको छ। विगत जस्तो नतिजा पूर्वानुमान गर्न मिल्ने देखिँदैन।
नेकपा एमाले फुटको असर नर्सिङमा पनि परेको छ। एमाले फुटेर बनेको एकीकृत समाजवादी निकट नर्सिङ संघ पनि छ। त्यसैमाथि एमालेनिकट नै मानिएकी एक नर्सले 'स्वतन्त्र' उम्मेदवारी दिएकी छिन्।
एमालेनिकट नर्सहरुको यो विभाजनले नानमा स्थापित गर्न नसकेको कांग्रेनिकट नर्सहरुको समूहले यसपल्ट आशा गरेको छ। तर पूर्ण भरोसा नभएका कारण अध्यक्ष नै आफूभन्दा सानो समूह एकीकृत समाजवादीको पोल्टामा हालेको छ।
रोचक प्यानल
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएका छन्। शुभेच्छुक तथा भ्रातृ संगठनमा त्यसकै छाया देखिन्छ। तर नानमा भने प्यानल नै रोचक बनेको छ।
नेकपा एमाले निकटले प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र निकटसँग मिलेर प्रगतिशील समूह बनाएका छन्। नेपाली कांग्रेसले एकीकृत समाजवादीलाई साथ लिएर पेसागत समूह बनाएका छन्।
प्रगतिशील समूहको नेतृत्व चन्द्रकला शर्माले गरेकी छिन्। पेसागत समूहको नेतृत्व गंगा थापाले गरेकी छिन् भने स्वतन्त्र रुपमा वसन्ती थापा छिन्।
विसं २०१७ सालमा स्थापना भएको नानमा प्यानल बन्न थालेको २०६२/०६३ सालदेखि हो। त्यसअघि भने पार्टीनिकट प्यानल बनाएर चुनाव गर्ने परिपाटी त्यहाँ थिएन। त्यसबेला नर्सहरु प्रजातान्त्रिक र प्रगतिशील समूहमा बाँडिएर प्रतिस्पर्धामा उत्रिए। वामपन्थीबाट सानु तुलाधर र प्रजातान्त्रिकबाट कान्तिलता भण्डारी चुनावमा उठेका थिए। सानुले चुनाव जितिन्। त्यसपछि निरन्तर वामपन्थी वर्चस्व रह्यो।
आ-आफ्नै दाबी
विगतको भन्दा यो निर्वाचन विशेष रहेको प्रचारका लागि उनीहरुले गरेको मिहिनेतले दर्शाउँछ। आफू निकटहरुको अंकगणित लिएर हिँडिरहेका उनीहरुले जित्ने आधार समेत प्रस्तुत गरेका छन्। पेसागत समूहकी अध्यक्षकी उम्मेदवार गंगा थापा आफूले नर्सिङ क्याम्पस तथा उपत्यका बाहिरका नर्सलाई समेत समेटेकाले बलियो रहेको दाबी गर्छिन्। आफ्नो समूहमा मुस्लिम, दलित तथा स्वतन्त्र लगायतको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको उनी बताउँछिन्।
यसअघिको निर्वाचनमा करिब ५ हजा ३ सय नर्सले मतदान गरेका थिए। यो निर्वाचनमा ६ हजारभन्दा बढीले मतदान गर्ने अनुमान गरिएको छ। गएको निर्वाचनमा प्रगतिशीलको प्यानलले करिब १२ सय मतान्तरले हराएको थियो। यो निर्वाचनमा आफ्नो प्यानलले ४ सय मतान्तरले जित्ने आँकडा पेसागत समूहले निकालेको छ।
संयुक्त प्रगतिशील प्यानलकी अध्यक्षकी उम्मेदवार चन्द्रकला शर्मा पार्टी फुटको असर नर्सिङमा खाशै नपर्ने बताउँछिन्। यसपल्ट पनि राम्रो मतान्तरले जित्ने देखिएको उनको भनाइ छ। विगतमा संघलाई राजनीति गर्ने थलो बनाइएको स्वतन्त्र उम्मदेवार वसन्ती थापा बताउँछिन्।
राजनीतिक समूह हावी हुँदा नर्सका हकहितमा खासै काम हुन नसकेकाले आफ्नो पक्षमा माहोल बनेको उनको भनाइ छ। ‘संघमा राजनीतिक गुटबन्दी र हस्तक्षेप बढी बढी भयो। जहिले पनि राजनीतिक आस्थाको आधारमा नेतृव आउने भएकाले संघमा काम गर्न धेरै सकस भएको छ । अब नर्सहरुले आमुल परिवर्तन चाहेका छन्,' उनको दाबी छ।
संघमा १५ हजार ५ सय २७ नर्स आबद्ध रहेकोमा आधाभन्दा बढी नर्स विदेशमा काम गरिरहेका छन्।