फाइल तस्बिर: युनिसेफ ट्रम्प प्रशासनले ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी)को लागि अमेरिकाद्वारा प्रदान गरिँदै आएको वित्तिय सहायता बन्द गर्ने योजना बनाएको छ। गाभीले विगत २५ वर्षदेखी गरिब तथा विकासोन्मुख देशका बालबालिकाका लागि महत्वपूर्ण खोप उपलब्ध गराउँदै लाखौं जीवन बचाउँदै आएको छ। साथै, प्रशासनले औलो (मलेरिया) विरुद्ध लड्ने प्रयासहरूलाई पनि ठूलो मात्रामा कटौती गर्न लागेको छ। मलेरिया विश्वभरि मृत्युको प्रमुख कारणमध्ये एक हो।
यद्यपि, प्रशासनले एचआईभी र क्षयरोगको उपचारका लागि महत्वपूर्ण अनुदानहरू जारी राख्ने तथा युद्ध हुने देश र प्राकृतिक प्रकोप प्रभावित देशहरूलाई खाद्य सहायता प्रदान गर्ने निर्णय गरेको छ।
यी निर्णयहरू युएसएआइडीले सोमबार राति अमेरिकी कंग्रेसलाई पठाएको २८१ पृष्ठ लामो विवरणमा समावेश छन्।
प्राप्त कागजातहरूले अमेरिका विगत पाँच दशकदेखि विकासोन्मुख देशहरूलाई सहयोगी मित्रका रूपमा प्रस्तुत गर्ने तथा संक्रामक रोगविरुद्धको लडाइँमा नेतृत्व दिने प्रयासबाट कसरी पछि हट्दैछ भन्ने कुरालाई व्यापक रूपमा देखाउँछ।
प्रस्तावित कटौतीपछि युएसएआइडीले अधिकांश कोष गुमाउनेछ। अब ६,००० भन्दा बढी कर्मचारीहरूमध्ये केवल ८६९ जना मात्र काममा रहनेछन्।
कुल रूपमा, प्रशासनले ८९८ वटा युएसएआइडी परियोजना जारी राख्ने र ५,३४१ वटा अन्त्य गर्ने निर्णय गरेको छ। बाँकी रहेका कार्यक्रमहरू ७८ अर्ब अमेरिकी डलर बराबरका छन्, तर त्यसमध्ये मात्र ८.३ अर्ब डलर रकम वितरण गर्न बाँकी रहेको छ।
राज्य विभागका प्रवक्ताले उक्त सूचीमा उल्लेखित सहायता अन्त्य गर्ने निर्णयहरू सही रहेको पुष्टि गरे। उनले भने, ‘प्रत्येक सहायता परियोजनालाई प्रशासनका प्राथमिकतासँग मिलाएर समीक्षा गरिएको थियो, र राष्ट्रको हित वा नीति प्राथमिकतासँग मेल नखाएका परियोजनाहरू अन्त्य गरिएको छ र जहाँ सचिव मार्को रुबियोले सो अनुदानलाई राष्ट्रिय चासो वा एजेन्सीको नीति प्राथमिकतासँग मेल नखाएको भने।
तर, एचआईभी वा खोप जस्ता स्वास्थ्य कार्यक्रमहरूका लागि कोष अमेरिकी कंग्रेसबाट विनियोजन गरिने भएकाले प्रशासनलाई यी कार्यक्रमहरू स्वतः अन्त्य गर्ने कानुनी अधिकार छ कि छैन भन्ने स्पष्ट छैन। यस विषयमा अहिले धेरै अदालती मुद्दाहरू चलिरहेका छन्।
कटौती गरिएका कार्यक्रमहरूमा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफ.ए.ओ)) का लागि अमेरिकी अनुदान पनि समावेश छ। एफ.ए.ओले ४९ देशमा जनावरबाट मानिसमा सर्ने रोगहरू, जस्तै बर्ड फ्लु, को निगरानी गरिरहेको छ।
सिएरा लिओनका स्वास्थ्य मन्त्री डा. अस्टिन डेम्बीले अमेरिकी सहयोग अन्त्य गर्ने निर्णयप्रति गहिरो चिन्ता व्यक्त गरे। ‘यो केवल प्रशासनिक निर्णय होइन, यसले लाखौं बालबालिकाको जीवन जोखिममा पार्नेछ,’ उनले भने। ‘गाभीको समर्थन सिएरा लिओन मात्र होइन, सम्पूर्ण क्षेत्र र विश्वको लागि महत्त्वपूर्ण छ।‘
गाभीको अनुमानअनुसार, अमेरिकी कोष गुम्दा आगामी पाँच वर्षमा ७५ मिलियन बालबालिकाले खोप प्राप्त गर्न पाउने छैनन्, जसका कारण १२ लाखभन्दा बढी बालबालिकाको ज्यान जान सक्छ।
गाभीले हालै पाठेघरको क्यान्सर रोक्ने खोप र गम्भीर मलेरियाबाट बालबालिकालाई जोगाउने नयाँ खोपलाई समर्थन गर्दै आएको छ। तर, अमेरिकी सहयोग रोकिँदा यी नयाँ खोपहरू गरिब राष्ट्रहरूमा उपलब्ध गराउन कठिन हुनेछ।
गाभीकी प्रमुख कार्यकारी डा सानिया निष्टारले ‘यो निर्णय पुनर्विचार गरियोस्’ भनी आग्रह गरेकी छिन्। उनले भनिन्, ‘गाभीको कामले अमेरिकासहित विश्वभरका मानिसहरूलाई सुरक्षित राख्छ।'
गाभी मार्फत नेपालमा पनि विभिन्न खोपहरु उपलब्ध हुँदै आइरहेको छ। अमेरिकाको यो निर्णयसँगै नेपालमा पनि ठूलो असर पर्ने देखिन्छ।
ट्रम्प राष्ट्रपतिमा आएपछि युएसएआइडी तथा अन्य अनुदानहरु कटौती गर्दै आइरहेका छन्। हालसम्म ८६९ युएसएआइडी कर्मचारी मात्र कार्यरत छन् भने ३,८४८ जना प्रशासनिक बिदामा छन् र १,६०२ जनालाई हटाउने प्रक्रिया भइरहेको छ।
ट्रम्प प्रशासनको यो निर्णयले विश्वभरका गरिब राष्ट्रहरूको स्वास्थ्य प्रणालीमा गम्भीर असर पार्नेछ। विशेष गरी, मलेरिया, पोलियो, दादुरा जस्ता रोगहरू नियन्त्रणमा चुनौती आउने देखिन्छ।
-न्यूयोर्क टाइम्स र अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा