म ‘चमत्कार’मा विश्वास गर्दिनँ । ‘धर्मकर्म’का विषयमा टिप्पणी गर्न चाहन्नँ! कर्म अर्थात् काममा गहिरो विश्वास छ। आफूले गरिरहेको ‘कर्म’मा लगनशीलनता, इमानदारिता र निरन्तरताले अपेक्षित लक्ष्यसम्म पुर्याउँछ भन्ने कुरासँग जोडिएका केही तर्कसँग सहमत छु।
धर्मका विषयमा कुरा गर्ने हो भनेपनि आफूले मानिआएको हिन्दुधर्मको ‘महाभारत’मा एउटा प्रसंगसँग सहमत छु। ‘कौरव किन स्वर्ग गए ? पाण्डव किन नर्क जानुपर्यो ?’ त्यसको उत्तरमा कहीँकतै पढेको थिएँ- कौरवले पाप पनि पूरापूर ‘धर्म’का साथ गरे। अर्थात् आफूले गरिरहेको कर्मलाई इमानदारितका साथ पूरा गर्नु नै मुख्य धर्म हो।
अर्को व्याख्या पनि कहीँकतै पढेको थिएँ। त्यो मनमा गहिरोगरी बसको छ- मासु पसलेको मासु काट्नु धर्म हो। तर, उसले बासी, सडेगलेको मासु बेच्छ भने त्यो चाहिँ ‘पाप’ हो। यससँग जोडिएका ‘पाप-धर्म’माथि उठ्ने तर्क-वितर्कसँग मेरो उति सरोकार छैन। किनभने तर्क न हो, तथ्य अघि आएको दिन खण्डित हुन्छ नै।
यी र यस्तै कुराले मलाई छुच्चो पनि बनाएको छ। कुनैकुरा मनमा राख्दा त्यसले आफैं र अरुलाई हानी गर्छ । षड्यन्त्र सृजना गर्ने डर हुन्छ। बरु फ्याट्ट लागेको कुरा भनियो भने एकछिन हानी जस्तो हुन्छ तर दीर्घकालमा असर गर्दैन । यो पनि पूर्णसत्य होइन, आफैंलाई जोगाउन गरेको तर्क हो। सकियो भने षडयन्त्ररहित मीठो-मधुरवाणी बोल्नुपर्छ, त्यसले नै आफू र अरुलाई खुशी तुल्याउँछ !
एकदिन श्री श्री रविशंकर प्रणेता रहेको ‘ह्याप्पीनेस कोर्स’ गर्ने प्रस्ताव आयो । स्वास्थ्य पत्ररकारलाई उक्त कोर्स गराउने योजना यतिकेम डिस्ट्रीब्युटर्सका अध्यक्ष प्रभु वैद्यको थियो। प्रस्तावकर्ता स्वास्थ्य पत्रकार प्रिय मित्र रामप्रसाद न्यौपानेजी थिए। उनलाई पनि फ्याट्टै भनें- प्रभु वैद्यसर आफ्नो जीवनमा ‘सम्पूर्ण’ भएपछि ‘काम, क्रोध, ईर्श्या, लोभ’ त्यागेर जीवन सुखमय बनाउनुपर्छ भनेर अध्यात्मतिर लाग्नुभएको हो। रिटायर्डउन्मुख उहाँको ‘संगत’मा नलाग्नुहोस्!
व्यक्तिगत रुपमा उनलाई हेर्ने दृष्टिकोण भने फरक छ। औषधि आयातकर्ता उनले नेपालमा गुणस्तरीय औषधि ल्याउन गरेका संघर्षका फेहरिस्त छन्। औषधि आयात मात्रै होइन, भण्डारण र वितरणमा समेत ख्याल गर्नुपर्ने कुरामा उनले अभियान नै छेडेका छन्। ‘इथिकल अभ्यास’लाई प्राथमिकतामा राखेर काम गर्ने उनको व्यवसायिक ‘धर्म’ छ। तर, ‘ह्याप्पिनेस कोर्स’अघि आफू ‘धार्मिक-आध्यात्मिक’ नरहेको यी ‘प्रभू’को स्पोष्टोक्ति छ। उनको यही भनाइले पनि यसपल्ट उक्त तीन दिने कोर्स गर्ने कुरामा सकारात्मक बनाएको हो।
केही दिनअघि यही विषयमा अन्तर्वार्ता गर्दा उनले एक घन्टामा आधा समय ‘आर्ट अफ लिभिङ’का विषयमा बोले। यी ‘विज्ञानका व्यवासायीको अध्यात्मको अनुयायी’ बन्ने कुरा जीवनमा अचानक घटित भएको उनले त्योबेला पनि बताएका थिए।
आर्ट अभ लिभिङका प्रणेता श्री श्री रविशंकरले प्रतिपादन गरेको ‘सुदर्शन क्रिया’ले प्रदान गरेको मानसिक स्वस्थताले आफूलाई अध्यात्मतर्फको यात्रामा सवार गरेको उनी बताउँछन्। उनी अहिले आफ्नो सर्कल (स्वास्थ्य क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी र स्वास्थ्य पत्रकार)लाई त्यससँग जोड्ने बलियो पुल भएका छन्। उनले नै हामीलाई जोडे यसपल्ट।
मैले यसबारे यसअघि पनि सुनें । अरु साथीभाइले पनि अपनाएका छन्। तर, कहिल्यै जाँगर चलेन। यसपल्ट स्वास्थ्य पत्रकार साथीहरु नै हुने भएपछि ‘गरिहेरौं न’ भन्ने लाग्यो। सुरुमै हाम्रो गुरु रितिका लोहियाले सोधिन्- यो कोर्सबाट तपाईंहरुको के अपेक्षा छ ? उनको मातृ-लवज मिश्रित मखमली स्वरले सुरुमै सकारात्मक भाव सृजना गरेको थियो। म आफैं पनि अझै ‘बाजुराली लवज’मा नेपाली बोल्ने भएकाले ‘मातृ-लवज’ मिश्रित स्वरप्रति विशेष प्रेम छ। कुनैदिन शुद्ध नेपाली बोल्न नजान्दा हेय महशुस गर्ने म अहिले अर्को एउटा भाषा पनि आफूसँग रहेकोमा गर्व गर्छु!
गुरु लोहियलाई मैले ठाडै भनिदिएँ- मलाई ‘दैविक चमत्कार’मा विश्वास छैन। धर्म सामाजिक प्राणी भइरहन अपनाउँछु। धेरैले यसबारे बताएपछि ‘के छ त्यस्तो भन्ने जान्नँ आएको।‘ सायद रितिका म्यामलाई प्रथम दृष्टिमै लाग्यो होला- तीन दिन एकजना ‘अल्टर’ मान्छे झेल्नुपर्ने भयो। त्यहाँ पुगेका धेरै साथीहरु मेरो ‘ठाडो विचार र व्यवहार’का भुक्तमान थिए। कतिले ‘यो यस्तै छ’ भनेर म जे-जस्तो छु, त्यस्तै ग्रहण गरेका छन्। कति मेरो संगतबाट ‘दुई हात दूर’ पनि होलान्/छन्।

सबैलाई मन परेको मात्रै होइन, भित्रैदेखि महशुस गरेको ‘सुदर्शन क्रिया’ बारे म पछि बताउँछु। आर्ट अफ लिभिङको ह्याप्पिनेस कोर्समा मलाई सवैभन्दा मन परेको क्षण थियो- जो जस्तो छ, त्यस्तै स्वीकार्ने। किनभने आफू ‘जे-जस्तो भएपनि वा जे-जस्तो गरेपनि’ मन पर्छ हामीलाई। तर अरुबारे सधैं प्रश्न रहन्छ- त्यस्ले त्यस्तो किन गरेको ? त्यो त्यस्तो किन छ ? यस्तो भएको भए मन पर्थ्यो, यस्तो गरेको भए राम्रो हुन्थ्यो। सधैं हाम्रो कोणबाट हेरिरहेका हुन्छौं। उसको दृष्टिबाट उसैलाई नियाल्न सक्ने क्षमताले हामीलाई समझदार बनाउने रहेछ ! (नोट: यति महशुस गरेर पनि म मेरो जीवनमा यु-टर्न नै हुन्छु भन्ने विश्वास अझै म आफैंलाई छैन।)
चारजनाको समूह बनाएर आँखामा आँखा जुधाएर हेर्न भनियो र प्रश्न गरियो- तपाईं उहाँ जस्तो हुनुहुन्छ, त्यस्तै स्वीकार्न तयार हुनुहुन्छ? सुरुमा मलाई मसँग रहेका साथीहरु (रामप्रसाद, विष्णु र दिनेश)जीको आँखामा हेर्न असहज महशुस भयो। आँखामा हेरेर उनीहरुको छवि मनमा महशुस गरें। उनीहरुको आँखामा मेरो अनुहार हेरें। आफैंलाई स्वमूल्यांन गरें। त्यसबाट प्राप्त ‘रियलाइजेसन’ म यहाँ उल्लेख गर्दिनँ वा अझ भनौं गर्न सक्दिनँ। साथीहरुलाई ‘म तिमीमा समर्पित’ छु भनेर आत्मीयता दर्शाउनु, उपहार आदान-प्रदान गर्ने ह्याप्पिनेस कोर्सको अर्को च्याप्टर थिएनन्, जीवनलाई अर्को कोणबाट हेर्ने दृष्टिकोण थिए।
यी त्यसका उपक्रम थिए। मुख्य ‘क्रम’चाहिँ सुदर्शन क्रिया हो-
त्यसमा अध्यात्मिक लाइन छ- जीवन ‘सासदेखि साससम्म’ हो ।
त्यसमा आफ्नै ‘रियलाइजेसन’ छ- त्यही सासप्रश्वास प्रक्रिया र ध्यानको मिश्रण (साधाना)मा केही न केही वैज्ञानिक कुरा छ, जसले हरेकलाई नयाँपनको आभाष गराउँछ। मानसिक रुपमा तन्दुरुस्ती महशुस गराउँछ।
सु-दर्शन क्रियामा तीनटा शब्दको संयोजन रहेछ । ‘सु’राम्रो, ‘दर्शन’ अर्थात् दृष्टि र ‘क्रिया’ भनेको अभ्यास वा प्रक्रिया भइहाल्यो। सुदर्शन क्रियामा चार चरण हुन्छ । उज्जयी प्राणायाम, भास्क्रिका प्राणायाम, ओमको जप र क्रिया योग । यो सूत्रबद्ध छ । यो सूत्रमा मात्रै होइन, जीवनका कुनैपनि सूत्रअनुसार चल्न सक्नु नै सफलता हो। जस्तो समयमै उठ्ने, नियमित ज्ञानगुन लिने, समयमै काममा पुग्ने, समयमै घर पुग्ने, समयमा खाना (सन्तुलित खाना), समयमा सुत्ने बानीले सफल बनाउँछ नै। ममा चाहिँ कमी भनेकै त्यही आफूलाई सूत्रमा बाँध्न सक्ने क्षमताको रहेछ! यो कमीको अर्थ सबैको कुराको ‘कमी’ पनि हो। यो रियलाइजेसन नयाँ पनि होइन तर कति कोशिस गरेर नसकिएका र कति कोशिस नगरिएका कुरा छन्। तर, सुदर्शन क्रिया एउटा त्यस्तो सूत्र हो, जसलाई अपनाउँदा शाररिक र मानिसिक रुपमा ‘बलियो’ महशुस गराउने रहेछ!

केही अध्ययनहरुले पनि दर्शाएका रहेछन्- तनाव, चिन्ता, उदासी घटाउने, निद्रा सुधार्ने, प्रतिरक्षा प्रणाली, मुटु तथा फोक्सो स्वास्थ्य बलियो बनाउने, एकाग्रता, सर्जनशीलता, सकारात्मकता बढाउने। मन र शरीरमा रहेका विकार बाहिर फाल्ने प्रक्रियाका रुपमा पनि यसलाई व्याख्या गरिएको छ।
यसक्रममा पनि मलाई महशुस भयो- हामी केही प्राप्त गर्न चाहन्छौं भने धैर्यता (जतिसुकै पीडा महशुस होस् पचाउने क्षमता), समयको गतिअनुसार चल्ने (धीमा-मध्यम-तीव्र) र निरन्तरता (सुरु गरेपछि नछाड्ने) बानीको विकास गर्नैपर्छ। सुदर्शन क्रियाबाट लाभ लिन कोर्स गरेपछि ’४० दिन नियमित’ गर्ने भनिएको छ। कुनैपनि कुरा ४० पटक दोहोर्याउनु जीवनको नियमित प्रक्रियामा प्रवेश गराउनु हो।
जसले पढिरहनुभएको छ- तपाईंलाई सिफारिस- मानसिक स्वास्थ्यका लागि अरु केही गरिरहनुभएको छ भने नियमित गर्नुहोस्। गर्नुभएको छैन भने ‘सुदर्शन क्रिया’ गर्नुहोस्।
आफैंलाई सिफारिस- नियमित गर्ने प्रयास गर् ! बल्ल महशुस भयो- यो ‘नियमित’ शब्द बढो कठोर रहेछ!