काठमाडौं - कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त भएका छन्।
आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा मन्त्रालयमा बसेको सिनेट बैठकले उपकुलपति नियुक्तिको निर्णय गरेको हो।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डा जोशी उक्त विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका हुन्। यसअघि विश्वविद्यालयको उपकुलपतिका लागि दुई पटकसम्म आवेदन आह्वान गर्दा कसैले पनि आवेदन दिएका थिएनन्। तेस्रो पटकको आह्वानमा दिएको आवेदनबाट उनी उपकुलपतिमा नियुक्त भए।
उपकुलपतिमा नियुक्त भएसँगै डा जोशीले यस विश्वविद्यालयको सेवा र विकास थप विस्तारका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उपकुलपतिमा २ जनाको नाम सिफारिस भएको थियो। प्राडा जयराज अवस्थीको संयोजकत्वमा प्राडा दीपक महरा, प्राडा भारती जोशी सहितको तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले कार्तिक १५ गते उपकुलपतिपदका लागि आवेदन मागेको थियो।