काठमाडौं - नेपालमा धेरै देखिएको न्यूरोलोजिकल समस्यामा टाउको दुख्ने र ढाड दुख्ने समस्या पर्छन्। धेरै बिरामीहरु यी दुवै समस्याले अस्पतालको ओपिडीसम्म आइपुग्ने गरेका छन्।
न्यूरो सर्जिकल समस्यामा भने चोटपटक लागेर अस्पताल आउने बिरामीहरुको संख्या धेरै छ। त्यस्तै दिमागभित्र रक्तस्राव भएर तथा रगतको नशा बन्द भएर आउने बिरामीहरु पनि धेरै छन्। ब्रेन ट्युमर, दिमागमा पानीको नशाहरु बन्द हुने तथा स्पाइनको समस्या पनि पछिल्लो समय बढी देखिएको न्यूरो सर्जिकल समस्या हो।
मानसिक स्वास्थ्य र मस्तिष्कबीचको सम्बन्ध
यी दुई बीचको सम्बन्धलाई हार्डवेयर र सफ्टवेयरका रुपमा लिन सकिन्छ। भर्खरै जन्मिएको शिशुको ब्रेन पूर्ण रुपमा बनिसकेको हुँदैन। बच्चा ४ वर्षको हुँदासम्म उसको ब्रेनको विकास भइ नै रहेको हुन्छ। मस्तिष्कले पूर्ण रुपमा काम गर्नका लागि बच्चा ७ वर्ष भएको हुनुपर्छ। ७ वर्षपछि भने ब्रेनमा रहेका कोषहरुको विकास हुँदैन। दिमागको स्मृति क्षमता तथा तार्किक क्षमता मानिसले आफैंले विकास गर्न सक्ने कुरा भएको मनोचिकित्सकहरु बताउँछन्। बढीभन्दा बढी मात्रामा अभ्यास गरेमा यी क्षमता बढ्दै जाने हुन्।
धुम्रपान, मद्यपान जस्ता स्वास्थ्यका लागि हानिकारण पदार्थहरुको सेवनले दिमागलाई बिग्रार्छ। जसले लामो समयपछि अल्जाइमर जस्ता रोगहरु देखा पर्छन्। मानसिक स्वास्थ्य एक प्रकारको सफ्टवेयर अर्थात् सोच हो। तपाईले आफैंलाई के सोच्नुहुन्छ भने पक्ष मानसिक स्वास्थ्यसँग सम्बन्धित हुन्छ। सामाजिक सञ्जालको बढी मात्रामा प्रयोगले मानसिक स्वास्थ्यलाई राम्रो गर्दैन।
कुनै बिरामीहरुमा एक्कासी पनि स्मरणसम्बन्धी समस्या देखिन सक्छ। पछिल्लो समय खानेकुरामा धेरै मात्रामा विषादीको प्रयोग हुँदा मानसिक स्वास्थ्यलाई बिगारेको छ। जसले स्मरण शक्ति घट्दै गएको छ। नेपालीहरुको औसत आयु बढ्दै जाँदा पनि अल्जाइमर्स रोग बढ्दै गएको हो। रक्तचाप नियन्त्रणमा नभई त्यसका कारण दिमागमा असर पर्दै जानु, ब्रेनलाई असर गर्ने खालका खास प्रकारका औषधिको प्रयोगले पनि स्मरण शक्ति क्षय हुन सक्छ।
अल्पकालीन तथा दीर्घकालीन स्मृति
दिमागका नशाहरुले एक आपसमा टाँसिएर केमिकल बनाउने गर्छन्। मेमोरी धेरै प्रकारका हुन्छन्। सबै प्रकारमा मेमोरी केमिकलका रुपमा ब्रेनभित्र बसेका हुन्छन्। हालसालै गरेका कुरालाई तत्कालै भन्न सक्नु सर्ट टर्म मेमोरी हो। धेरै समय अगाडि भएका कुरालाई पनि शिलशिलाबद्ध रुपमा भन्न सक्नु लंग टर्म मेमोरी हो। दुवै प्रकारका मेमोरीको प्रक्रिया एउटै हो।
मेमोरी पावर बढाउनका लागि कुनै पनि कुरामा ध्यान दिन आवश्यक हुन्छ। त्यसपछि उक्त कुरालाई रजिष्ट्रेशन गरी दिमागको कुन स्थानमा बस्ने क्याटलक गराउन आवश्यक छ। जसलाई बेलाबेलामा रिकल गराउनुपर्छ। यस्तो गर्न सकेमा मात्रै बेलाबेला ती कुरालाई निकाल्न सकिन्छ। रजिष्ट्रेशनदेखि रिकलसम्मको प्रक्रिया नै मेमोरी हो। दिमागको निश्चित भागहरुले लंग टर्म मेमोरीमा काम गर्छ। मानिसहरुको मेमोरी लंग टर्म र सर्ट टर्म दुवै एकैपटक गएको देखिदैन। मानिसहरुमा एकै पटक दुवै प्रकारका मेमोरी हट्दैन। त्यसकारण ब्रेनका विभिन्न समस्याको उपचारका क्रममा यी दुवै प्रक्रियाले सहयोग गर्छ।
डिमेन्सिया किन कम उमेरमा नै ?
पछिल्लो समय अल्जाइमर शब्दको प्रयोग व्यापक रुपमा हुँदै आएको छ। वैज्ञानिक भाषामा भन्नुपर्दा यसलाई डिमेन्सिया भन्ने गरिन्छ। स्ट्रोकको समस्याका कारण डिमेन्सियाका बिरामीहरु बढ्दै गएका छन्। यसले बिरामीको मेमोरी हराउन सक्छ। एमआरआई गर्दा बिरामीमा कुनै प्रकारको रोग नदेखिएपनि वा कुनै प्रकारको ब्रेन ड्यामेजको समस्यामा अल्जाइमर्स हुन सक्छ भन्ने शंका गर्न सकिन्छ।
हालसम्म पनि अल्जाइमर्स रोगको यकिन गर्नका लागि कुनै पनि प्रकारको परीक्षण हुँदैन। मानिसको मृत्युपछि ब्रेनको बायोप्सी गरेर मात्रै अल्जाइमर्स भएको पत्ता लगाउन सकिन्छ। क्लिनिकल परीक्षणको आधारमा अल्जाइमर्सको औषधि दिने गरिन्छ। पछिल्लो समय स्वस्थकर जीवनशैलीका व्यवहारहरुको पालना नहुँदा कम उमेरमा नै अल्जाइमर्सको समस्या देखिन थालेको छ।
सर्जरीपछि बदलिन सक्छ बिरामीको व्यवहार
मस्तिष्क सर्जरीपछि बिरामीको व्यवहार बदलिन्छ भन्ने त्रास धेरै मानिसहरुमा हुन्छ। बिरामीको सर्जरीभन्दा पनि रोगले बिरामीलाई बिगारेको हुन्छ। ब्रेन ट्युमरको शल्यक्रियाका क्रममा हामीले गिद्धीलाई समेत छोएका हुन्छौ। सर्जरीका क्रममा दिमागभित्र पु¥याइने तारले पनि बिरामीको व्यवहारलाई परिवर्तन गर्न सक्छ। नेपालमा गरिने ब्रेनसम्बन्धी सर्जरीकै कारणले बिरामीको व्यवहार परिवर्तन भने हुँदैन।
यसका लागि सबैभन्दा पहिलो कुरा भनेको मेमोरीको प्रक्रियालाई सिक्न आवश्यक छ। त्यसका लागि गर्न लागिएको कुरालाई प्राथमिकतामा राख्नुपर्छ। आजभोलि मान्छेको दिमागले धेरै प्रकारको काम गर्छ भन्ने भ्रम रहेको पाईन्छ। तर त्यो होइन। हामी धेरै प्रकारका काम गर्छौ, कुनै काममा ध्यान नदिँदा त्यसलाई सम्झन सकिदैन। मेमोरी बढाउनका लागि सबैभन्दा पहिलो कुरा गरिएको कामलाई प्राथमिकता दिन सक्नुपर्छ। त्यस्तै ती कुरालाई क्याटलक पनि गर्न जरुरी छ। दैनिक रुपमा गरिएका कामलाई राती सुत्ने बेलामा सम्झिएमा दिमागले त्यसलाई आफैं क्याटलक गरिदिन्छ।
तनाव र अनिन्द्राको मस्तिष्कमा पर्न सक्छ असर
तनाव र निन्द्राले मस्तिष्कमा एकदमै नराम्रो असर पर्छ। तनाव व्यवस्थापन तथा गहिरो निन्द्राले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सक्छ। मानिसको धैर्य गर्ने क्षमता कम हुँदै जानु तथा प्रत्येक कुरामा रियाक्ट गर्ने परिपाटीले तनाव बढ्दै गएको छ। विभिन्न प्रकार ध्यानले मानिसको दिमागलाई शान्त बनाउन सक्छ।
सामाजिक सञ्जाल बढी चलाउनुको भन्दा आफन्त तथा साथीभाईसँग कुराकानीमा समय बिलाउँदा पनि तनावलाई कम गर्न सकिन्छ। स्लिप हाइजिनको पालना गर्न सकेमा त्यसले मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन गर्न सक्छ। सकेसम्म निन्द्राको लागि एउटै समय पालना गर्न सके स्लिप हाइजिनको पालना गर्न सकिन्छ।
(काठमाडौं मेडिकल कलेजमा कार्यरत न्यूरो सर्जन प्राडा अमित थापासँग स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईले गरेको कुराकानीमा आधारित)