भारत- जन्मदेखि नै बौनोपन (ड्वार्फिज्म) र ७२ प्रतिशत हिँडडुलसम्बन्धी अपांगता (लोकोमोटर डिसएबिलिटी) भएका गुजरातका गणेश बरैया आज ‘डा. गणेश बरैया’ भएर सरकारी अस्पतालमा बिरामीको सेवा गरिरहेका छन्। उनीको उचाइ ३ फिट र तौल २० केजी छ।
सन् २०१८ मा उनले राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) परीक्षा पास गरे। डाक्टर बन्ने बाटो खुलेको जस्तो देखिए पनि मेडिकल काउन्सिल अफ इन्डियाले उनको शारीरिक अवस्थालाई कारण देखाउँदै डाक्टरी पढ्न अस्वीकार गर्यो। यो निर्णयले उनलाई केही समय निराश बनायो, तर उनले हार मानेनन्।
विद्यालयका प्रिन्सिपलको साथ लिएर उनले न्यायका लागि अदालतको ढोका ढकढक्याए। गुजरात उच्च अदालत पनि उनको पक्षमा रहेन। अन्ततः उनि सर्वोच्च अदालत गए जहाँ अपांगताको आधारमा कसैलाई अवसरबाट वञ्चित गर्न नमिल्ने भन्दै उनको पक्षमा फैसला गरियो। यही निर्णयले उनको जीवनको दिशा बदलिदियो।
त्यसपछि २०१९ मा उनले भावनगर मेडिकल कलेजमा भर्ना भई एम.बि.बि.एस. अध्ययन पूरा गरे। अध्ययनसँगै उनले इन्टर्नशिप र आवश्यक तालिम पनि सफलतापूर्वक सम्पन्न गरे। सामान्य किसान परिवारमा जन्मिएका बरैया नौ दाजुभाइमध्ये आठौँ हुन्। १० वर्षको उमेरमा एक सर्कस टोलीले उनलाई ५ लाख रुपैयाँमा ‘किन्न’ प्रस्ताव गरेको थियो। तर उनका बुवाले उक्त प्रस्ताव अस्वीकार गर्दै उनीहरूलाई त्यहाँबाट भगाए।
नोभेम्बर २६ मा उनको जीवनले नयाँ मोड लियो, जब उनलाई भावनगर जनरल अस्पतालमा ‘बन्डेड मेडिकल अफिसर वर्ग-२’ का रूपमा औपचारिक नियुक्ति दिइयो। अहिले उनी सिभिल अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्। उनको कथा केवल व्यक्तिगत सफलता होइन, अवसर र दृढ इच्छाशक्तिले जीवन कसरी बदल्न सक्छ भन्ने सशक्त उदाहरण हो।